रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच आज भेटवार्ता भएको छ। पुटिनसँगको छलफलका लागि किम हिजो हरियो रेलमा करिब २४ घण्टाको यात्रा गरेर रसिया पुगेका थिए।
रसियाको भोस्तोची कस्मोड्रोममा रहेको स्पेस रकेट लन्च साइटमा आज दुई नेताबीच भेट भएको हो। किम कस्मोड्रोममा पनि रेलबाटै पुगेका थिए। किमको साथमा उनकी बहिनी किम यो जोङ पनि थिइन्।
युक्रेनसँग रसिया युद्ध लडिरहेको अवस्थामा किम पुटिनलाई भेट्न पुगेका हुन्। यसअघि सन् २०१९ मा दुई नेताबीच भेट भएको थियो।
पुटिन र किम बीच हतियार खरिद गर्नेबारे सहमति हुने अमेरिकी अनुमान थियो। तर आजको छलफलमा हतियार खरिदबारे कुनै कुराकानी नभएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाले युक्रेनसँग युद्ध लडिरहेको बेला रसियाले उत्तर कोरियासँग हतियार खरिदको ‘डिल’ गर्ने तयारी गरेको दाबी गरेको थियो।
किमसँग आर्थिक, मानवीय र भूराजनीतिक अवस्थाबारे पुटिनले छलफल गरेका थिए। उनले आआफ्नो देशको स्वाधिनता रक्षालाई मिलेर अघि बढ्नुपर्ने किमलाई बताएका थिए।
त्यसक्रममा किमले आफू जहिलै रसियाको साथमा रहने वाचा पुटिनलाई गरेको सीएनएनले उल्लेख गरेको छ। उनले देशको स्वतन्त्रता र साम्राज्यवादविरुद्ध रसियासँग आफू मिलेर लड्ने बताएका थिए। किम र पुटिनका यी अभिव्यक्ति अमेरिका लक्षित थियो।
क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले किम र पुटिनबीच कुनै पनि कागजपत्रमा हस्ताक्षर नहुने बताए। दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो।
पत्रकारहरुले हतियार खरिदको बारे प्रश्न गर्दा उनले किम र पुटिनबीच सैन्य गतिविधिबारे चर्चा गरेको बताए। अरु सबै विषय सार्वभौम दुई राष्ट्रहरुको कुरा भएको भन्दै उनले तेस्रो पक्षले यसमा चासो देखाउन नपर्ने बताए। साथै, दुई देशको उद्देश्य दुवै देशका नागरिकको हित भएको उल्लेख गर्दै उनले आफ्नो कदम अरु कसैको विरुद्ध नहुने बताए।
भेटका क्रममा पुटिनले किमलाई स्याटलाइट सहयोग गर्ने बारे कुरा राखेका थिए। स्याटलाइट निर्माणका लागि मस्कोले प्योङयाङलाई आधुनिक प्रविधिसँगै सैन्य प्रविधि सहयोग गर्न सक्ने जनाइएको छ।