
उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रसिया पुगेका छन्। रसिया र युक्रेनबीच युद्ध भएको ५६६ औं दिन पुग्दा आफ्नो बुलेटप्रुफ हरियो रेलमा सवार भएर उनी रसिया पुगेका हुन्।
रसियाको बन्दरगाह शहर व्लादिवोस्तोकमा किमले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्दैछन्। चार वर्षपछि किम विदेश यात्रामा निस्किएका हुन्। सन् २०१९ मा पनि पुटिनसँग वार्ताका लागि किम व्लादिवोस्तोकनै पुगेका थिए रेलमै। सो भ्रमण तत्कालिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परमाणु निशस्त्रीकरणको वार्ता असफल भएपछि भएको थियो।
यो पटक पुटिनसँगको भेटलाई अर्थ राजनीति दृष्टिकोणले महत्वका साथ हेरिएको छ। युक्रेन मुद्दालाई लिएर अमेरिकासहितका पश्चिमा देशले रसियामाथि प्रतिबन्ध लगाइरहेको बेला किम फेरि रसिया पुगेका हुन्।
पुटिन र किमबीच हतियार खरिद गर्नेबारे सहमति हुने सम्भावना रहेको जनाइएको छ। यसका लागि धेरै समय पहिलादेखि नै छलफल चलिरहेको अमेरिकी जासुसी एजेन्सीहरुले जनाइसकेका थिए। तर, वार्ताको समय र स्थान भने खुल्न सकेको थिएन।
अमेरिकाले भने हतियार खरिद ‘डिल’ भए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइसकेको छ। रसियाले भने अमेरिका र पश्चिमा देशले दोहोरो चरित्र निर्वाह गरेको आरोप लगाएका छन्। युक्रेनलाई अमेरिका र पश्चिमा देशले हतियार उपलब्ध गराएको भन्दै रसियाले आफूलाई भने एक्ल्याउने प्रयास गरिरहेको बताउँदै आएको छ।
किमको ‘ताईयांघो’
किम धेरैजसो आफ्नो यात्रा रेलमा गर्न रुचाउँछन्। यसपटक उनले उत्तर कोरियाबाट रेलमा २० वटा बुलेटप्रुफ गाडीसँगै ल्याएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। जसकारण अन्य रेलको भन्दा तौल बढी हुने भएकोले हरियो रेल प्रतिघण्टा ५० देखि देखि ६० किलोमिटरको रफ्तारमा मात्रै चल्न सक्ने बताइएको छ।
व्लादिवोस्तोक पुग्न किमले २० घण्टा भन्दा बढी समय रेलमा यात्रा गरेको बताइन्छ। उनी १ हजार १८० किलोमिटर रेल चढेर गन्तव्यमा पुगेका हुन्।

किमको रेलको नाम ताईयांघो हो। यो शब्दले कोरियाली भाषामा सूर्य भन्ने बुझाउँछ। यसलाई उत्तर कोरियाका संस्थापक किम इल सुङसँग पनि जोडिन्छ।
हुनत किम विदेश यात्राको लागि विशेष विमान र पानीजहाज पनि तयार अवस्थामा रहने गर्छ। तर धेरै जसो उनको यात्रा रेलमा नै हुने गर्छ। विदेशमा यात्रा गर्दा उनी सवार हुने लक्जरी गाडी पनि सँगै लग्छन्।
किन रेल यात्रा रोज्छन् उत्तर कोरियाली नेता?
उत्तर कोरियाली नेताहरु प्राय विदेश यात्राका लागि रेलको प्रयोग गर्छन्। भियतनाम, दक्षिण कोरियाको यात्रा किमले रेलमा गरेका थिए। त्यस्तै चीनको यात्रा पनि उनले रेलमै गरेका थिए।
रेल यात्रा गर्ने किमको परिवारको परम्परा नै हो। उनका हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङले पूर्वी युरोपको यात्रा गरेका थिए। उनले सन् १९८४ मा रेलमार्फत आफ्नो लामो यात्रा तय गरेका थिए।
उनले सोभियत युनियनसँगै पोल्याण्ड, पूर्वी जर्मनी, चेकोस्लोभाकिया, हंगेरी, युगोस्लाभिया, बुल्गेरिया र रोमानियाको यात्रा एकैपटक रेलमार्फत गरेका थिए। यो यात्राका क्रममा उनको रेलसँगै अर्को रेल पनि यात्रा गरेको थियो। त्यसले रेलका चक्काहरु, एक्सल, बुगिज र फरक साइजका गेज बोगेको थियो।
उनी धेरै विदेश यात्रा गर्ने उत्तर कोरिया नेता मानिन्छन्। किम इल सङ पहिलोपटक १९४९ मा कोरियाली प्रायद्वीपको विभाजनको पक्षमा मत लिन रसियाली सोभियत नेता जोसेफ स्टालिनलाई भेट्न मस्को पुगेका थिए। त्यस्तै उनी १९६१ मा पुन: मस्को पुगे।

किम इल सङ त्यतिबेला असंलग्न राष्ट्रहरुको अभियानका प्रभावशाली नेता थिए। उनले सन् १९६५ मा एसिया तथा अफ्रिकी मुलुकहरुको भ्रमणसमेत गरेका थिए।
सङका छोरा किम जोङ इल पनि रेल यात्रालाई नै रोजाइमा राख्थे। उनी हवाइ यात्रामा डराउँथे। त्यसैले पनि उनी विदेश यात्रा कम गरे। उनले चीन र रसियाको यात्रा आर्मोड रेलमा गरेका थिए।
उनको लामो यात्रा सन् २०११ मा चीनको यात्रा थियो। उनले त्यस क्रममा ६ हजार किलोमिटरको यात्रा गरेका थिए। जुन बेइजिङ नानचिन र सांघाइ सम्म थियो। त्यतिबेला किम जोङ उन पनि आफ्ना बाबुको साथमा थिए।
उनी सन् २००१ मा पनि रेल मार्फत रसिया पुगेका थिए। त्यस्तै सन् २०११ मा पुन उनी रेलमार्फत मस्को पुगे। उनले त्यतिबेला तत्कालिन राष्ट्रपति डिमत्रि मेडभेडभसँग भेट गरेका थिए।
मस्कोमा उनी पुग्दा रेल स्टेसन आसपासका घरका बासिन्दालाई घरभित्रै बस्न र बाहिन नहेर्न निर्देशन दिइएको थियो। किम जोङ इलको सन् २०११ मा डिसेमबरमा रेलयात्राकै क्रममा मृत्यु भएको थियो।

किम इल सङ र किम जोङ इलका यस्ता भ्रमणहरुलाई प्योङयाङमा जहाँ उनीहरुको शरीर राखिएको छ त्यहाँ किम जोङ इलको डेस्कमा म्याकिन्टोस कम्युटरमा देखाइन्थ्यो।
यसरी उत्तर कोरियाली नेताहरु रेलको रोजाइमा पर्नुलाई आत्मनिर्भर हुन चाहेको दक्षिण कोरियाको नर्थकोरियन स्टडिजका जेयोङ योङ ताइ बताउँछन्।
‘बेइजिङले दिएको विमान भन्दा रेलयात्रा सुरक्षित हुन सक्ने र अर्को कुरा चीनले दिएको विमान भन्दा आफ्नै रेल चढेर प्योङयाङले आत्मनिर्भर हुन खोजेको संकेत दिएको हुन सक्छ,’ उनले भने।
किमको हरियो रेल
किम जोङको परिवारले प्रयोग गर्ने रेल सुरक्षित र सुविधा सम्पन्न छ। उत्तर कोरियाको स्थापनासँगै किम परिवारले प्रयोग गर्ने रेल उच्च सुरक्षा सुविधासहितको निजी रेल हो।
आर्मोड रेलमा आधुनिक सञ्चार उपकरण, स्याटेलाइट फोनको सेवा पनि छ।

यो रेल ५० देखि ६० किलोमिटर प्रतिघण्टाको दरमा कुद्छ। किम चढ्ने रेलसँगै अर्को रेलहरु पनि सँगै यात्रामा रहन्छ।
पहिलो रेल रेल लाइनको सेफ्टी चेक गर्दै हिँड्छ। बीचमा रहेको रेलले नेतालाई बोक्छ। जुन अघिल्लो रेलको २० मिनेट देखि एक घण्टा ढिलो हुन्छ। त्यस्तै तेस्रो रेल अन्य आवश्यक सुरक्षा अधिकारीहरु, टोलीका अन्य नेताहरु, सञ्चारका सामाग्रीहरु र अन्य अत्यावश्यक सामाग्री बोक्छ।
विदेश यात्राका क्रममा रेलको गेज परिवर्तन पनि हुन्छ। रेलका चक्का र गेजहरु पनि रेलले नै बोकेर हिँड्छ।
यो रेलभित्रै सानो कन्फ्रेन्स रुम, रेस्ट रुमका साथै बेडरुम पनि उपलब्ध छ। जसले किमको यात्रालाई आरामदायी बनाउँछ।