दरबारमार्गमा क्लोदिङ स्टोर चलाउने दीपेन्द्रको अर्बौं डलरको हिमालय जेट! ‘नटवरलाल’ कि दरिलो व्यापारिक साझेदार?

वसन्तराज उप्रेती
२०८० भदौ २७ गते १०:२४ | Sep 13, 2023
दरबारमार्गमा क्लोदिङ स्टोर चलाउने दीपेन्द्रको अर्बौं डलरको हिमालय जेट! ‘नटवरलाल’ कि दरिलो व्यापारिक साझेदार?

काठमाडौं। भारतको प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले २०७१ जेठ १२ गते पहिलोपटक शपथग्रहण गर्दै थिए। त्यसैको केही दिन अगाडि जेठ ९ गते नेपालमा आफूलाई समाजसेवी र व्यवसायी भन्न रुचाउने दीपेन्द्र गुरुङले फेसबुकमा एउटा पोस्ट हालेर सनसनी मच्चाए।

Tata
GBIME
Nepal Life

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षमा पुष्पगुच्छा बोकेको तस्वीरसहित उनले  लेखेका थिए – ‘विशेष विमानबाट आजै साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट सिधै पशुपति प्रस्थान गरी विशेष पूजा गर्ने।’

मोदी काठमाडौं आउने विषयमा नेपाल सरकार तथा सुरक्षा निकाय कसैलाई पनि जानकारी थिएन। भारतीय मिडियाबाट पनि यो विषयमा कुनै सूचना सार्वजनिक भएको थिएन।

तर पनि गुरुङको फेसबुक स्ट्याटसलाई विश्वास गर्नुपर्ने एउटा कारण के थियो भने आशाराजे गायकवाडसँगको उनले देखाउन खोजेको सम्बन्ध।

नेपाली राणा परिवारकी छोरी आशाराजे गायकवाडले भारतको गुजरात बडोदराका युवराज संग्राम सिंह गायकवाडसँग विवाह गरेकी छन्। भारतीय राजा रजौटाको परिवारमध्येको एक गायकवाड परिवार मोदीको राजनीतिक दल भारतीय जनता पार्टी (बीजेपी)सँग जोडिएको छ।

सन् २०१४ मा नरेन्द्र मोदी लोकसभाको चुनावमा उत्तरप्रदेशको बनारससँगै गुजरातको बडोदराबाट विजयी भएका थिए। त्यहाँ गायकवाड परिवारको अहिले पनि ठूलो राजनीतिक प्रभाव छ।

संग्राम र आशाराजेका एक छोरा र एक छोरी छन्। छोरी प्रियादर्शनीले ज्योतिरादित्य सिन्धियासँग विवाह गरेकी छन्। कांग्रेसको राजनीति गरिरहेका सिन्धिया अहिले भारतीय जनता पार्टीमा छन्। उनी मोदी नेतृत्वको सरकारमा नागरिक उड्डयन मन्त्री छन्।

सिन्धियाका तीन फुपुमध्ये एक बसुन्धरा राजे सिन्धिया भारत राजस्थानकी मुख्यमन्त्री थिइन्, अर्की फुपु यशोधरा राजे सिन्धिया पनि भाजपाको राजनीतिमा छिन् भने एउटी फुपु उषाराजे सिन्धिया राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जबराकी श्रीमती हुन्।

उनै आशाराजेसँग मिलेर दीपेन्द्र गुरुङले नेपालमा १११ मेगावाटको घान्द्रुक लान्द्रुक जलविद्युत आयोजना बनाउने योजना बनाएका थिए। पाञ्चजन्य जलविद्युत आयोजनामार्फत् कास्कीमा आयोजना बनाउने घोषणा गुरुङले गरेका थिए। त्यसको अध्ययनका लागि गुरुङ र आशाराजे लगायतको टोली हेलिकप्टरमार्फत् सिक्लेस गइरहेको भिडियो पनि गुरुङले आफ्नो सामाजिक सञ्जालमा हालेका थिए।

अहिले उनको युट्युबमा भेटिने उक्त भिडियोमा गुरुङले आफूलाई इन्जिनियरका रुपमा चिनाएका छन्।

गुरुङको परिचय यहीँ सकिँदैन, उनी त्यतिबेला नेपालमा खोलिएको भारतीय अभिनेता सलमान खानद्वारा प्रवर्द्धन गरिएको बिइङ ह्युमन स्टोरको समेत लगानीकर्ता थिए। नेपालमा पहिलोपटक २०७० माघमा दरबारमार्गको राइजिङ मलमा बिइङ ह्युमनको पहिलो स्टोर खोलिएको थियो

त्यस स्टोरको लगानीकर्ता कम्पनी थियो एबीसीडी इन्क। स्टोर खोल्दा उनै गुरुङ यो कम्पनीको अध्यक्ष थिए।

पछि यही कम्पनीका लगानीकर्ताका रुपमा सन्तोषचन्द्र बख्रेल देखिए। उनीमाथि अपराधिक गतिविधिमा लागेको आरोप समेत लाग्यो। उनलाई दुई वर्षअघि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले राजस्व छली, लागु औषध र हुण्डीको आरोपममा पक्राउ समेत गरेको थियो।

गुरुङसँग जोडिएको १११ मेगावाटको घान्द्रुक लान्द्रुक जलविद्युत आयोजनामा पछिल्लो १० वर्षमा कुनै पनि प्रगति भएको छैन। बिइङ ह्युमन स्टोर मुस्किलले सञ्चालन भइरहेको छ। भारतका प्रधानमन्त्री मोदी सपथग्रहण अघि काठमाडौं आउँदै आएनन्। दीपेन्द्र गुरुङ पनि छायामा परे।

केही वर्ष हराएपछि अहिले गुरुङ अचानक बेलायतमा प्रकट भए, लगभग विश्वकै धनी जस्तै गरी, हिमालय जेटको लगानीकर्ताको रूपमा।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग गुरुङ। तस्वीर : हिमालय जेट / १० डउनिङ स्ट्रिट

हिमालय जेट जसलाई गुरुङले विश्वका ३३ सहरमा सिधा उडान गर्ने बेलायतको प्रिमियम एयरलाइन्सका रुपमा परिचय दिएका छन्। तर, के उनीसँग विश्वका ३३ सहरमा सिधा उडान गर्न सक्ने गरी पुँजीको स्रोत, विमान र पूर्वाधार छ त?

विमान सेवा सञ्चालन कति ठूलो व्यवसाय हो? र, त्यसका लागि कति पुँजी र स्रोत चाहिन्छ भन्नका लागि नेपाल वायुसेवा निगमलाई एउटा उदाहरणका रुपमा हेरौं।

नेपाल सरकारको पूर्ण स्वामित्व भएको, देशको ध्वजावाहक नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडान गर्नका लागि दुइटा वाइड बडी र दुई न्यारो बडी विमान छन्। एयरबसका यी चारवटा विमानबाट नेपाल वायुसेवा निगमले सातामा १० वटा गन्तव्यमा ४३ वटा उडान गर्छ।

सातामा नेपाल एयरलाइन्सले १० वटा गन्तव्यमा ४३ उडान किन गर्छ भन्दा जापानको नारिताबाहेक अन्य सबै उडान छोटो दुरीका हुन्। चारवटा विमान सञ्चालनका लागि निगमसँग अहिले लगभग १ हजार ३ सय ५० कर्मचारी छन्।

तिनैमध्ये ८१ जना ककपिट क्रु (पाइलट), १४२ जना क्याविन क्रु र १०० जना हाराहारीमा इन्जिनियर छन्। चारवटा विमान किन्नका लागि निगमले कर्मचारी सञ्चय कोषसँग २२ अर्ब ऋण लिएको थियो। ब्याज नतिरेपछि अहिले उक्त रकम बढेर २७ अर्ब पुगेको छ। त्यसैगरी नागरिक लगानी कोषसँग लिएको १२ अर्ब ऋण बढेर १७ अर्ब हाराहारी पुगेको छ। दुवै संस्थाको गरेर निगमको ऋण करिब आधा खर्ब पुगिसकेको छ।

जसरी गुरुङले हिमालय जेटलाई अहिले प्रस्तुत गरिरहेका छन् त्यस हिसाबमा यस कम्पनी नेपाल एयरलाइन्सभन्दा तीन/चार गुणा ठूलो सुनिन्छ। तर, १० वर्ष अघि काठमाडौंको दरबारमार्गमा एउटा क्लोदिङ स्टोर खोलेका गुरुङसँग अहिले त्यति ठूलो पुँजी कहाँबाट आयो? वा, यो कुनै व्यवस्थित ठगी(कोन) त होइन?

जस्तो, कम्पनीका बारेमा जानकारी राख्ने ‘कम्पनीज् हाउस युके’का अनुसार हिमालय जेट कम्पनी ९ सेप्टेम्वर २०२२ मा खोलिएको हो। दीपेन्द्र गुरुङ एकल संचालक रहेको यस कम्पनीमा ८० करोड कित्ता सेयर छ। एक कित्ता सेयरको मूल्य दुई पाउण्ड राखिएको छ।

त्यस हिसाबमा यस कम्पनी १ अर्ब ६० करोड पाउण्ड अर्थात् आजका दिनमा २ खर्ब १२ अर्ब रुपैयाँ पुँजीको कम्पनी हो। तर, पुँजी ठूलो भए पनि यस कम्पनीमा गुरुङले अहिलेसम्म दुई पाउण्ड मात्रै चुक्ता गरेका छन्। देखाउनका लागि ठूलो कम्पनी खोलिए पनि त्यसमा अहिलेसम्म गुरुङले पुँजी लगानी गरेको देखिँदैन।

गुरुङको बेलायतमा यो पहिलो कम्पनी भने होइन। उनले फेब्रुअरी २०२१ मा पनि ‘प्रिभे सिनेमा लिमिटेड’ कम्पनी स्थापना गरेका थिए। रेष्टुरेन्ट, क्लब र सिनेमा सञ्चालन गर्ने गरी खोलिएको यो कम्पनीमा गुरुङसँग आठ करोड र इन्सिरा बोल्खिया नाम गरेका ब्रुनेईका नागरिकसँग दुई करोड गरी १० करोड कित्ता सेयर छ।

यस कम्पनीका लागि एक कित्ता सेयरको मूल्य १.८ पाउण्ड राखिएको छ। यस हिसाबमा यस कम्पनी १८ करोड पाउण्ड अर्थात् आजको दिनमा २४ अर्ब रुपैयाँको हो। हिमालय जेटमा जस्तै यस कम्पनीमा पनि उनले पुँजी भने लगानी गरेका छैनन्।

कारोबार नगरेपछि कम्पनी हाउसले प्रिभे सिनेमालाई डोरम्याट कम्पनीका रूपमा व्याख्या गरेको छ। अर्थात् किताबमा यो कम्पनी छ तर भौतिक रुपमा कम्पनीको कारोबार अझै सुरु भएको छैन।

त्यसअघि पनि उनले लण्डनमा दुई वटा कम्पनीमा लगानी गरिसकेका थिए, जुन अहिले बन्द छ। त्यसमध्ये एउटा हो, चन्द्र लक्जरी सिनेमा लिमिटेड र अर्को मे फेयर लक्जरी सिनेमा लिमिटेड।

मे फेयर लक्जरी २०१८ मा खोलेर १३ अगस्ट २०१९ मा बन्द गरिएको थियो भने चन्द्र लक्जरी सिनेमा २८ अक्टोबर २०१९ मा खोलेर ६ जुलाई २०२१ मा बन्द गरिएको थियो। यसमध्ये चन्द्र लक्जरी सिनेमामा अमेरिकामा बसोबास गर्ने ब्रुनाईका नागरिक इन्सिरासँग पनि सेयर थियो। तर, दुवै कम्पनी बिना कारोबार बन्द गरिएको थियो।

यो हिसाबमा दीपेन्द्र गुरुङले लण्डनमा खोलेको यो चौथो कम्पनी हो। त्यसमध्ये दुई बन्द भइसकेका छन्, एउटा डोरम्याट छ भने हिमालय जेट कम्पनीको विवरण अहिलेसम्म कम्पनी हाउसमा बुझाएको देखिँदैन।

व्यावसायिक अवस्था जे जस्तो भए पनि सामाजिक सञ्जालमा उनको चमकदमक भने नोटिसेबल देखिन्छ। र, त्यहीअनुसार सूचना पनि सन्दर्भभन्दा बाहिर प्रवाह गरिरहेको देखिन्छ।

जस्तो, २२ अक्टोबर २०२२ मा लण्डनमा ‘द क्लाइमेट चेञ्ज फोरम फर सस्टेनेवल डेभलपमेन्ट’ कार्यक्रममा एउटा गाला डिनर आयोजना भयो। डिनरको आयोजना गुरुङ परिवारले गरेको थियो। डिनर कार्यक्रममा मिस वर्ल्ड क्यारोलिन विलावास्का अतिथिका रुपमा सहभागी भइन्।

त्यसपछि सामाजिक सञ्जालमा गुरुङलाई मिस वर्ल्डको नयाँ मालिकका रुपमा प्रस्तुत गरिन थालियो। र, त्यही आधारमा धेरै सञ्चारमाध्यमले उनलाई मिस वर्ल्डको नयाँ मालिकका रुपमा प्रस्तुत गरे।

क्यारोलिन विलावास्कासँग गुरुङ। तस्वीर : मिस वर्ल्ड

तर, वास्तवमा मिस वर्ल्डको सञ्चालन र व्यवस्थापन जुलिया एभलिन मोर्लेको कम्पनीले गर्छ। यो उनको पारिवारिक कम्पनी हो भने मिस वर्ल्डसँग सम्बन्धित कतिपय व्यापार स्थानीय फ्रेन्चाइजी कम्पनी र उनीसँग सम्बन्धित च्यारिटेबल संस्थाले गर्छ।

सन् १९५१ मा एरिक मोर्लेले सुरु गरेको मिस वर्ल्डको सञ्चालनको जिम्मा अहिले बेलायती कम्पनी मिस वर्ल्ड होल्डिङ लिमिटेडसँग छ। यो कम्पनीमा एरिककी ८३ वर्षीया श्रीमती जुलिया सञ्चालक र अध्यक्ष छिन्। उनै जुलियासँग यस कम्पनीको सम्पूर्ण सेयर स्वामित्व देखिन्छ।

त्यस्तै अवस्था अन्यत्र पनि देखिन्छ। जस्तो अप्रिल २६ मा गुरुङले आफ्ना पिता र मातासहित बोइङ कम्पनीमा भ्रमण गरेका तस्वीर हिमालय जेटको इन्स्टाग्राममा पोस्ट गरेका छन्। र, त्यही आधारमा केही २०२३ को तेस्रो त्रैमास अर्थात् सेप्टेम्बरभित्र उडान सञ्चालन हुने ब्लगहरु पोस्ट भएका छन्।

एभिएसनसँग सम्बन्धित ब्लग पोस्टमा ती खबर आए पनि बोइङको आधिकारिक पेजमा भने हिमालय जेटका विषयमा कुनै पनि जानकारी सार्वजनिक छैन। जबकि, बोइङले अहिलेसम्मका अर्डर, त्यसको डेलिभरी र भविष्यको अर्डरका विषय आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने गर्छ। ती अर्डरको सूचीमा कहीँ पनि हिमालय जेटको नाम उल्लेख छैन।

जस्तो केही दिन अघि हिमालय जेट र इन्फोसिससँग एउटा समझदारी भएको तस्वीर हिमालय जेटको फेसबुक पेजमा सार्वजनिक भयो। त्यस आधारमा नेपाली मिडिया दी हिमालयन टाइम्सले गुरुङ परिवारको अर्बौको सम्पत्ति व्यवस्थापनका लागि इन्फोसिससँग ४ करोड अमेरिकी डलर बराबरको सम्झौता शीर्षकमा समाचार प्रकाशित गर्‍यो।

त्यसको केही दिनमा उक्त समाचार ‘डिलिट’ भएको छ भने त्यससँग सम्बन्धित अर्को नयाँ समाचार दी हिमालयन टाइम्समा सार्वजनिक भयो। नयाँ समाचार अनुसार इन्फोसिसले गुरुङ परिवारको हिमालय जेटलाई मात्र नभएर प्रिभे सिनेमा र मिस वर्ल्डको डिजिटल ट्रान्सफर्मेसनमा सहयोग गर्ने जनाइएको छ।

समाचार अनुसार हिमालय जेटको अहिलेको मूल्यांकन लगभग १ अर्ब ६० करोड पाउण्ड हो। सन् २०२५ सम्म १८ वटा वाइड बडी विमानबाट उडान गर्ने भनिएको यस कम्पनीको भ्यालुएसन त्यतिबेला ७ अर्ब पाउण्ड पुग्नेछ।

गुरुङ आफैँले पनि धनाढ्य देखाउनका लागि आफ्ना सामाजिक सञ्जालमा प्राइभेट जेटको यात्रा, पोर्स कारको सवारी, भव्य डिनरमा सहभागिता र प्रिमियर लिग फुटबल हेरिरहेका तस्वीरहरु हालेका छन्।

त्यतिमात्र नभएर उनले लण्डन, पेरिस, फ्र्याङ्कफर्ट र सिड्नीबाट काठमाडौं आउनका लागि हिमालय जेटको अफिसियल वेबसाइटमा टिकट बुकिङ समेत खोलेका छन्।

रोचक त के छ भने उनले यति प्रचारप्रसार गरिरहँदा, काठमाडौं उडानका लागि हिमालय जेटको अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको नै छैन। यस उडानका लागि बेलायतको उड्डयन प्राधिकरणले नेपालको नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक पत्र पठाएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ।

‘हामीलाई बेलायतको उड्डयन प्राधिकरणबाट औपचारिक पत्र आएको छैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिजमाण्डूसँग भने, ‘कम्पनीले सिधै आएर हामीलाई आवेदन दिएका आधारमा उडान गर्न अनुमति पाउँदैन।’

उनका अनुसार सुरुवातमा हिमालय जेटले बेलायतकै उड्डयन प्राधिकरणलाई आवेदन दिनुपर्छ।

१० वर्ष अघि काठमाडौंमा एउटा स्टोर खोलेका र यस बीचमा कुनै पनि ठूलो कारोबारमा नदेखिएका गुरुङसँग यति धेरै पैसा कहाँबाट आयो, प्रश्न उठ्न सक्छ। त्यसका लागि उनी निकट एक व्यक्तिले दिएको जानकारी सटिक देखिन्छ। त्यो हो ‘बोल्खिया’।

‘बोल्खिया’हरु ब्रुनाईका राज खानदान हुन्। यस हिसाबमा गुरुङको चन्द्र लक्जरी र प्रिभे सिनेमामा सेयरधनीका रुपमा देखिने इन्सिरा बोल्खिया पनि ब्रुनाईको राजपरिवारको सदस्य रहेको हुनसक्ने सम्भावना छ।

कम्पनी हाउसमा उपलब्ध गराएको ठेगानाअनुसार ब्रुनेइकी बोल्खिया अमेरिकाको पोस इलाका फिफ्थ एभेन्यु न्युयोर्कमा बस्छिन्। तर, त्यसबाहेक उनीबारे अन्य जानकारी सार्वजनिक रुपमा कहिँ पनि उपलब्ध छैन। यस हिसाबमा उनी राजपरिवारको पहिलो घेराको सदस्य भने होइनन्।

गुरुङको विगत र उनको वित्तीय पहुँचको पूर्वाधारमा जुन कमजोरी देखिन्छ। त्यो हिसाबमा हिमालय जेटले विमान उडान गर्छ भन्नेमा ठूलो शंका छ।