सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालन गरिने, दिनमा ४ घण्टा मात्र

बिजमाण्डू
२०८० भदौ २५ गते १८:१९ | Sep 11, 2023
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ देखि सञ्चालन गरिने, दिनमा ४ घण्टा मात्र
‘द्रुत बस सेवा’ सञ्चालनबारे छलफल। तस्वीर: भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको निजी सचिवालय


काठमाडौं। सूर्यविनायक–रत्‍नपार्क रुटमा असोज ३ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ। संविधान दिवसको दिन पारेर असोज ३ देखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको हो।

Tata
GBIME

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यस विषयमा सोमबार सडक विभाग, यातायात व्यवस्था विभाग लगायत निकायका अधिकारीसँग छलफल गरेका छन्।

छलफलमा मन्त्री ज्वालाले सरकारी अधिकारीलाई ‘द्रुत बस सेवा’ संविधान दिवसको दिन पारेर सुरु गर्न निर्देशन दिए। यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने भनिएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले ‘द्रुत बस सेवा’ सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। ‘अन्य काम सबै सकिएको छ। सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलिदेखि सुरु गर्छाैं’, उनले भने।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ‘द्रुत बस सेवा’का लागि २५ वटा बस तयारी अवस्थामा राखिएको जानकारी दिए। ती बस सबै व्यवसायीका हुन्। ती बस बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म मात्र सञ्चालन गरिनेछन्।