
काठमाडौं। सत्तारुढ दलका नेताहरुले सरकारको कामप्रति सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै सामुन्ने सानातिना कार्यक्रममा अल्झिएको र जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका हुन्।
समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको कार्यक्रममा जसपा अध्यक्ष यादवले प्रधानमन्त्री दाहाल खुद्रे काममा अल्झिएको बताए। ‘तपाईंजस्तो क्रान्तिको कमान्डर प्रधानमन्त्री भएका बेला सरकार खुद्रे काममा अल्झिनु हुँदैन। अहिले नगरे कहिले गर्ने? तपाईंले नगरे कसले गर्छ?’, यादवले भने, ‘प्रधानमन्त्रीज्यूका लागि अवसर छ, हामी साथमा छौं।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुलुकमा चारैतिर निराशा रहेकाले सरकारले काम गरेर आशा र भरोसा जगाउन सक्नुपर्ने बताए। ‘सरकारले केही राम्रा काम गरेर जनतामा आशा जगाउन आवश्यक छ,’ नेता नेपालले भने।
प्रधानमन्त्री दाहालले भने सरकारले सुशासन कायम गराउन काम गरिरहेको दाबी गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करी जस्ता घटनाले सुशासनविरोधीहरु आत्तिएको र उनीहरुले सरकारविरुद्ध षड्यन्त्र सुरू गरेको बताए। उनले सुशासनविरोधि को हुन् भन्नेचाहिं प्रष्ट पारेनन्। पक्षधरहरू षड्यन्त्रमा लागेको दाहालको भनाइ छ।