मन्दीले पार्टी प्यालेसमा कम घन्कियो तीजको गीत, छैन माग, आए पनि सानो समूह

बिजमाण्डू
२०८० भदौ २५ गते १५:३२ | Sep 11, 2023
मन्दीले पार्टी प्यालेसमा कम घन्कियो तीजको गीत, छैन माग, आए पनि सानो समूह


काठमाडौं। केही वर्षअघिसम्म घर र टोलमा घन्किने तीज गीत पार्टी प्यालेसमा घन्किन थाल्यो। त्यसपछि तीजको समयमा काठमाडौं, चितवन, पोखरा, बुटवललगायत सहरका पार्टी प्यालेस तीजका बेलामा खचाखच हुन थाले।

Tata
GBIME

विवाह, ब्रतवन्धलगायत सामाजिक कार्य र कर्पोरेट कार्यक्रमका अलावा तीजले पार्टी प्यालेसको व्यापार बढायो। तीज संस्कृति पार्टी प्यालेससम्म पुगेपछि देशभरका जिल्ला प्रशासनले यस्ता कार्यक्रममा कडाइ गरे।

कडाइपछि पार्टी प्यालेसमा तीज मनाउन कम भएको छ। २०७६ सालको तीजपछि घट्न थालेको पार्टी प्यालेसको व्यापार यो पटक आर्थिक मन्दीले थप संकटमा पारेको छ।

कोभिडपछि सुरु भएको आर्थिक मन्दीका कारण पार्टी प्यालेसमा हुँदै आएको तीज माग कम रहेको इभेन्ट एण्ड भेनु एसोसिएसन नेपालका अध्यक्ष एवं मानसरोवर पार्टी प्यालेसका संचालक उत्तमप्रकाश शर्माले बताए।

‘तीजका लागि पार्टी प्यालेसमा खासै माग छैन। कोभिड अगाडि राम्रै थियो,’ उनले भने, ‘पार्टी प्यालेसमा तीज कार्यक्रम नभएकै पनि होइन। तर न्यून माग छ।’ उनका अनुसार अहिले सानो समूह बनाएर पार्टी प्यालेसमा आउने बढी छन्। कोभिडअघि दुई सयभन्दा बढीको समूह बनाएर आउने गर्थे।

पेप्सीकोलाको न्यू त्रिशक्ति पार्टी प्यालेसमा पनि तीज कार्यक्रम खासै भएका छैनन्। पार्टी प्यालेसका संचालक शरण भण्डारीले तीजका कार्यक्रम धेरै कम रहेको बताए। ‘पहिलाको जस्तो माग छैन। माग आइहाले पनि संख्या निकै कम छ,’ संचालक भण्डारीले भने, ‘कोभिडपछि माग धेरै घट्यो।’

नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्सले शनिबारको दिन तीजलक्षित कार्यक्रमको माग आइरहेको जनाएको छ। ‘विशेषगरी शनिबारको दिन तीजका कार्यक्रमको माग आइरहेको छ। यो दिन विभिन्न समाज, सहकारी लगायत क्षेत्रमा आवद्ध ग्राहकको समूह आइरहेको छ,’ संचालक सकुन्द अर्यालले भने, ‘तीज हाम्रो सामाजिक दायित्व अन्तर्गत पर्छ। त्यसैलाई मध्यनजर गर्दै सुपथ मूल्यको प्याकेज दिइरहेका छौं।’

आनन्द इभेन्टले तीज कार्यक्रमका लागि खासै माग नरहेको जनाएको छ। कम्पनीका निर्देशक मुराहरि रिजालले उपभोक्ताको क्रयशक्ति घटेकाले तीज कार्यक्रम कम भएको जिकिर गरे।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भने शुक्रबार र शनिबारका दिन तीज कार्यक्रमको माग उल्लेख्य रहेको प्रबन्धक राकेश विष्टले बताए। ‘शुक्रबार र शनिबारका लागि माग राम्रो आइरहेको छ। हामीले ग्राहकले भनेको आधारमा खानाको मेनु दिइरहेका छौं,’ उनले भने।

चार वटा हल रहेको पार्टी प्यालेसमा एक पटकमा ६ सय जनालाई सेवा दिँदै आएको विष्टले जानकारी दिए। बसुन्धारास्थित सीमा पार्टी प्यालेसले तीज लक्षित कार्यक्रम १० वटा गरिसकेको छ। कम्पनीका संचालक समिक चालिसेका अनुसार समूहमा २० देखि सय जनासम्म आउने गरेका छन्।