शाहरुखको ‘जवान’ले विश्वव्यापी रुपमा कमायो ५०० करोड बढी, घरेलु बक्स अफिसको कलेक्सन कति?

बिजमाण्डू
२०८० भदौ २५ गते १२:०० | Sep 11, 2023
शाहरुखको ‘जवान’ले विश्वव्यापी रुपमा कमायो ५०० करोड बढी, घरेलु बक्स अफिसको कलेक्सन कति?
Image: hindustantimes.com


शाहरुख खान अभिनित फिल्म ‘जवान’ले आइतबार ८१ करोड भारु नेट कमाइ गरेको छ। ‘जवान’ले सबै भाषामा गरी भारतभरबाट ८५.१० करोड भारु ग्रस कलेक्सन गरेको भारतीय सञ्‍चार माध्यमले उल्लेख गरेका छन्।

Tata
GBIME
NLIC

फिल्ममा शाहरुखका अलावा विजय सेतुपति र नयनताराको समेत अभिनय रहेको छ। रिलिज भएको पहिलो दिन बिहीबार ‘जवान’ले ७५ करोड भारु कमाइ गरेको थियो। जुन हिन्दी भाषाको फिल्मले पहिलो दिनमा कमाएको हालसम्मकै सबैभन्दा धेरै हो।

‘जवान’ले शुक्रबार ५३.२३ करोड भारु र शनिबार ७७.८३ करोड भारु कमाइ गरेको छ। फिल्मको हालसम्मको बक्स अफिस कलेक्सन २८७ करोड भारु भन्दा बढी रहेको बताइएको छ।

त्यस्तै, ‘जवान’का लागि भारतका हलहरुमा हिन्दीतर्फ ७०.७७ प्रतिशत अकुपेन्सी रहँदा तमिलतर्फ ५३.७१ प्रतिशत र तेलुगुतर्फ ६८.७९ प्रतिशत अकुपेन्सी रहेको रिपोर्ट आएको छ।

‘जवान’ले टिकट बिक्रीमा पनि रेकर्ड बनाएको छ। रिलिजको चौथो दिन आइतबार जवानको २८ लाख ७५ हजार बढी टिकट बिक्री भएको फिल्म ट्रेड एनालिस्ट मनोबाला विजयबालनले सामाजिक सञ्‍जाल एक्स (ट्‍विटर)मा लेखेका छन्।

उनले विश्‍वव्यापी रुपमा भने ‘जवान’ले ५०० करोड भारु भन्दा बढी कमाइ गरिसकेको बताएका छन्। जसले शाहरुख खानलाई एकै वर्षमा दुई फिल्ममा यो अंक पार गर्ने एकमात्रै नायक बनाएको पनि विजयबालनले उल्लेख गरेका छन्।