
काठमाडौं। ललिता निवास प्रकरणमा जिल्ला अदालतले भाटभेटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। २ करोड ४६ लाख रुपैयाँ धरौटी लिएर छोड्न अदालतले आदेश दिएको हो।
एक साता लामो बहसपछि न्यायधीश भोला ढकालको इजलासले आदेश सुनाएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दुई महिना लगाएर भदौ पहिलो साता रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।
प्रतिवेदनमा संगठित अपराध र किर्तेमा मुद्दा चलाउन प्रहरीले राय दिएको थियो। तर वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो।
प्रहरीले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित २८६ जनालाई मुद्दा चलाउन सिफारिस गरेकामा सरकारी वकिल कार्यालयले २९० जनालाई प्रतिवादी बनाएको थियो। जग्गा फिर्ता गर्नेलाई पनि प्रतिवादी बनाइएको छ।
ललिता निवास प्रकरणमा सीआइबीले साउन १२ गते भाटभेटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको थियो। यस प्रकरणमा २१ जना पक्राउ परेका थिए। केही भने हाजिरी जमानीमा छुटेका थिए। अदालतले पक्राउ परेका सबैलाई धरौटीमा छोड्न आदेश दिएको छ।