न्यूयोर्क र चीन भ्रमणलाई कसरी फलदायी बनाउने? नेताहरुसँग प्रधानमन्त्रीले गरे छलफल

बिजमाण्डू
२०८० भदौ २४ गते १२:०४ | Sep 10, 2023
न्यूयोर्क र चीन भ्रमणलाई कसरी फलदायी बनाउने? नेताहरुसँग प्रधानमन्त्रीले गरे छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरुसँग छलफल गरेका छन्।

Tata
GBIME

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतको सहभागिता थियो।

सो बैठकमा नेताहरूले छिमेकी राष्ट्रहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्नेमा प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। भ्रमणका क्रममा विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुबै देशले एकअर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमासमेत सुझाव दिइएको थियो।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा विश्वस्त रहेको बताएका थिए।

नेताहरुको सुझाव सुनेपछि प्रचण्डले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईंले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ।’

त्यसक्रममा उनले सरकारले दुबै छिमेकी राष्ट्रका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको बताउँदै नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका थिए।

बैठकमा प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणबारे पनि चर्चा भएको थियो। प्रचण्ड छिट्टै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदैछन्। त्यसक्रममा उनले नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने बताए।

न्यूयोर्कबाट प्रचण्ड सिधै चीन जानेछन्। कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको प्रचण्डले बताएका थिए।