
काठमाडौं। कमजोर पुँजीगत आधारका कारण ब्रोकर कम्पनीहरुलाई मार्जिन कर्जा प्रवाह गर्न कठिन भएको छ। मार्जिन कर्जा सुरु गरेका कम्पनी स्रोत रित्तिएकाले निरन्तरता नसक्ने अवस्थामा पुगेका छन्।
नेपालमा सर्वाधिक धेरै सेयर कारोबार गर्ने ब्रोकर मध्येको ब्रोकर नम्बर ५८ अर्थात नासा सेक्युरिटिजकै मार्जिन कारोबार प्रभावहीन देखिएको छ। कम्पनीले विभिन्न दुईवटा योजना सार्जनिक गरेर गत वर्ष कात्तिक १७ बाट छोटो समयका लागि मार्जिन सुविधा उपलब्ध गराएको थियो। कम्पनीले आफ्नै आन्तरिक स्रोतबाट लगानीकर्तालाई मार्जिन सेवा उपलब्ध गराएको थियो। पुँजीगत आधार कमजोर हुँदा स्रोत रित्तिएपछि उ अहिले मार्जिन सुविधा बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ।
नासामा २ लाख ९६ हजार लगानीकर्ता आवद्ध छन्। तीमध्ये ५० हजार सक्रिय लगानीकर्ता हुन्। तर उसले जम्मा १०० लगानीकर्तालाई ५ करोड बराबर मात्र मार्जिन सुविधा दियो।
‘फन्डको सीमिततका कारण हामीले धेरैलाई प्रोभाइड गर्न सकेनौं। जतिलाई दियौं दियौं। अब नयाँ लगानीकर्तालाई थप्न सक्ने अवस्था छैन। रिफाइनान्सिङको सुविधा छैन। धितोपत्र बोर्डले पनि मार्जिन कारोबार सहज गर्न बाटो खोलिदिएको छैन। सीमित फन्डका कारण हामीले चाहेर पनि धेरै लगानीकर्तालाई त्यो सेवा दिन सकेनौं,’ नासाका निर्देशक मदन पौडेलले बिजमाण्डूसँग भने।
बजार बियरिस भएकाले पनि मार्जिन सुविधा लगानीकर्ताको आकर्षणमा परेन। कम्पनीले अब मार्जिन सेवा तत्कालका लागि रोक्ने भएको छ। नासाले स्रोत सुनिश्चित नभएसम्मका लागि मार्जिन सेवा बन्द गर्ने भएको हो।
अधिकांश ब्रोकर कम्पनीसँग चुक्ता पुँजी २०/२५ करोडभन्दा छैन। उनीहरुले ५ करोडभन्दा बढी मार्जिन रकम दिन सक्दैनन्।
‘पैसा छैन। त्यसैले अब थप मार्जिन सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन। हामीसँग भएको ५ करोड रुपैयाँ १०० जना जतिलाई दिइयो,’ निर्देशक पौडेलले भने, ‘हामीले २० र ५८ दिने प्रोडक्ट निकालेका थियौं। सानो प्रोडक्टमा वर्किङ प्रोसेस मात्र झन्झटिलो हुने। आफ्नै फन्डबाट ठूलो पैसा दिन सकिएन। सबैजसो लगानीकर्ताले रकम फिर्ता गरे। तर त्यो रकम कम्पनीमा पनि खर्च भयो। अर्को स्रोत जुटाउन नसक्दासम्म अगाडि जान सकिंदैन।’
नासा आन्तरिक स्रोतबाट सुरु गरेको मार्जिन सेवा प्रभावकारी नभएपछि अब स्रोत जुटाएर मात्र कारोबार गर्ने योजनामा छ। स्रोत सुनिश्चितताका लागि बैंकहरुसँग कुरा गरिरहेको पौडेलले बताए।
कस्तो थियो मार्जिन सेवा ?
नासाले ३० र ५८ दिने स्किममा १० लाखको योजना ल्याएको थियो। लगानीकर्ताले ४० प्रतिशत मार्जिन रकम भुक्तानी गरेपछि १० लाख रुपैयाँ बराबर सेयर खरिद बिक्री गर्न पाउँथे।
३० दिनसम्म उक्त रकम चलाउने लगानीकर्ताले कम्पनीलाई सेवा शुल्कबापत ९ हजार नौ सय ९९ र ५८ दिनका लागि चलाउनेले २१ हजार ५८ रुपैयाँ तिर्नु पर्ने व्यवस्था थियो। लगानीकर्ताको रोजाइमा ५८ दिने स्किम परेको थियो।
फन्ड अभाव
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २०७५ मा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि जारी गरेपछि लगानीकर्तालाई औपचारिकरुपमा यस्तो सुविधा प्रदान गर्ने बाटो खुलेको थियो। नेप्सेका अनुसार मार्जिन कारोबारका लागि २२ वटा ब्रोकर कम्पनीले अनुमति पाएका छन्।
तर लामो समयदेखि मार्जिन ट्रेडिङको कुरा उठाउँदै आएका अधिकांश ब्रोकर कम्पनीले यो सेवा सुरु गर्नै सकेका छैनन्। लाइसेन्स पाएका ब्रोकर कम्पनीले मार्जिन कारोबार गराउने पूर्ण अधिकार भएपनि लगानीकर्ताको माग अनुसारको फन्ड नहुँदा सेवा सुरु गर्न नसकेका हुन्।
भिजन सेक्युरिटिज पनि नासा जस्तै धेरै सेयर कारोबार गराउने ब्रोकर कम्पनी हो। यसले मार्जिन कारोबार गर्ने तयारी थालेको निकै भएपनि सफल हुन सकेको छैन। बजार बियरिस, आन्तरिक फन्ड सानो, ठूलो फन्ड जुटाउने स्रोतको खोजी लगायत कारण मार्जिन सेवा सुरु गर्न नसकेको कम्पनीले जनाएको छ। उसले मार्जिन कारोबारका लागि कार्यविधि भने बनाइसकेको छ।
‘हामीले गत वर्ष गर्न सकेनौं। गत साउनबाट चाहिं छोटो समयका लागि सुरु गर्ने गरी कार्यविधि बनाएका थियौं। तर बजार बियरिस भयो। मार्जिन कारोबारका लागि बजार त गतिशिल हुनुपर्यो नि। बियरिस बजारमा लगानीकर्ता सेवा लिन आउँदैनन्,’ भिजन सेक्युरिटिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले भने, ‘हामीले राष्ट्र बैंक तथा रेगुलेटरहरुसँग रिफाइनान्सिङका लागि कुरा गरिरहेका छौं। रिफाइनान्सिङका लागि निष्कर्षमा नपुगि हामी मार्जिन कारोबार सुरु गर्दैनौं।’
कोहिनुर इन्भेष्टमेन्टका भरत रानाभाटले पनि फन्डको अभाव र नेप्सेको सिस्टमका कारण मार्जिन कारोबार सुरु गर्न नसकेको बताए। नेप्सेको सिस्टममा एउटा ग्राहकको मार्जिन कारोबार गर्ने र नर्मल खाता खोल्न नमिल्ने साथै हाम्रो आन्तरिक स्रोतले नभ्याउने भएकाले फन्ड सुनिश्चित नभएकाले कारोबार सुरु गर्न सकिएको छैन,’ उनले भने। ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार गर्न नसकेको विषयलाई धितोपत्र बोर्डले पनि गम्भीरतापूर्वक लिएको छैन।