
बुद्धकालमा जीवनयापनका लागि कृषि, पशुपालन र वाणिज्य, तीन व्यवसाय मुख्य मानिन्थे। आफ्नो परिवार र नोकरचाकरका सहायताले यी व्यवसायद्वारा धनधान्यको वृद्धि गर्नु सबैको उद्देश्य हुन्थ्यो। त्यसबेला प्रशस्त खेतीपाती, पशुधन, नोकरचाकर, बन्धुबान्धव र स्त्री हुनु सम्पन्नताको सूचक मानिन्थ्यो। तर, यी वस्तुमा अधिक आशक्ति राख्नु दुःखको कारण हुन्छ भन्ने बुद्धको भनाइ थियो।
कृषि उत्पादन र पशुधनका अतिरिक्त सुनचाँदी, रत्न आदिलाई पनि बहुमूल्य धनका रुपमा लिइन्थ्यो। धनी व्यापारीले मोती, मणि, मुगा, सुनचाँदी आदिको व्यापार र सङ्ग्रह गर्थे। मणि, सुवर्ण आदि बहुमूल्य वस्तुका व्यापारीलाई यी वस्तुको गुणस्तरका विषयमा ज्ञान हुनु आवश्यक थियो। अन्यथा खडेरी र असिनाले खेती बिग्रिए झैं यी वस्तुको अल्पज्ञानले व्यापार चौपट हुन बेर लाग्दैनथ्यो। नाफा हुनु त परै जाओस्, साउँ पनि डुब्ने खतरा हुन्थ्यो। आफ्नो सामानको लागत वा खरिद कति परेको छ, कतिमा बेच्दा साउँ उठेर फाइदा हुन्छ भन्ने कुराको हेक्का राख्ने चतुर व्यापारीले व्यापारबाट राम्रो आम्दानी गर्थे।
त्यसबखत व्यापार विनिमयको सजिलोका लागि सिक्काको प्रचलन सुरू भइसकेको थियो। त्यस बेलाका सिक्कालाई कार्षापण भनिन्थ्यो। यी तामाका मुद्रा थिए। विभिन्न प्रसङ्गमा सुनको उल्लेख पाइनाले सुनका मुद्रा पनि चलनचल्तीमा थिए भन्ने अनुमान हुन्छ। तौल वा गुणस्तर नपुगेका, राजचिह्न अङ्कित नभएका खोटा मुद्रा पनि यदाकदा चलनचल्तीमा आउँथे। मुद्राको कारोबार गर्ने व्यापारी, राजाका खजान्ची र मुद्राका पारखीले खोटा मुद्रा सजिलै चिन्थे। सिक्काका अलावा वस्तु विनिमय पनि चलनमा थियो। आवश्यक सरसामान खरिदबिक्रीका लागि खोलिएका दोकानलाई आपण भनिन्थ्यो। धेरै सङ्ख्यामा आपणहरु भएकाले मगधको अधीन रहेको अङ्गुत्तरापको एउटा नगरको नाउँ नै आपण थियो। यहाँ २० हजार दोकान थिए।
सामान्यतया व्यापार स्वच्छ हुन्थ्यो। तर, केही कुटिल व्यापारीले ग्राहकलाई ठग्ने पनि गर्थे। केही व्यापारीले सामान बेच्दा तौल कम हुने खालको एउटा तराजु र ग्राहकबाट किन्दा अर्कै तराजु प्रयोग गर्थे। कुटिल व्यापारीले सामान तौलिँदा तौल कमबेसी पार्न तराजुको उझिन्डो फरकफरक ठाउँमा समात्ने र तराजुको पल्ला तल वा माथिपट्टिबाट ठेल्ने आदि विभिन्न छलछाम प्रयोग गरेर तौल फरक पार्ने गर्थे। धूर्त व्यापारीले तराजुको डन्डीमा प्वाल पारेर त्यसमा फलामको धूलो हाल्थे। सामान किन्दा र बेच्दा त्यो भाग अगाडिपछाडि पारेर तौल कमबेसी गर्ने गरिन्थ्यो।
जालझेल प्रयोग गरेर सोझा ग्राहकलाई ठग्ने धूर्त व्यापारीका अरु पनि अनेकौं काइदा हुन्थे। केही व्यापारीहरु फलामका भाँडाकुँडालाई सुनको जलप लगाएर सुनकै भाउमा बेच्ने गर्थे। यस प्रकारको ठगीलाई कंसकूट भनिन्थ्यो। नापजोखमा पनि व्यापारीहरु धाँधली गर्थे। उनीहरु घिउतेल नाप्ने मानोको पिँधमा छिद्र बनाएर आफूले बेच्दा छिद्र औंलाले बन्द गरेर नाप्ने र किन्दा छिद्र खुलै राखेर नाप्ने गर्थे। यसो गर्दा छिद्रबाट घिउ, तेल, खुदो आदि तरल वस्तु चुहिएर आफ्नो भाँडामा झर्थ्यो। धान, चामल, तिल आदि आफूले किन्दा मानो वा पाथीमा झुसी बनाएर नाप्ने र बेच्दा छिटोछिटो नापेर निम्ठो मात्र दिने गरेर पनि ठग्ने कार्य हुन्थ्यो। खेत नाप्ने अमिनले घूस पाएका वा नपाएका आधारमा किनबेच भएको खेतको क्षेत्रफलमा फरक पार्थे।
ठूला र धनी व्यापारीलाई श्रेष्ठी भनिन्थ्यो। प्रत्येक राज्यमा एक वा एकभन्दा बढी श्रेष्ठी हुन्थे। श्रेष्ठी नभएको राज्य हीन मानिन्थ्यो। धेरै सङ्ख्यामा श्रेष्ठी भएका राज्यबाट राजासँग अनुनयविनय गरेर आफ्ना राज्यमा श्रेष्ठी भित्र्याइन्थ्यो। कोसलनरेश प्रसेनजितले धनञ्जय श्रेष्ठीलाई यसरी नै मगधबाट कोसलमा ल्याएका थिए। यस प्रसङ्गले त्यस बखत श्रेष्ठीलाई राज्यले उच्च महत्त्व दिई सम्मानित व्यक्तिका रुपमा हेर्थ्यो भन्ने कुराको पुष्टि हुन्छ।
बुद्धकालमा वाणिज्य व्यापार आजीविकाको एउटा प्रमुख साधन भए पनि यसका निम्ति पुँजी र सीप चाहिने हुँदा यस पेसामा सीमित सङ्ख्याका वैश्यजाति र श्रेष्ठीको आधिपत्य थियो। व्यापारीले दैनिक आवश्यकताका वस्तुको व्यापार गर्थे। उनीहरुले बेच्ने सामानमा मुख्यतया खाद्यपदार्थ, घिउ, खुदो, धातुका भाँडाकुँडा, वस्त्र, गहना, केटाकेटीका खेलौना आदि हुन्थे। प्राणी, हातहतियार, विष, मासु र जाँडरक्सीको व्यापार बुद्धको दृष्टिकोणमा हीन र निकृष्ट थिए। यी पाँचबाहेक अन्य वस्तुको व्यापारलाई धर्मसम्मत मानिन्थ्यो। बुद्धले आफ्ना अनुयायी व्यापारीलाई यी पाँच कुराको व्यापार नगर्ने सल्लाह दिन्थे।
त्यस बखत आन्तरिक व्यापारका अलावा अन्तरदेशीय व्यापार पनि हुने गर्थ्यो। व्यापारीहरु आफ्ना मालमत्ताको व्यापार गर्न टाढाटाढा अर्को राज्यमा पनि पुग्थे। आफ्नो माल बेचेर आउँदा उताका माल यता ल्याएर बेच्थे। यसबाट फरकफरक देशका बासिन्दाले एकअर्काले उत्पादन गरेका सामग्रीको उपभोग गर्न पाउँथे। उत्कल जनपदबाट मगधमा व्यापार गर्न हिँडेका तपस्सु र भल्लिक नाउँका दुई व्यापारी दाजुभाइले बुद्धत्व लाभको अनन्तर बुद्धलाई मोही र लड्डुको भोजनदान गरेका थिए। पूर्ण नाउँका भिक्षु पहिले सूनापरान्त जनपदको सुप्पारकपट्टन (अहिले भारत महाराष्ट्रको पश्चिमी समुद्री तट)का व्यापारी थिए। उनी व्यापार गर्न श्रावस्ती आउँदा बुद्धसँगको सम्पर्कले भिक्षु बनेका थिए।
मित्रराष्ट्रका व्यापारीलाई कर छुट दिने चलन थियो। यसले दुई राज्यको सम्बन्ध सुदृढ हुनुका साथै व्यापार पनि फस्टाउँथ्यो। व्यापारीले दुई राज्यका बीचमा समाचार आदानप्रदानको कार्य पनि गर्थे। मगधनरेश बिम्बिसार र गान्धारनरेश पुक्कुसातिका बीच व्यापारीहरुकै माध्यमबाट परस्पर पत्राचार भएर मित्रता स्थापित भएको थियो।
धन कमाउन विदेशमा व्यापार गर्न हिँडेका केही व्यापारी कुलतमा फसेर आफूले कमाएको सम्पूर्ण धन नष्ट गर्थे। श्रावस्तीका भिक्षु राजदत्त पहिले व्यापारी थिए। उनी व्यापारका सिलसिलामा बेलाबखत ठूला नगरमा गइरहन्थे। एक पटक उनी पाँच सय गाडामा सामान लादेर राजगृह गएका बखत त्यहाँकी एउटी परमसुन्दरी गणिकाको सम्पर्कमा आए। प्रत्येक दिन एक हजार मुद्रा तिरेर सुन्दरीसँग सहवास गर्नाले उनको सम्पूर्ण कमाइ स्वाहा भयो। खानलाउनकै समस्या परेपछि उनी भिक्षु भएका थिए।
व्यापारीहरु मालसामान ओसारपसार गर्न गोरूगाडाको प्रयोग गर्थे। गाडामा भारी ठूलो भए पनि तन्दुरूस्त र प्रशिक्षित गोरू जुवा छाडेर भाग्दैनथे। तर, कहिलेकाहीँ बढी भार र बाटोको खराबीका कारणले गोरूले गाडा तान्न सक्दैनथे। यस्तो अवस्थामा गोरूलाई जुवाबाट मुक्त गरेर घाँसपानी दिई एकछिन आराम गराएपछि गोरू तङ्ग्रिन्थे र पुनः गाडा तान्न समर्थ हुन्थे।
व्यापारीहरु व्यापारका सिलसिलामा टाढा जानुपर्दा गाडाको लावालस्करका साथ दलबलसहित जान्थे। व्यापारीको लस्करलाई सार्थ र सार्थको नाइकेलाई सार्थवाह भनिन्थ्यो। श्रावस्ती, साकेत, कौसाम्बी, काशी, राजगृह, आपण आदि ठूला नगरहरु फराकिला बाटाले एकअर्कासँग जोडिएका थिए। यी बाटामा व्यापारीका झुन्ड ओहोरदोहोर गरिरहन्थे। कतिपय ठाउँमा जङ्गलको बाटो पर्थ्यो। जङ्गलमा जङ्गली जन्तु र चोरको भय हुन्थ्यो। चोरबाट आफ्नो धनमाल जोगाउन व्यापारीलाई मुस्किल पर्थ्यो। यसैले उनीहरु जङ्गलको बाटो एक्लैदुक्लै लामो यात्रा गर्न हच्किन्थे। व्यापारी आएको सुइँको पाएपछि चोरहरु जङ्गलमा बाटो ढुकेर बस्थे। कुनै सूत्रबाट जङ्गलमा चोर बसेको थाहा पाएका व्यापारीहरु त्यो बाटो हिँड्दैनथे। अथवा नगरमा नै केही दिन बसेर चोरलाई जिल्याउँथे। व्यापारी र यात्रीहरु लामो जङ्गलको बाटो हिँड्नुपर्दा धेरै जनाको समूहमा हातहतियारसहित हिँड्थे। मान्छेको ठूलो फौज देखेपछि चोरले आँट गर्न सक्दैनथे।
कुनैकुनै राज्य वा नगरको बीचमा मरूस्थलको बाटो पर्थ्यो। मरूभूमिमा मान्छे र गोरूको विश्रामका लागि छायादार ठूला रुख हुँदैनथे। त्यहाँ काँडादार झाडी र ससाना पोथ्रा मात्रै हुन्थे। सुक्खा इलाकामा मान्छे र गोरूका लागि पानीको स्रोत पनि हुँदैनथ्यो। दिउँसोको अपेक्षा राति शीतल हुने हुँदा मरूस्थलको बाटो भएर यात्रा गर्नुपर्दा व्यापारीहरु राति यात्रा गर्थे। यसले मानिस र गोरू दुवैलाई सहज हुन्थ्यो।
त्यस बेला स्थलमार्गका अलावा जलमार्गबाट पनि व्यापार हुन्थ्यो। अधिक फाइदाका लागि व्यापारीहरु नाउद्वारा समुद्र तरेर समुद्रपारिका देशमा व्यापार गर्न जान्थे। समुद्रको यात्रामा यदाकदा ज्यानको जोखिमसमेत हुन्थ्यो। समुद्रमा दिशाभ्रम हुन्थ्यो। लामो यात्रा गर्दा पनि कहिलेकाहीँ जानुपर्ने ठाउँको बाटो पत्ता लाग्दैनथ्यो। नजिक कतै टापु वा तट पनि फेला पार्न गाह्रो हुन्थ्यो। लामो समयसम्म बाटो बिराउँदा नाउमा भएको रसदपानी सकिन्थ्यो र व्यापारीहरु भोकभोकै मर्थे। यस्तो समस्याबाट पार पाउन व्यापारीले नाउमा टापु वा समुद्रतट पत्ता लगाउने चरा लैजान्थे। दिशाभ्रम भएको अवस्थामा उनीहरु उक्त चरा छाड्थे। चराले किनारा देख्यो भने त्यतै जान्थ्यो र फर्किंदैनथ्यो। किनारा नदेखेको अवस्थामा उक्त चरो नाउमै फर्किन्थ्यो। चराको यसै सङ्केतका आधारमा व्यापारीले आफ्नो यात्रा अघि बढाउँथे।
समुद्रको यात्रा सधैं निरापद हुँदैनथ्यो। कहिलेकाहीँ नाउमा कारणवश प्वाल पर्थ्यो। र त्यहाँबाट समुद्रको पानी नाउमा छिर्थ्यो। यस्तो अवस्थामा नाविकले हतपत नाउको प्वाल टाल्थे र नाउमा भरिएको पानी बाहिर फाल्थे। यसपछि नाउ क्रमशः हल्का हुन्थ्यो र यात्री सकुशल इच्छित बन्दरगाहसम्म पुग्थे। त्यस बेला सयौं मान्छे अटाउन सक्ने ठूला नाउ पनि हुन्थे। प्रतिकूल मौसम वा अरु गडबडीका कारण यदाकदा नाउ समुद्रमा डुब्थे। यस्तो अवस्थामा पौडिन जान्नेहरु अथवा काठ, फलेक आदिको सहारा पाउनेहरु तैरिएर किनारासम्म आउँथे। धेरैजसो यात्री समुद्रमा डुबेर मर्थे।
व्यापारीले व्यापारका अतिरिक्त कर्जा लेनदेनको कार्य पनि गर्थे। गृहस्थहरु घरखर्च चलाउन र व्यवसायका लागि ऋण लिने गर्थे। लिएको ऋण आवश्यक कार्यमा खर्च गरी सदुपयोग गर्थे। आम्दानी भएपछि उक्त ऋण चुक्ता गर्थे र बाँकी बचेको धन परिवारको भरणपोषणका लागि उपयोग गर्थे। लिएको ऋण सदुपयोग नगरेर बिनाप्रयोजन खर्च गर्ने ऋणीको समयमा ऋण फिर्ता गर्ने उपाय हुँदैनथ्यो। ऋण तिर्ने भाका आएपछि साहू हाजिर भइहाल्थ्यो। समयमा तिर्न नसक्ने असामीलाई उनीहरु हप्कीदप्की गर्ने, धरपकड गर्ने वा शारीरिक दण्ड दिने गर्थे। ऋणीले कर्जा समयमा फिर्ता गर्न नसकेका कारण साहूका यी सबै अपमानजनक व्यवहार सहन गर्नुपर्थ्यो।
आफ्नो गर्जो टार्न धितो राखेर वा नराखेरै पनि निश्चित भाका तोकेर ब्याजसहित फर्काउने सर्तमा कर्जा लेनदेन गरिन्थ्यो। अथवा धन सापट लिएर खेलो व्यापार गरी नाफा बराबर बाँड्ने अथवा नाफा आफूले राख्ने र साउँ मात्रै फर्काउने सर्त पनि हुन सक्थ्यो। ऋण लिएपछि लिखित तमसुक वा सर्तनामा गराइन्थ्यो। कर्जाको बोझले आतुर असामीले छिट्टै साँवाब्याज चुक्ता गर्थे। साँवाब्याज चुक्ता गरेपछि तमसुक च्यातिन्थ्यो।
ऋण चुक्ता गरेपछि असामीले हलुको महसुस गर्थे। यसपछि उनीहरुलाई न कसैले कर्जा तिर्न ताकेता गर्थ्यो, न सर्तनामा देखाएर भयभीत पार्न सक्थ्यो। कर्जा चुक्ता गरेको असामीले साहू देख्दा इच्छा लागे स्वागत र सम्मान गर्थ्यो; इच्छा नलागे त्यसो नगर्न ऊ स्वतन्त्र हुन्थ्यो। ऋणको साँवाब्याज तिर्न नसक्ने असामीबाट त्यसबापत साहूले जबरजस्ती ऋणीका छोराछोरी लगेर कज्याउँथे। कर्जा लिएर तिर्ने उपाय नभएका साहूद्वारा पीडित केही असामीले नदीमा हामफालेर प्राणत्याग गर्थे। यसबाट त्यस समयमा साहूको अत्याचार केही बढी नै हुन्थ्यो भन्ने अनुमान हुन्छ। कतिपय असामीहरु ऋण लिएर तिर्ने बेलामा आलटाल गर्थे। फटाहा खालका असामीले तेरो ऋण लिएकै छैन, लिएको भए देख्ने साक्षी को छ भनेर उल्टै साहूलाई थर्काउने पनि गर्थे। बिनातमसुक र साक्षी नराखीकन दिएको कर्जामा मात्रै असामीले यस्तो भन्ने सम्भावना हुन्थ्यो।
(लेखक उमाकान्त पौड्याल कृषि विकास बैंकबाट अवकासप्राप्त हुन्। यो अंश प्रकाशन संस्था फाइन प्रिन्टले हालै ल्याएको ‘बुद्धकालीन समाज’को सम्पादित अंश हो। लेखकले फुटनोटमा उल्लेख गरेका पालि भाषाका सन्दर्भहरु यसमा हटाइएको छ।)