आयात बढ्दा अमेरिकाको व्यापार घाटा बढ्यो, सवारीसाधनको निर्यात बढ्दा केही राहत

बिजमाण्डू
२०८० भदौ २१ गते ०६:४२ | Sep 7, 2023
आयात बढ्दा अमेरिकाको व्यापार घाटा बढ्यो, सवारीसाधनको निर्यात बढ्दा केही राहत
Photo : Reuters


अमेरिकाको व्यापार घाटा बढेको छ। अमेरिकाको वाणिज्यका अनुसार आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको हो।

Tata
GBIME

‘जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ। यो जुन महिनामा संशोधित ६३.७ अर्ब डलरभन्दा धेरै हो,’ विभागले जनाएको छ।

अमेरिकामा पछिल्लो समय आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ।

अमेरिकी अर्थतन्त्रमा सुस्तताको संकेत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको विश्लेषण गरिएको छ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरंग आउन सक्ने देखिएको छ।

जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको विभागले जनाएको छ। सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेकोले व्यापार घाटा बढे पनि अर्थतन्त्रलाई केही राहत मिलेको विश्लेषण गरिएको छ।