जित्‍नै पर्ने दबाबबीच नेपाल टस हारेर भारतविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा कोको?

बिजमाण्डू
२०८० भदौ १८ गते १५:०० | Sep 4, 2023
जित्‍नै पर्ने दबाबबीच नेपाल टस हारेर भारतविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा कोको?


काठमाडौं । एसिया कप अन्तर्गत आज भारतसँगको खेलमा नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रने भएको छ। टस गर्दा पानी छिट्याइरहेको अवस्थालाई मध्यनजर गर्दै भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपाललाई सुरुवाती ब्याटिङमा निम्तो दिएका हुन्।

Tata
GBIME

दुबै टोली समूहमा आफ्नो दोस्रो खेल खेल्न गइरहेका छन्। पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको फराकिलो हार ब्यहोरेको थियो भने भारत र पाकिस्तानबीचको खेलमा वर्षा हुँदा ‘वासआउट’ भएको थियो। समूह ‘ए’मा पाकिस्तानको ३ अंक छ भने भारतको १ र नेपाल अंकविहीन छ।

भारत र पाकिस्तानको खेलमा जस्तै आजको खेलमा पनि वर्षा बाधक बन्‍न सक्ने सम्भावना रहेको छ। खेल वर्षाका कारण हुन नसके नेपाल प्रतियोगिताबाट बाहिरिने छ र भारत सुपरफोरमा पुग्‍नेछ। यदि नेपालले जितेको खण्डमा भने सुपरफोरको सम्भावना कायम रहन्छ।

बलियो ब्याटिङ साइड भारतविरुद्ध ललित राजवंशी नेपालका लागि महत्वपूर्ण बन्‍न सक्छन्। पाकिस्तानले ३४२ रनको विशाल स्कोर खडा गर्दा राजवंशीले ३३ डटबल फ्याक्दै महत्वपूर्ण योगदान दिएका थिए। उनले १० ओभरमा मात्र ४८ रन दिएका थिए। त्यस्तै जिम्बावेमा पनि वेस्टइण्डिजविरुद्धको खेलमा उनको प्रदर्शन महत्वपूर्ण थियो।

भारतीय प्रभावशाली फास्टबलर जसप्रित बुमराह नेपालविरुद्धको खेलमा हुने छैनन्। उनी व्यक्तिगत कारणले मुम्बइ फर्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

पछिल्ला खेलहरुमा नेपालको लागि प्रभावशाली प्रदर्शन गर्ने खेलाडी हुन् सोमपाल कामी। पाकिस्तानविरुद्ध बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका थिए।

त्यसअघि इमर्जिङ टिम्स एसिया कपमा पनि सम्झन योग्य प्रदर्शन सोमपालकै थियो। त्यसैले पनि प्रशिक्षक मोन्टी देशाइले उनलाई ब्याोटिङ अर्डर प्रोमोट गरेर पाकिस्तानविरुद्ध शीर्षक्रममै ब्याटिङ गर्न पठाएका थिए।

भारतीय टोलीमा कप्तान रोहित शर्मा, विराट कोहली जतिबेला पनि जोखिम बन्‍न सक्छन्। त्यस्तै अलराउण्डर हार्दिक पाण्ड्याको प्रदर्शन पनि महत्वपूर्ण हुने गर्छ। पाकिस्तानविरुद्धको खेलमा धर्मराएको ब्याटिङलाई सम्हाल्दै उनले सर्वाधिक ८७ रन बनाएका थिए।

नेपाल प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल मल्ल, गुलसन झा, दीपेन्द्रसिंह ऐरी

भारत प्लेइङ ११
रोहित शर्मा, इशान किसन, विराट कोहली, शुभमन गिल, श्रेयस ऐय्यर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज