
काठमाडौं। आइतबार सेयर बजार भारी दरले घट्दा सोल्टी होटलको सेयरमा बिक्रेताको उच्च चाप देखिएको छ। आज सबैभन्दा बढी किनबेच भएको उक्त सेयर १३ रुपैयाँ घट्यो।
४३८ रुपैयाँमा अन्तिम किनबेच भएको छ। र ३ करोड ८८ लाखको कारोबार भयो। सोल्टी मात्रै नभएर होटल तथा पर्यटन क्षेत्रका अन्य सेयर समेत बेचेर उम्किनेहरु ह्वात्तै बढेका छन्।
उपसमूह अन्तर्गतका सबैजसो सेयर राताम्मे छन्। ३ प्रतिशतले होटल सूचक घट्यो।
सिटी होटलको सेयरमा नकारात्मक सर्किट नै लागेको छ। र बाँकी सेयर समेत २.८८ प्रतिशत देखि ०.२४ प्रतिशतसम्म घटे।
यसबीच अन्य क्षेत्रको प्रस्तुति पनि निराशाजनक रह्यो। कारोबार सुरु भए लगत्तै बजारमा बिक्रेताको प्रभुत्व जमेको थियो। अधिकांश समूह भारी दरले घट्दा नेप्से सूचकले ३० अंकको फराकिलो गिरावट लिएको छ। सूचक साँघुरिएर १९६० को विन्दुमा सीमित छ।
पछिल्लो गिरावटमा लगानीकर्ताले २ हजारको विन्दुलाई टेवा जसरी बुझेका थिए। बजार उक्त विन्दुमा आएर थामिने अनुमान थियो। गत साता नेप्से सूचक सोही विन्दु नजिक तल-माथि भएको थियो। भारी उतारचढाव अनुभव गरिएको थिएन।
केहीले यसलाई सकारात्मक संकेत जसरी पनि लिएका थिए। कतिपयले पोर्टफोलिया थप्ने जमर्को पनि गरेका थिए। तर २ हजारको आसपासबाट बजारले बाउन्सब्याक अनुमान विपरीत आइतबारको प्रदर्शनीले लगानीकर्ता अत्तालिएका छन्।
बजारमा माग ह्वात्तै साँघुरिएको अवस्था छ। भारी नोक्सानी हुने डरले अहिले नै बेचेर उम्किनेहरुको संख्या उल्लेख्य देखिन्छ।