
काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले बहराइनमाथि सहज जित निकालेको छ। मलेसियाको क्वललाम्पुरस्थित सेलान्गो टर्फ क्लबमा सम्पन्न आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र विश्वकप अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि १० विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको बहराइनले फितलो ब्याटिङ गर्दै १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो। बहराइनका लागि कप्तान दीपिका रसन्गिकाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
६ जना ब्याटर त शून्य रनमै पभेलियन फर्किएका थिए। बलिङतर्फ नेपाललाई उत्कृष्ट सुरुवात दिलाउन इन्दु वर्माले सर्वाधिक ३ विकेट लिँदा खुशी डंगोलले २ तथा कविता कुँवर, पुजा महतो र रुबिना क्षेत्रीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई ओपनरद्वय कविता कुँवर र सीता रानामगरले २.५ ओभरमै लक्ष्यसम्म पुर्याए। कुँवरले अविजित १७ रन बनाउँदा मगर २ रनमा अविजित रहिन्।
विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले शुक्रबार मलेसियामाथि ५ रनको जित निकालेको थियो।
नेपालले अब सोमबार कतारसँग र बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेर गएको छ। प्रतियोगिताको फाइनल पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछन्।