भारतको राजधानी दिल्लीका सडकहरुमा अहिले जताततै बाँदरका ठूला ठूला तस्वीर राखिएको छ। जिउँदा बाँदरलाई धपाउन भन्दै सडकको किनारामा बाँदरका तस्वीरहरु राखिएको हो।
नयाँ दिल्ली सिटी काउन्सिलले ३० जना ‘मंकी मेन’लाई समेत नियुक्त गरेको छ। उनीहरुले दिल्लीमा लंगुरहरुलाई धपाउने काम गरिरहेका छन्।
भारतमा अर्को साता (सेप्टेम्बर ९-१०) जी २० सम्मेलन हुँदैछ। सम्मेलनमा सहभागी हुन अमेरिका, चीन, बेलायतलगायत बलियो अर्थतन्त्र भएका राष्ट्रहरुका सरकार प्रमुख दिल्ली आउँदैछन्। २० देशबाट सयौं प्रतिनिधिहरु सम्मेलनका लागि दिल्ली आउँदैछन्।
त्यसैले हाल दिल्लीलाई चिटिक्क पार्ने काम भइरहेको छ। सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै सम्मेलनका लागि धेरै बजारहरु बन्द गर्न निर्देशन दिइएको छ भने सवारीका क्रममा विभिन्न सडकहरु प्रभावित हुने जनाइएको छ।
राजधानी दिल्लीलाई विश्वसामु सुन्दर देखाउने प्रयास भइरहँदा अधिकारीहरुको लागि सबैभन्दा टाउको दुखाइको विषय बनेको छ बाँदर। दिल्लीमा लंगुरहरुको उपस्थिति निकै धेरै छ। सडकमा हुल गरेर बस्नेदेखि हिँडिरहेका मानिसको सामान खोस्ने गर्छन् बाँदरहरुले। त्यसैले बाँदर नियन्त्रणका लागि दिल्लीका सडकमा बाँदरकै ठूला तस्वीर राखिनुका साथै धपाउने टिम नै गठन गरिएको हो।
सम्मेलनको तयारी स्वरुप साजसज्जाका लागि सडकमा राखिएका फूलसहित अन्य सामग्रीहरु बाँदरले नष्ट गर्न थालेपछि काउन्सिलले समाधानका लागि ‘मंकी मेन’ नियुक्त गरेको हो।
काउन्सिलका उपाध्यक्ष सतीश उपाध्यायले भने,’हामी बाँदरहरुलाई उनीहरुको प्राकृतिक स्थानबाट धपाउन सक्दैनौं। त्यसैले बाँदरहरुलाई तर्साएर भगाउनका लागि हामीले ३०-४० जनाको टोली नै खटाएका छौं।’
जी २० सम्मेलनका क्रममा ‘डेलिगेट्स’हरु बस्ने प्रत्येक होटलमा एक जना ‘मंकी मेन’ राखिनेछ। बाँदरहरु धेरै देखिने स्थानमा पनि उनीहरुलाई पठाइनेछ। काउन्सिलले बाँदरहरुलाई जंगलबाट बाहिर आउन रोक्न जंगलमै खानेकुराहरु दिन पनि थालेका छन्।
सहरभर बाँदरका तस्वीरहरु राखिए पछि त्यसको सकारात्मक प्रतिफल देखिन सुरु भएको काउन्सिलले जनाएको छ। उपाध्यायका अनुसार तस्वीर राखिएको स्थानमा बाँदरहरु आउने क्रम कम भएको छ। तर धेरै स्थानमा बाँदरहरुले ती तस्वीरहरु च्यात्ने गरेको पनि पाइएको छ। राखिएको दुई-तीन दिनपछि बाँदरहरुले ती तस्वीरहरु च्यात्ने गरेका छन्। त्यसैले पनि नजिकिँदो सम्मेलनलाई लक्षित गरेर बाँदर नियन्त्रणका विभिन्न उपायहरु खोजिँदैछ।
दिल्लीमा बाँदरहरुको व्यवस्थापना गर्न यस्तो उपायहरु निकालिएको पहिलोपटक भने होइन। सन् २०१० मा कमनवेल्थ गेम्स हुँदा होस् या अन्य ठूला अन्तर्राष्ट्रिय कार्यक्रम, प्रशासनिक कामसँगै बाँदर धपाउन लागि अधिकारीहरुलाई समाधान निकाल्न थप समय खर्चिनुपर्ने हुन्छ।