काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको हेलिकोप्टर उडानसम्बन्धी नयाँ मापदण्ड तत्काल कार्यान्वयन नहुने भएको छ। मापदण्डविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै कार्यान्वयन रोकिएको हो।
सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ। छलफलपछि अर्को आदेश नहुँदासम्म मापदण्ड कार्यान्वयन नगर्न पनि अदालतले अन्तरकालीन आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम जारी गरेको हो।
मापदण्डप्रति असन्तुष्टि जनाउँदै वायुसेवा सञ्चालक संघले प्राधिकरणविरुद्ध रिट दायर गरेको थियो।
‘आज सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको जानकारी आएको छ। दुवै पक्षलाई छलफलमा बोलाइएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।
अल्पकालीन आदेशले निरन्तरता पाएमा मापदण्ड कार्यान्वयन रोकिने छ। एकल इजलासको आदेश खारेज भएमा प्राधिकरणलाई मापदण्ड कार्यान्वयनको बाटो खुल्ने छ।