
काठमाडौं। प्रतिनिधि सभाका पाँच नयाँ र पाँच पुराना सांसदले विषयगत समिति हाँक्ने भएका छन्।
आइतबार अपराह्न ४ बजेसम्म तोकिएको मनोनयनको समयमा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दुई जनाको उम्मेद्वारी परेको छ। राजनीतिक दलबीचको भागबन्डामा उद्योग तथा वाणिज्य समिति जनमत पार्टीको भागमा परेको थियो। कुनै पनि समितिको भाग नपाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सोही समितिको नेतृत्वमा दाबी पेस गरेको हो।
रास्वपाका गणेश पराजुली र जनमतका अब्दुल खानले सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन्। अन्य समितिमा एकल उम्मेद्वारी परेको छ। एकल मनोनयनका हकमा प्रतिनिध सभा नियमावलीको नियम १७६(४) बमोजिम निर्विरोध निर्वाचित हुनेछन्। ९ वटा समितिमा निर्विरोध सभापति चयन हुने लागेको हो। सोमबार दिउँसो ३ बजेको समिति बैठकले निर्विरोध भएको घोषणा गर्नेछ।
रास्वपाले समितिमा भागबन्डा नपाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति पाएको हो। कोशी प्रदेश सरकारलाई सहयोग गर्ने वाचापछि राप्रपाले समिति सभापति पाएको माओवादी केन्द्रका नेताहरुको दाबी छ।
को को नयाँ?
अर्थ समितिमा उम्मेद्वारी दिएका कांग्रेसका सन्तोष चालिसे प्रतिनिधि सभाका लागि नौलो अनुहार हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। एक कार्यकाल मेयर बनेका चालिसे २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ३ बाट निर्वाचित भएका हुन्। मेयरबाट सांसद ‘डेब्यू’ गरेका चालिसेले अर्थ समिति हाँक्ने भएका हुन्।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरको उम्मेदवारमा पराजित राप्रपाका दिपकबहादुर सिंह प्रतिनिधि सभाको निर्वाचनमा भने मकवानपुर-१ बाट निर्वाचित भएका थिए। सभामा पहिलोपटक इन्ट्री मारेका सिंह पनि पूर्वाधार विकास समितिको सभापति बन्ने भएका हुन्। माओवादी केन्द्रका माधव सापकोटा उम्मेदवार बन्ने पक्का भए पनि अन्तिममा उक्त समिति राप्रपाले पाएको थियो।
प्रतिनिधि सभाको निर्वाचनका बेला पूर्वमाओवादी तथा पूर्वएमाले नेता प्रभु साहको समूहमा रहेका किरणकुमार साहले रौतहट २ बाट प्रतिनिधि सभाको निर्वाचन जिते। चुनावी जितपछि एमालेमा लागेका साहले एमालेकै भागमा परेको महिला तथा सामाजिक मामिला समितिको नेतृत्व गर्ने भएका हुन्।
माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी विमला सुवेदीले कानुन समिमित नेतृत्व गर्दैछिन्। सुवेदी संविधान सभा सदस्य हुन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका जनमतका सांसद अब्दुल खान र रास्वपाका सांसद गणेश पराजुली दुबै जनाका लागि प्रतिनिधि सभा नौलो हो। गठबन्धनको भागबण्डा अनुसार भए खानले जित्नेछन्। रास्वपाले शीर्ष नेताहरुको बैठकमा आफ्नो पार्टीका नेतालाई सहभागी नगराएको भन्दै असन्तुष्टि जनाउने गरेको थियो। सत्ता गठबन्धनसँग सहकार्य नगरेका कारण रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल भए पनि समितिको नेतृत्वबाट बन्चित हुने लगभग पक्का छ।
पुराना सांसदले हाँक्ने छन् यी समिति
पटक-पटक सांसद भएकी आरजु राणा देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी पनि हुन्। आरजुले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति हाक्ने छिन्। बेला-बेला विवादमा आइरहने आरजुलाई समानुपातिकबाट सांसद बनाएपछि कांग्रेसभित्रै आलोचना भएको थियो। अहिले उनले समितिको नेतृत्व पाएकी हुन्।
कांग्रेस नेता रामहरि खतिवडा संसदीय राजनीतिमा नयाँ अनुहार हैन। खतिवडा २०७० को संविधान सभा सदस्य निर्वाचनमा ओखलढुंगा २ बाट निर्वाचित भएका थिए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएर प्रतिनिधि सभा सदस्य बनेका खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व पाएका छन्।
तत्कालीन मधेसी जनाधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका राजकिशोर यादवको संसदमा तेस्रोपटकको प्रतिनिधित्व हो। यादवले प्रमुख दलका शीर्ष नेता रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति नेतृत्व गर्दैछन्। २०७९ मा यादव सिरहा २ बाट निर्वाचित भएका हुन्।
२०७० को संविधान सभा सदस्य निर्वाचनमा मोरङ-१ बाट निर्वाचित भएका एमाले नेता ऋषिकेश पोखरेल पनि संसदका लागि पुरानै हुन्। उनी यसपटक मोरङ-२ बाट निर्वाचित भएका थिए। एमालेले पाएको लेखा समिति अब पोखरेलले हाक्ने भएका हुन्। २०५१, २०६४, २०७९ गरी पटक/पटक बझाङबाट चुनाव जित्दै आएका एकीकृत समाजवादीका नेता भानुभक्त जोशी पनि संसद्का लागि अनुभवी हुन्। उनले अब शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको जिम्मेवारी पाउने भएका छन्।