
काठमाडौं। तमोर-मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गर्ने तयारी भएको छ। १२८ मेगावाटको उक्त आयोजनाको दर तय गरेर नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा अन्तिम स्वीकृतिका लागि पठाएको थियो।
आयोगले सार्वजनिक सुनुवाई गरेर पीपीएमा सहमति दिने तयारी गरेको हो। भदौ २९ गते शुक्रबार सार्वजनिक सुनुवाई गर्ने तयारी छ। बर्खायाममा ४.८० रुपैयाँ र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गर्न लागिएको छ।
प्रस्तावित आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक लिमिटेडले निर्माण गर्न लागेको हो। यो नदी प्रवाहमा आधारित आयोजना हो। आयोजना ताप्लेजुङको आठराई-त्रिवेणी गाउँपालिका र फुङलिङ गाउँपालिकामा पर्छ।
यो आयोजनाले वार्षिक सरदर ७११.४३ गिगावाट घण्टा बिजुली उत्पादन गर्न सक्छ। आयोजना निर्माणका लागि २४ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान छ।
दुई नदीको पानी मिसाएर एउटै आयोजना निर्माण गर्न लागिएको हो।
आयोजनामा मेवा खोलाको पानीलाई मेवा किनारको माटे भन्ने ठाउँबाट २.५ किलोमिटर लामो सुरुङबाट तमोर नदीको भन्ज्याङ भन्ने ठाउँमा खसाइनेछ। भन्ज्याङभन्दा तल नाङ्गो भन्ने ठाउँबाट ४ हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ११६ मिटरको हेडबाट गुहेली भन्ने ठाउँमा पानी खसाएर १२८ मेगावाट विद्युत उत्पादन गरिने छ।
आयोजनाको भूमिगत विद्युतगृहमा ४२.६ मेगावाटका ३ वटा टर्बाइन राखेर विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ। सुरुमा २०८३ मै उत्पादनको लक्ष्य राखिएको आयोजना केही ढिला भएको छ।
पीपीए भएपछि फाइनान्सियल क्लोजर गरेर बाँकी निर्माणको प्रक्रिया सुरु गर्न सहज हुनेछ।