माण्डू हाइड्रोपावरले आइपीओ ल्यायो, प्रिमियम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ

बिजमाण्डू
२०८० भदौ १० गते १०:२३ | Aug 27, 2023
माण्डू हाइड्रोपावरले आइपीओ ल्यायो, प्रिमियम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ

काठमाडौं। माण्डू हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन तथा बिक्रीका लागि आवेदन खुलाएको छ। साधारण सेयर जारी गर्ने दोस्रो चरणमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ खुलाएको थियो। दोस्रो चरणमा सर्वसाधारणमा साधारण सेयरको बिक्री खुला गरेको हो।

जारी पुँजी १ अर्ब ३६ करोड रहेको कम्पनीले सर्वसाधारणका लागि त्यसको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७०  कित्ता साधारण सेयर निष्कासन गरेको छ। उक्त सेयरको १० प्रतिशतले हुन आउने १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता सेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएकालाई बिक्री गरेको छ।

यस्तै कम्पनीले २८ हजार ८५३ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र सामूहिक लगानी कोषका लागि ७२ हजार १३३ कित्ता सेयर बिक्री गरि बाँटफाँट समेत गरेको छ।

आयोजना प्रभावित क्षेत्रमा बिक्री नभइ बाँकी रहेको ७९ हजार ३० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता सेयरको बिक्री खुलाएको छ। सेयरका लागि आइतबादेखि आवेदन खुला भएको छ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ६ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १०६ रुपैयाँका दरले सेयर बिक्री गर्ने भएको हो। सर्वसाधारण लगानीकर्ताले १०६ रुपैयाँका दरले कम्पनीको आइपीओ खरिदका लागि आवेदन बुझाउन सक्छन्।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ। उक्त सेयरमा लगानीकर्ताहरुले भदौ १३ गते सम्म आवेदन दिन पाउने छन्। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरे कम्पनीले आइपीओ बिक्रीको म्याद २४ गतेसम्म थप गर्ने योजना छ।

धितोपत्र निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले माण्डू हाइड्रोपावरलाई इक्राएनपी इस्यूअर रेटिङ ‘ट्रिपल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले मकवानपुर र ललितपुर भएर बग्ने वाग्मती नदीको पानी उपयोग गरेर २२.९४ मेगावाट क्षमताको साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको लागत ४ अर्ब १ करोड ९४ लाख छ।

कम्पनीले गत आर्थिक वर्ष २ करोड ७१ लाख सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस्तै उक्त अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी २६.२० रुपैयाँ र नेटवर्थ १२२.२६ रुपैयाँ हुने प्रक्षेपण छ।

यो कम्पनीले तुँदी पावर कम्पनीमा ४० करोड लगानी गरेको छ। कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा दुईवटा आयोजनाहरु संचालन गरिरहेको छ। ३५.५ मेगावाटको मगंले जलविद्युत र ४८.५ मेगावाटको माथिल्लो रहुघाट आयोजना प्रवर्द्धन गरिरहेको छ।

दुई आयोजनामध्ये मंगलेको कुल लागत ६ अर्ब ५८ करोड छ। ४८.५ मेगावाटको रहुघाट आयोजनाको कुल लागत ८ अर्ब ३० करोड छ।

कम्पनीले आइपीओ निष्कासन तथा बिक्रीबाट प्राप्त गरेको पुँजी तुँदी पावर कम्पनीमा गरेको ४० करोड ऋण तथा बैंकबाट लिएको दीर्घकालीन कर्जा भुक्तानीमा खर्च गर्ने छ।