
प्रधानमन्त्री र सांसदहरुबीच संसद्मा भदौ १२ गते प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बिहिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीचको प्रश्नोत्तरको समय तोकेका हुन्।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरुले भदौ ८ गते अपराह्न ३ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई लिखितरुपमा प्रश्न बुझाउनुपर्नेछ। यसपालि समूह २ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउने छन्। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने प्रयोजनका लागि सांसदहरुको समूह विभाजन यसअघि नै गरिएको थियो।
प्रधानमन्त्री दाहाल र सांसदहरुबीच यसअघि असार ८ गते प्रश्नोत्तर भएको थियो। प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिना १५ सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने व्यवस्था छ ।
सभामुख घिमिरेले संसदीय समितिहरुको निर्वाचन भदौ ११ गते अपराह्न ३ बजे गर्ने घोषणा गर्दै प्रतिनिधि सभाको बैठक भदौ १२ गते बस्ने गरी स्थगित गरेका छन्।