व्यापारीले दुई दिनदेखि कालीमाटीमा ल्याएनन् प्याज, भारतले निर्यात कर लगाएपछि कालोबजारी बढ्यो

बिजमाण्डू
२०८० भदौ ६ गते १५:३९ | Aug 23, 2023
व्यापारीले दुई दिनदेखि कालीमाटीमा ल्याएनन् प्याज, भारतले निर्यात कर लगाएपछि कालोबजारी बढ्यो


काठमाडौं | भारतले प्याजमा निर्यात कर लगाएपछि नेपाली बजारमा त्यसको असर देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्।

Tata
GBIME

कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मंगलबार प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उनले भने।

कालीमाटी आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकोमा भारत सरकारले गत शनिबारदेखि  ४० प्रतिशत निर्यात कर लगाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठले बताए।

बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ।

‘भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ,’ उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।’

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ।

पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ। थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ।

कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए।

‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौं। आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ’, उनले भने,’अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौं। व्यापारीले प्रतिकिलो ४८ रुपैयाँ मा किनेको प्याज ६८ देखि ७० रुपैयाँसम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ।’

यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए। विभागले बजार अनुगमनका क्रममा सोमबार तीनजना व्यापारीलाई जनही २० हजार रुपैयाँ र दुईजना व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो। चारजना आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो।

त्यस्तै, मंगलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो।

भारतले प्याजको निर्यातमा भन्सार कर लगाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो।

भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० सम्म बढेर ८० रुपैयाँ पुगेको थियो। तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँसम्मले घटे पनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन।