
भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ। भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थमन्त्रालयले यस्तो निर्णय गरेको हो।
शनिबार सूचना जारी गर्दै भारतको अर्थमन्त्रालयले उक्त कर तत्काल लागू हुने जनाएको छ। यसबाट घरेलु बजारमा बढ्दो प्याजको मूल्यबृद्धिलाई नियन्त्रणमा राख्न सकिने र आन्तरिक बजारमा सहज आपूर्ति गर्न मद्दत पुग्ने बताइएको छ। यो नियम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहनेछ।
जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च बृद्धि भएपछि सरकारलाई मूल्य बृद्धि नियन्त्रणका लागि एक्सन लिनुपर्ने दबाबका बीच प्याजको निर्यात कर उच्च बनाइएको हो। भारतीय भान्छामा प्याजको अधिक प्रयोग हुने गर्छ।
‘निर्यात कर बढाइदिँदा भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महंगो पर्न जान्छ। यसले भारतबाट निर्यातको संभावनालाई घटाउँदै लैजान्छ र स्थानीय बजारमा प्याजको मूल्य घटाउन मद्दत पुग्छ।’- मुम्बईस्थित प्याज निर्यातकर्ता अजित शाहले भने।
मोदी सरकारको यो निर्णयसँगै प्याज निर्यात गर्ने व्यापारीहरुले ४० प्रतिशत कर तिनुपर्ने हुन्छ। अथार्त अब भारतबाट एक लाख रुपैयाँको प्याज निर्यात गर्नेले ४० हजार रुपैयाँ कर नै तिर्नुपर्ने हुन्छ। यसले भारतबाट प्याज आयात गर्ने देशमा भाउ बढ्ने निश्चित छ। भारत विश्वमा प्याज निर्यात गर्ने सबैभन्दा ठूलो देशमध्ये पर्छ तर भारतीय बजारमै प्याजको मूल्य बृद्धि भएपछि सरकारले यस्तो कर लगाएर निर्यात निरुत्साहित गर्न लागेको हो।
भारतमा जुलाईदेखि अगस्टसम्मको अवधिमा मात्रै प्रमुख बजारहरुमा औसत थोक मूल्यमा करिब २० प्रतिशतले मूल्य बृद्धि भैसकेको छ।
यतिबेला भारतमा १०० केजी प्याजको मूल्य २ हजार ४०० भारतीय रुपैयाँ पुगेको छ। गत वर्षको अगस्टमा प्याज प्रतिकिलो दुई रुपैयाँम बिक्री भएकोमा यो वर्षको अगस्टमा प्रतिकिलो थोक मूल्य औसतमा २९ रुपैयाँ पुगेको थियो। वर्षातका कारण उत्पादनमा कमी, प्याज बिग्रनु र सडकमार्ग बन्द हुँदा आपूर्ति कम हुनुले पछिल्लो समय भारतमा गोलभेडा जस्तै प्याजको मूल्य पनि बढ्दै गइरहेको छ।
सरकारका अनुसार हाल भारतमा ३ लाख टन प्याज ‘स्टक’मा छ। सेप्टेम्बरमा प्याजको मूल्य प्रतिकिलो ६० रुपैयाँ देखि ७० भारतीय रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
खण्डबृष्टिका कारण प्याजको उत्पादन आगामी दिनमा अझ प्रभावित हुने अनुमान गरिएको छ। भारतमा अगस्ट महिना सबैभन्दा सुख्खा महिनाको रुपमा हो जुनबेला धेरै भूभागमा पानी पर्दैन। सुख्खा महिनामा प्याज चाँडै कुहिने र नयाँ उत्पादन आउन पनि समय लाग्ने भएकाले भाउ महंगो हुन्छ। प्याजको सबैभन्दा बढी उत्पादन गर्ने महाराष्ट्रमा प्याज चाँडै पाकेपछि किसानलाई घाटा भएको छ। स्थानीय बजारमा नै प्याज महंगो हुने हुँदा सरकारले मूल्य नियन्त्रणका लागि उच्च कर लगाउने निर्णय गरेको हो।
सन् २०२३ को पहिलो ६ महिनामा मात्रै प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ। त्यसैले पनि भारत सरकार प्याजको निर्यात घटाउने मुडमा पुगेको हो। गत महिनामात्रै भारतले बासमती बाहेकका अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ।
नेपाल, बंगलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलंकाका तरकारी बजारहरु भारतीय प्याजमा अधिकमात्रामा निर्भर छन्। भारतको यस निर्णयले नेपाल लगायत ती देशहरुमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ।
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ भारतमा प्याजको निर्यात कर बढ्दा निश्चित रुपमै नेपालमा महंगो हुने बताउँछन्। उनका अनुसार हाल नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ। सिजनल मात्र घरेलु उत्पादन हुने भएकाले नेपाली भान्छा भारतीय प्याजमा नै निर्भर रहँदै आएको छ।
‘हाम्रो भान्छामा खपत हुने ९९ प्रतिशत प्याज भारतबाटै आयात हुने भएकाले यो निर्णयले नेपाल प्रभावित हुन्छ। आज लोड भएर आउँदा प्याज भोलिसम्म आइपुग्ने भएकाले तत्काल बढिसकेको भने छैन। बढि करसहितको लट आइपुग्दा महंगिएर आउँछ।’- उनले भने।
चीनबाट केही मात्रामा प्याज आएपनि नेपाली उपभोक्ताले चिनियाँ प्याज खासै नरुचाएको उनले बताए।
‘भारतीय प्याज महंगो भएपछि बिकल्प खोज्न त सकिन्छ। तर यसको प्रक्रिया र बाटो लामो भएकाले तत्काल महंगै भएपनि भारतीय प्याज उपभोग गर्नुपर्ने बाध्यता हुन्छ। फेरि ग्राहकको प्रिफरेन्सको पनि कुरा आयो।’- उनले भने।
उनका अनुसार चाइनिज प्याजको स्वाद केही फरक, बढी पानी बोक्ने तथा दाना धेरै ठूलो हुने भएकाले उपभोक्ताले यसअघि पनि त्यति रुचाएका थिएनन्।
आज कालीमाटी तरकारी बजारमा एक किलो प्याजको औसत मूल्य ६१ रुपैयाँ पर्छ। थप निर्यात कर लागेर आउँदा त्यसै अनुसारले मूल्य बढ्ने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।