
काठमाडौं। काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी नजिकै सडकबाट त्रिशूली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार नदीबाट ८ जनाको शव निकालिएको छ।
बसमा सवारमध्ये १७ जना घाइते छन्। उद्धार गरिएका १३ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। ४ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
बस नदीमा डुबेकाले यात्रुलाई बगाएको आशंकामा गोताखोरको टोलीले खोजी गरिरहेको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ।