हट एयर बेलुन पुनः संचालनमा आउँदै, सेप्टेम्बरदेखि उडानमा दुई बेलुन

बिजमाण्डू
२०८० भदौ ५ गते १२:४१ | Aug 22, 2023
हट एयर बेलुन पुनः संचालनमा आउँदै, सेप्टेम्बरदेखि उडानमा दुई बेलुन


काठमाडौं। बर्खाका कारण सेवा बन्द रहेको हट एयर बेलुन तीन महिनापछि पुनः सञ्चालनमा आउने भएको छ। भदौ १५ (सेप्टेम्बर १) बाट यो साहसीक खेल पुनः संचालनमा ल्याइने बेलुन नेपालका अध्यक्ष विक्रम बादेले बताए।

Tata
GBIME

यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेबरबाट उडानमा दुईवटा बेलुन प्रयोग गर्ने जानकारी उनले दिए। ‘यो साहसिक खेल नै हो । हाम्रो हट एयर बलुनमा उड्न पर्यटकले मन पराएका छन्,’ अध्यक्ष बादेले भने,’मनसुन सकिएलगत्तै पर्यटकको मागअनुसार दुईवटा बेलुनमार्फत सेवा दिन्छौं।’

हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन्। पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९,५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क लिने गरिएको जानकारी उनले दिए।    

करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए। कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको उन बताए।

बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ।

प्याकेजमार्फत पर्यटकले ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसअन्तर्गत बेलुन रिजर्भ गर्ने इच्छुकका लागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ शुल्क छ।