
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु संसद् सञ्चालन गर्ने सहमतिको करिब-करिब नजिक पुगेको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न शितल निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आफूहरु संसद् सञ्चालन गर्नको लागि निरन्तर छलफलमा रहेको भन्दै सहमतिको नजिक पुगेको बताए। उनले संसद् सञ्चालन गर्न र दलहरुबीच समझदारी बनाउन राष्ट्रपतिको शुभेच्छा अत्यन्तै सकारात्मक भएको समेत उल्लेख गरे।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ। यसमा कसैले विमति राख्नुपर्ने कारण छैन,’ उनले भने।