
रसुवा। नेपालको उत्तरी नाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ।
२ किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकाशी-१ बगाम घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे बस्दै आएका ३० वर्षका फुसाङ्वो शेर्पा पनि पक्राउ परेका छन्।
मेटालर वान केजी गोल्ड लेखिएको एक/एक केजीका दुई डल्ला रहेको र सुनको बजार मूल्य भने १ करोड ८९ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको सुन परीक्षण गर्न र अवैध क्रियाकलाप गर्ने २ जना उपर कानूनी कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग काठमाडौंमा पठाइएको बताइएको छ। रासस