मारवाडीविरुद्ध घृणाको व्यापार: ‘भयको राज’ले निम्त्याउँदै व्यावसायिक अस्थिरता

विज्ञान अधिकारी
२०८० भदौ ३ गते १८:५८ | Aug 20, 2023
मारवाडीविरुद्ध घृणाको व्यापार: ‘भयको राज’ले निम्त्याउँदै व्यावसायिक अस्थिरता


काठमाडौं। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको जर्मनीको फ्र्याङफर्टमा आधा दर्जन भन्दा धेरै होटल छन्। रसियाबाट व्यवसाय ‘सिफ्ट’ गरेर जर्मनको हस्पिटालिटी क्षेत्रमा जम्नुअघि जीवाको पृष्ठभूमिले संघर्षको फरक कथा बोल्छ।

Tata
GBIME

इन्जिनियरिङ अध्ययन संस्थानबाट सिभिल संकायको प्रविणता प्रमाणपत्र तहमा प्रथम श्रेणी हासिल गरेपछि २०४३ साल (सन् १९८६) मा नेपाल सरकारबाट छात्रवृत्ति पाएर तत्कालीन सोभियत संघ (युएसएसआर) गएका थिए उनी।

एक वर्ष रसियन भाषा पढेपछि मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङ (मिसी)मा अध्ययन थालेका उनले सन् १९९२ स्नातकोत्तर पूरा गरे। जतिखेर उनले स्नातकोत्तर गरे त्यतिखेर सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचोभले उदार अर्थतन्त्र र पुनर्निर्माणलाई अघि बढाइरहेका थिए।

 त्यही खुला बजारको मौकालाई ‘क्यास’ गर्दै लामिछानेले सन् १९९२ मा रसियामा नै ग्रोसरी खोले। त्यसपछि क्याफे र मस्कोमा इलेक्ट्रोनिक्स सामानको कारोबार थाले। ‘आइसोलेट’ अर्थतन्त्रबाट खुला बजारमा प्रवेश गरेपछि विदेशी बस्तुको बिक्री ह्वात्तै बढ्यो। ठिक त्यही समयमा सोनी, पानासोनिक, क्यानन, निकोन लगायत चर्चित इलेक्ट्रोनिक्स कम्पनीका आधिकारिक बिक्रेता बनेर जीवाले आफ्नो व्यावसायलाई विस्तार गरे।

जीवाको लगानी युरोपमा मात्र रोकिएन। उनले विदेशमा कमाएको रकमको ठूलो हिस्सा नेपाल भित्र्याए। नेपालमा होटलदेखि बैंक तथा वित्तीय संस्था, जलविद्युतदेखि संचारसम्मका क्षेत्रमा उनले लगानी गरिरहेका छन्।

त्यसैको जगमा लामिछाने मस्कोका गिनेचुने थोरै व्यापारीको सूचीमा अटाउन पुगे। त्यहीँ उनले आर्थिक साम्राज्य विस्तार गरे। केही वर्षयता उनले रसियाबाट आफ्नो व्यापारलाई युरोपतिर केन्द्रिकृत गर्दै आएका छन्।

युरोपको हस्पिटालिटी क्षेत्रमा उनको लगानी आक्रामक हिसाबले बढिरहेको छ। जीवाको लगानी युरोपमा मात्र रोकिएन। उनले विदेशमा कमाएको रकमको ठूलो हिस्सा नेपाल भित्र्याए। नेपालमा होटलदेखि बैंक तथा वित्तीय संस्था, जलविद्युतदेखि संचारसम्मका क्षेत्रमा उनले लगानी गरिरहेका छन्।

+++

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेको कथा पनि जीवाको जस्तै छ। २०३० सालमा लमजुङबाट एसएलसी गरेका घले तत्कालिन सोभियत संघको खार्कोभ (हाल युक्रेन) बाट सडक इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्किएका थिए।

सन् १९८७ मा नेपाल फर्किएका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले। सबै कुरा ठीकठाक चलिरहेकै थियो। जागिरलाई निरन्तरता दिएको भए उनी सडक विभागको महानिर्देशक हुँदै सचिव पनि हुनसक्थे। तर जागिरको तीन वर्षपछि काठमाडौंको एउटा कार्यक्रमले उनको बाटो मोडियो। एभरेस्ट होटलमा एजुकेसनल फेयर हेर्न गएका उनलाई मेलबर्नको ठूलो तस्बिरले तान्यो। उनी अष्ट्रेलिया जान तयार भए। जोडेको जग्गा जमिन बेचे। नेपालबाट मेलबर्नको यात्रा सुरु भयो।

मेलबर्नमा उनी सातै दिन घोटिएर काम गर्थे। कलेजमा नियमित विद्यार्थी पनि थिए। एमबीए पूरा गरेपछि पढाइअनुसारको काम पनि पाए। तर त्यतिमै उनी सीमित हुन चाहेनन्। उनी थप कमाइ हुने भएपछि फलफूल टिप्‍न टाढाटाढासम्म पनि पुग्थे।

 जीवाको जस्तै उनको पनि लगानी अस्ट्रेलियामा मात्र सीमित रहेन। अहिले उनले नेपालमा केशरमहल नजिकै झण्डै १३ अर्ब लगानी गरेर शेराटन होटल निर्माण गरिरहेका छन्। अन्य क्षेत्रमा पनि उनको लगानी छ।

सन् १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीलाई परमानेन्ट रेसिडेन्ट (पीआर) दिने योजना ल्यायो। शेषले त्यसमा सहभागिता जनाए। सन् १९९७ मा अष्ट्रेलिया उनको स्थायी पीआरको मुकाम बन्यो। दिनरात मेहनत गरिरहेका उनले पीआर लिएको पाँच वर्षपछि सन् २००२ मा बन्द भएको कलेज किने।

उनको व्यावसायिक यात्राको खुड्किलो त्यहीँबाट सुरु भयो। उनले त्यहीँ ‘रियल स्टेट’मा पनि लगानी गरे। अस्ट्रेलियाको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक घलेले तीब्र गतिमा व्यावसायिक सफलता हासिल गरे। पछिल्लो समय शेष र उनकी श्रीमती जमुना अष्ट्रेलियाका सबैभन्दा धनीको सय जनाको सूचीभित्र लगातार अटाइरहेका छन्।

जीवाको जस्तै उनको पनि लगानी अस्ट्रेलियामा मात्र सीमित रहेन। अहिले उनले नेपालमा केशरमहल नजिकै झण्डै १३ अर्ब लगानी गरेर शेराटन होटल निर्माण गरिरहेका छन्। अन्य क्षेत्रमा पनि उनको लगानी छ।

+++

उस्तै कथा छ रामलाल गोल्छाको पनि। सन् १९२१ मा जुटको व्यापार गर्न विराटनगर आएका थिए रामलाल। मोरङको देवानगंज आएका गोल्छाले किसानसँग जुट किनेर भारतको फारबिसगंज पुर्‍याएर बिक्री गर्थे।

पाँच हजार रुपैयाँबाट व्यापार थालेका रामलालले नेपालमै पहिलो जुट मिल खोले। जुट उद्योगबाट सुरु भएको गोल्छा समूह अहिले देशकै ठूलो व्यावसायिक घरानामा गनिन्छ। व्यापार र उद्योग सबैतिर गोल्छा समूहको सक्रियता लोभलाग्दो छ।

गोल्छामात्रै होइन, अहिले डलर अर्बपतिको सूचीमा रहेका विनोद चौधरीको चौधरी समूहको कथा पनि यस्तै छ। खेतान समूह, मुरारका समूह, शारडा समूह, विशाल ग्रुप, संघई समूह, शंकर समूह लगायतले कपडा, खाद्यान्न लगायतको सानो व्यापारबाटै अर्बौको व्यावसायिक दायराको विस्तार गरेका छन्

तर जब मारवाडी समुदायका नाति पुस्ताको सन्दर्भ उठ्छ – नेपाली समाज असंवेदनशील बन्दै गइरहेको देख्‍न सकिन्छ।

विराटनगर जुट मिल र रामलाल गोल्छा। तस्विर सौजन्य : गोल्छा ग्रुप

राजस्थानको मारवाडी समूदाय नेपालमा आएर व्यावसायिक जग हालेसँगै यहाँको अर्थतन्त्र चलायमान हुन थाल्यो। हजुरबुवाको पुस्ताले खडा गरेको व्यावसायिक जगलाई अहिले नाति पुस्ताले हाँकिरहेको छ।

‌ +++

नेपालबाट विदेश पुगेर व्यावसायिक विरासत धानेका जीवा र शेषका संघर्षभन्दा फरक छैन गोल्छादेखि गोल्यानसम्मका मारवाडी समुदायको। तर पछिल्लो समय उनीहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार असमान हुन थालेका छन्।

नेपालमा लामिछाने र घलेले व्यापार गर्दा हिनताबोध गर्नुपरेको छैन। उनीहरुले जहाँजहाँ हात हालेका छन्, त्यहाँ उनीहरुको व्यावसायिक पहिचान बनेको छ। यी दुवैलाई जाति वा भूगोलका दृष्टिकोणबाट कसैले व्याख्या गर्दैनन्।

तर जब मारवाडी समुदायका नाति पुस्ताको सन्दर्भ उठ्छ – नेपाली समाज असंवेदनशील बन्दै गइरहेको देख्‍न सकिन्छ। उनीहरुप्रति घृणाको अभिव्यक्ति सामान्य हुन थालेको छ। केही व्यक्ति र समूह यसखाले घृणा फैलाउन उद्दत छन्। त्यसको नेतृत्वमा छन् व्यावसायी दुर्गा प्रसाई।

प्रसाईले ५५ जना मारवाडीले देशको साधनस्रोत कब्जा गरेर देशलाई टाट उल्टाएको आक्षेप लगाउँदै जातीय घृणा फैलाइरहेका छन्। सोसल मिडियाका सम्वाहकमार्फत् उनका ‘राष्ट्रवादी अभिव्यक्ति’ घरघरमा पुगेका छन्। 

सबैखाले सोसल मिडियाबाट प्रवाह भइरहेका प्रसाईका यसखाले अभिव्यक्तिले सिंगो समुदायप्रति नकारात्मक ‘इमेज’ तयार गरिरहेको छ। नेपालमा वर्षौदेखि रगत र पसिना खर्चिएका व्यापारीलाई ‘अपराधी’ ठहर्‍याउँदै नश्लवादी उनका चिन्तन यतिखेर भाइरल भइरहेका छन् जसले जीवा र शेषजस्तै व्यावसायिक विस्तार गरेर मुलुकमा कर बुझाउने समूदाय भयपूर्ण अवस्थाबाट गुज्रिरहेको छ।

घृणाको व्यापार यसरी नै मौलाउने हो भने मुलुकभित्र उद्यमशीलता विकास गर्ने व्यवसायी ‘अराष्ट्रिय’ हुने निश्चित छ। नीति निर्माण गर्ने संसदमा समेत मारवाडी व्यावसायीमाथि सोझै लाञ्छना लगाउँदै ‘राष्ट्रवादी’ बन्ने होड सुरु भइसकेको छ।

तस्विर : नवलपुरासीमा गोल्छा ग्रुपको बजाज युनिट

एकातिर मारवाडी समुदायविरुद्ध विषवमन गर्ने दुर्गा प्रसाईको चर्को तारिफ चाहिँ हुने गरेको छ –  साउदीका राजकुमारमार्फत् नेपालमा लगानी भित्र्याउने विषयलाई लिएर। प्रत्यक्ष विपरीत धारका यस्ता उनका गतिविधि दुवै वाहवाहीको विषय बन्नु आफैँमा दुर्भाग्यपूर्ण मान्न सकिन्छ।  

‌ +++

नेपालको सन्दर्भमा ‘राष्ट्रवाद’ सधैं राजनीतिक हतियारका रुपमा प्रयोग हुँदै आएको थियो। अबको भय चाहिँ यही विषय अब घृणा फैलाउनका लागि प्रयोग भइरहेकोमा हो।

घृणाको व्यापार यसरी नै मौलाउने हो भने मुलुकभित्र उद्यमशीलता विकास गर्ने व्यवसायी ‘अराष्ट्रिय’ हुने निश्चित छ। व्यावसायिक प्रतिस्पर्धामा राष्ट्रियताको कार्ड र घृणाको राजनीतिलाई निस्तेज पार्नुपर्ने जिम्मेवारीमा रहेको राज्य संयन्त्र यस विषयमा मौनमात्र देखिएको छैन, कतिपय ठाउँमा आफैँ ‘क्रान्तिकारी’ देखिने होडमा उभिएको प्रतीत हुन्छ। नीति निर्माण गर्ने संसदमा समेत मारवाडी व्यावसायीमाथि सोझै लाञ्छना लगाउँदै ‘राष्ट्रवादी’ बन्ने होड सुरु भइसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई ‘राष्ट्रवादी’ सिद्ध गराउन सांसद हुनुअघि आपत्तिजनक मन्तव्य दिन्थे। घृणाजन्य अभिव्यक्तिकै बलमा प्रतिनिधिसभामा पुगेका उनी अहिले भने मारवाडी समुदायविरुद्ध थप आक्रामक देखिएका छन्।

विरोधाभाषपूर्ण परिदृश्यहरु उनका अभिव्यक्तिमार्फत् व्यक्त भएका छन्। शाही आफूलाई राजसंस्थाको प्रवर्द्धकका रुपमा उभ्याउँछन्। त्यही राजसंस्थाले मुलुकको आर्थिक गति चलायमान बनाउन मारवाडी भित्र्याएको थियो। तिनै मारवाडीविरुद्ध अभिव्यक्ति दिइरहेका छन् उनले। शाहीले ‘राष्ट्रवादी’ बन्ने होडमा राजा महेन्द्रले ७० वर्षअघि प्रीतम सिंहलाई नेपालमा व्यापार गर्न भित्र्याएको भुलेका छन्। 

नेपालमा मारवाडी र गैर मारवाडी व्यावसायीबीच नङमासुको सम्बन्ध रहँदै आएको छ। कुनै एउटा मारवाडी बिग्रिँदा अर्को गैर मारवाडीको व्यवसाय तहसनहस भएर सडकमा आउने अवस्था हुन्छ। त्यस्ता धेरै उद्योग व्यावसायमा मारवाडी र गैर मारवाडीको संयुक्त लगानी पनि छ।

आफ्नो व्यापार छाडेर सस्तो लोकप्रियतामा रमाएका व्यवसायी प्रसाईको जस्तै छ सांसद शाहीको अभिव्यक्ति। घृणाको व्यापारमा यसरी व्यावसायी र सांसद नै सक्रिय हुन्छन् भने परिस्थितिले कुन मोड लेला?

+++

माथि उल्लेख गरिएका जीवा लामिछाने र शेष घलेका व्यावसायिक सफलताका कथालाई एकैछिन स्मरण गरौं।

प्रसाई र शाहीले जस्तै रसिया, जर्मनी वा अस्ट्रेलियाका व्यवसायी र सांसदले नश्लवादी चिन्तन लिएका भए के हुन्थ्यो? हामीसामु गर्व गर्न सकिने उनीहरुको व्यावसायिक उदयको लोभलाग्दो कथा हुने थियो त?

हरेक दश वर्षमा नेपालको राजनीतिले कोल्टे फेर्दै आइरहेको छ। यतिखेर राजनीतिमा कोल्टे फेर्ने विषय कमजोर हुँदा आर्थिक विषय घानमा तानिँदै गरेको बुझ्न कठिन छैन। जातीय हिसाबमा पूर्वी नेपालमा एकखाले संघर्ष चलिरहेकै छ। ठिक त्यही समयमा निसानामा मारवाडी व्यवसायी परिरहेका छन्। मुलुकलाई थप संकटतिर धकेल्नका लागि तयार भएको ‘प्लट’कै सिलसिला त होइन घृणाको यसखाले खेल?

आधारहीन र तथ्यहीन तथ्यांककै आडमा यसखाले अभियानमा मलजल गर्ने काम खुला र परोक्ष रुपमा भइरहेको छ। मुलुकका उद्योगी व्यवसायभित्र मारवाडी र गैर मारवाडीबिच फाटो ल्याउने प्रयास यही अस्थिरता रोज्नेहरुको ‘प्लट’कै हिस्सा होइन भन्न सकिने आधार छैन।

उद्यम व्यवसायमा रमाएका सबैले बुझेको यथार्थ हो – मारवाडीलाई सक्काउँदा अरु बाँकी टिक्न सक्ने अवस्था हुँदैन। किनकि उनीहरु सबै व्यावसायिक धर्मले जोडिएका छन्, जातीय एकताले होइन।

अनुज अग्रवाल, शेखर गोल्छा र पशुपति मुरारका

नेपालमा मारवाडी र गैर मारवाडी व्यावसायीबीच नङमासुको सम्बन्ध रहँदै आएको छ। औद्योगिक र व्यावसायिक नातामा सबै जोडिएकै छन्। कुनै एउटा मारवाडी बिग्रिँदा अर्को गैर मारवाडीको व्यवसाय तहसनहस भएर सडकमा आउने अवस्था हुन्छ। त्यस्ता धेरै उद्योग व्यावसायमा मारवाडी र गैर मारवाडीको संयुक्त लगानी पनि छ।

उदाहरणका लागि हरि न्यौपानेको अम्बे समूह र शंकर समूहको सिमेन्ट संयुक्त लगानीमा चलिरहेको छ। शंकर समूह र दीपक भट्टको इन्फिनिटी होल्डिङले होटल, बीमा, डन्डी उद्योगमा साझेदारी गरिरहेका छन्। विशाल समूह र आईएमई समूहको साझेदारीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकदेखि बीमा समूहमा संयुक्त लगानी छ।

अर्बपति व्यापारी विनोद चौधरी र एनई समूहका रविभक्त श्रेष्ठको होटलमा संयुक्त लगानी छ। यसखाले नङमासु सम्बन्धलाई खल्बल्याएर आर्थिक रुपान्तरणको नारा दिवा सपनाभन्दा बढी हुनै सक्दैन।

केही निश्चित स्वार्थ बोकेका र व्यावसाय नभएका व्यापारीबाहेक अरु व्यवसायीले मारवाडी र गैर मारवाडीको विभाजन खोजेका पनि छैनन्। उद्यम व्यवसायमा रमाएका सबैले बुझेको यथार्थ हो – मारवाडीलाई सक्काउँदा अरु बाँकी टिक्न सक्ने अवस्था हुँदैन। किनकि उनीहरु सबै व्यावसायिक धर्मले जोडिएका छन्, जातीय एकताले होइन। यसखाले सम्बन्धलाई भत्काएर तयार हुने जगले घृणाकै उत्पादन र प्रवर्द्धनबाहेक केही पनि गर्न सक्दैन।

घृणाको व्यापारले कुनै पनि मुलुक समृद्ध बनेको उदाहरण छैन। व्यावसायीलाई त्रसित पार्ने नश्लवादी दृष्टिकोणप्रति सरकारको मौनता पनि उत्तिकै डरलाग्दो छ।

फाइल फोटो : २०७९ पुसमा प्रधानमन्त्री प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल

यसले संकटमा रहेको अर्थतन्त्रलाई थप उधो गतितिर धकेल्नेमात्र होइन, मुलुकको व्यावसायिक स्वतन्त्रतालाई समाप्त पर्ने निश्चित छ। व्यावसायिक वातावरण बिगार्न भइरहेको यसखाले गतिविधि नरोक्ने हो भने हामीसामु गर्व गर्न सकिरहेका जीवा र शेषहरुको कथा पनि यसैगरी कुनै पनि समय ओइलाउन सक्छ।

अथवा उनीहरु नेपाली नै नरहन सक्छन्। यहाँको आर्थिक वातावरण जति धमिलो हुन्छ, त्यति नै पलायनको श्रृङ्खला चलिरहन्छ।

घृणाको व्यापारले कुनै पनि मुलुक समृद्ध बनेको उदाहरण छैन। व्यावसायीलाई त्रसित पार्ने नश्लवादी दृष्टिकोणप्रति सरकारको मौनता पनि उत्तिकै डरलाग्दो छ। सरकारले अराजकताको बढ्दो श्रृङ्खलालाई तत्काल नरोक्ने हो भने आगामी दिनहरु थप कष्टकर हुने निश्चित छ।