सर्वदलीय बैठक निष्कर्षविहीन: सत्तापक्षले अवरोध खुलाउन आग्रह गर्‍यो, एमालेले दोहोर्‍यायो पुरानै माग

बिजमाण्डू
२०८० भदौ ३ गते १६:३३ | Aug 20, 2023
सर्वदलीय बैठक निष्कर्षविहीन: सत्तापक्षले अवरोध खुलाउन आग्रह गर्‍यो, एमालेले दोहोर्‍यायो पुरानै माग


काठमाडौं। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भए पनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी स्थगित भएको छ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो। यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएको थियो।

संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताएका थिए। बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गरेका थिए।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनको अवरोध खुलाउने विषयमा गम्भीर छलफल भए पनि आज कुनै निष्कर्ष निस्कन नसकेको बताए। सभापति लामिछानेका अनुसार आज गम्भीर र एजेण्डा केन्द्रित रहेर छलफल भएको र सम्भवतः सोमबारको बैठकमा सहमति हुने विश्वास व्यक्त गरे।

सदनमा निरन्तर अवरोध हुँदा राष्ट्रिय महत्वका विभिन्न विधेयकमा छलफल हुन नपाएको तथा मुलुकका सामू देखा परेका समस्याका बारेमा समेत सांसदहरुले धारणा राख्न नपाएको भन्दै आफूहरुले तत्काल बैठक चल्नुपर्ने धारणा राखेको लामिछानेको भनाइ थियो।

बैठकमा प्रधानमन्त्रीले राज्यका निकायले गर्ने काममा सबैले साथ र सहयोग गर्नुपर्ने र त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि अर्को समिति तत्काल आवश्यक नपर्ने बताएका थिए।

यस्तै, एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको माग कायमै रहेको बताएका थिए। उनले सदनको अवरोध खुलाउन आफूहरु तयार भए पनि सरकारको तर्फबाट ल्याउने कार्यसूची अगाडि बढाउन भने तयार नरहेको तर्फ संकेत गरे।

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ।