
काठमाडौं। कित्ताकाट खुलाउने सरकारको निर्णय, बैंक ब्याजदर सस्तिने मनोविज्ञान लगायत कारण घरजग्गा कारोबार लयमा फर्किने संकेत देखिन थालेको छ। काठमाडौं उपत्यकासँगै देशका धेरै मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीको आउजाउ बढ्न थालेको छ। जग्गा किनबेचको विषयमा आवश्यक परामर्श लिन सेवाग्राही मालपोत कार्यालय धाउन थालेका हुन्।
सरकारले साउन ३० गते जग्गा कित्ताकाट खुलाउने निर्णय गरेपछि विभिन्न कारणले जग्गा टुक्र्याउन नपाएका सेवाग्राही मालपोत धाउन थालेका छन्। बैंक तथा वित्तीय संस्थाले विभिन्न स्किमसहित आकर्षक घर कर्जा घोषणा गरेपछि ग्राहकले किन्नका लागि चासो दिन थालेका छन्।
काठमाडौंको कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले घरजग्गा कारोबार क्रमिकरुपमा सुधार हुँदै गएको बताए। अलि सुधार आउन लागेको हो कि भन्ने संकेत देखिएको उनको भनाइ छ।
‘आर्थिक वर्षको पहिलो महिना साउनमा त्यति धेरै बढिहाल्ने त होइन। अलिअलि सुधार आउन लागेको हो कि जस्तो देखिन्छ। वैशाख, जेठको तुलनामा साउनमा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ,’ सुवेदीले भने, ‘बैंकहरुले विस्तारै ऋण दिन थाले भन्ने हल्ला छ। चहलपहल त्यही भएर बढेको छ।’
कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णयबारे भने मालपोत कार्यालयहरुमा परिपत्र पुगेको छैन। अर्को हप्तासम्म परिपत्र मालपोत कार्यालयहरुमा पुग्ने र त्यसपछि कारोबार थप बढ्ने अपेक्षा छ।
‘धेरै सेवाग्राही कित्ताकाट खुलेको हो/होइन भनेर मालपोतमा आउन थालेका छन्। परिपत्र हामीसम्म आइसकेको छैन। यसैलाई कुरेर सेवाग्राही बसेको देखिन्छ। अबको एक डेढ हप्तादेखि घरजग्गा कारोबारमा नयाँ सिनारियो देखिन सक्छ,’ सुवेदीले भने।

काठमाडौंकै चाबहिल मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले पनि कार्यालयमा सेवाग्राहीको ओहोरदोहोर बढ्न थालेको बताए। घरजग्गासँग रोकिएका काम क्रमश: हुँदै गएको अवस्थामा अहिले परिस्थिति केही फेरिएको उनको भनाइ छ।
‘घरजग्गाको कारोबार पछिल्लो समय केही बढेको पक्कै हो। सुधारको संकेत देखिएको छ। मन्त्रिपरिषदले कित्ताकाट खुलाएकाले यो क्रमले अब गति लिने देखिन्छ,’ भण्डारीले भने।
डिल्लीबजार मालपोत कार्यालयमा भने चहलपहल खासै बढ्न सकेको छैन। काठमाडौंका सबैभन्दा बढी महँगा जग्गा यही कार्यालयको क्षेत्रभित्र पर्छन्। ‘घरजग्गाको कारोबार बढेको छैन। साउनमा पनि बढेको देखिंदैन। मालपोतमा पनि त्यति धेरै चहलपहल बढेको छैन,’ प्रमुख मालपोत अधिकृत रामकृष्ण उप्रेतीले भने।
जग्गाहरु निकै महँगो भएकाले यो मालपोतमा धेरै संख्यामा कारोबार हुने गरेको छैन। तैपनि जग्गाको मूल्यांकन नै धेरै भएकाले राजस्व संकलनमा भने सरकारलाई राम्रैसँग सघाउने गरेको छ।
ललितपुरमा तथ्यांकका हिसाबले साउनमा घरजग्गा कारोबार बढेको छैन। तर कित्ताकाट खोल्ने निर्णयले कारोबार बढ्नेमा लगनखेलस्थित मालपोत कार्यालयका प्रमुख चूडामणि चापागाईंका आशावादी छन्।
‘मान्छेहरु केही समययता घरजग्गा किनबेचका विषयमा सोधीखोजी गर्न आउन थालेका छन्। कित्ताकाट अब कसरी हुन्छ भन्ने धेरैको जिज्ञासा छ। तर कारोबार संख्या नै भने बढेको छैन। बढ्ने आधार भने देखिन थालेको छ,’ चापागाईंले भने।

केही समययता मालपोतमा किनबेच राजीनामा पासभन्दा पनि धितोबन्धक गर्नेहरु बढी भेटिन्छन्। कैलालीको धनगढी मालपोत कार्यालयको प्रमुखबाट भर्खरै अवकास पाएका सुरेन्द्र केसी सरकारले वर्गीकरण नभएको स्थानीय तहमा समेत कित्ताकाट खुलाएकाले कारोबार बढ्नेमा ढुक्क छन्।
‘कित्ताकाट फुकुवाले तत्कालै ठूलो परिणाम त दिन सक्दैन। बर्खाका कारण यस क्षेत्रमा सेवाग्राहीको आउजाउ पनि सहज छैन। खेतीबालीको काम अझै सकिएको छैन। यो सबै काम सकिएपछि घरजग्गाको कारोबार बढ्ने देखिन्छ। अहिले चाहिं कारोबार निकै न्यून छ,’ केसीले बिजमाण्डूसँग भने।
लिखत धेरै पारित हुने गरेको सुनसरीको इनरुवा मालपोत कार्यालयमा घरजग्गाको कारोबार स्थिर नै छ। ‘कारोबारका हिसाबले खासै धेरै परिवर्तन छैन। सामान्य नै छ। हाम्रो क्षेत्रमा रहेको एउटा पालिकामा मात्रै जग्गा वर्गीकरण हुन बाँकी छ। तैपनि कारोबारले धेरै ठूलो पिकअप लिन सकेको छैन। अब चाहिं बढ्ला जस्तो देखिन्छ,’ प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौलाले भने।

गत आर्थिक वर्ष २०७९/८० मा घरजग्गा किनबेचबाट सरकारले ४१ अर्ब ७३ करोड रुपैयाँ राज्व संकलन गरेको थियो। त्यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ अर्ब ८१ लाख रुपैयाँ कम हो। घरजग्गा कारोबारमा आएको गिरावटका कारण राजस्व संकलन प्रभावित भएको थियो। कित्ताकाटमा रोक, बैंक तथा वित्तीय संस्थाको तरलता अभाव र ब्याजदर वृद्धिको असर घरजग्गा कारोबारमा परेको थियो।
अहिले एकातिर किताकाट पुरानै अवस्थामा खुलाइएको छ भने अर्कातिर बैंक ब्याजदर पनि सस्तिंदै गएको छ जसले गर्दा कारोबार बढ्ने सरकार र निजी क्षेत्र दुवैको बुझाइ छ।