अवरुद्ध सदन खुलाउन राष्ट्रपति पौडेलको चासो, ओलीलाई शीतल निवासमा बोलाएर छलफल

बिजमाण्डू
२०८० साउन ३१ गते १४:२२ | Aug 16, 2023
अवरुद्ध सदन खुलाउन राष्ट्रपति पौडेलको चासो, ओलीलाई शीतल निवासमा बोलाएर छलफल
राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी ओली। तस्वीर: राष्ट्रपतिको निजी सचिवालय


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको अवरोधका विषयमा चासो राखेका छन्। उनले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई शीतल निवास बोलाएर अवरोध खुलाउने विषयमा छलफल गरेका छन्।

Tata
GBIME

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटमा राष्ट्रपति पौडेलले लामो समय सदन नचल्दा संसद्प्रति जनतामा नकारात्मक सन्देश जान सक्नेतर्फ गम्भीर हुन ओलीसँग आग्रह गरे।

एमालेले सुन प्रकरणमा सरकारी निकायले गर्ने अनुसन्धानप्रति आशंका गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेर साउन १० देखि सदन चल्न दिएको छैन। सदन चलाउन नसकेपछि केही दिनअघि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना शीतल निवास पुगेका थिए। एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक भदौ ३ सम्मका लागि स्थगित छ।

राष्ट्रपति पौडेलले विपक्षी दलका नेता ओलीलाई बोलाएर अवरोध अन्त्य गरी संसद्लाई प्रभावकारी बनाउन आग्रह गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले भने राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए।