मोरङको विराटचोक-घिनाघाट सडक ४ पटक म्याद थप्दा पनि अपुरै, ठेकेदार जेभीलाई अझै मौका दिइँदै

बिजमाण्डू
२०८० साउन ३१ गते १२:५८ | Aug 16, 2023
मोरङको विराटचोक-घिनाघाट सडक ४ पटक म्याद थप्दा पनि अपुरै, ठेकेदार जेभीलाई अझै मौका दिइँदै


काठमाडौं। पूर्वाधार विकास कार्यालय मोरङले श्रेष्ठ रमन एपेक्स जेभीलाई लिएको ठेक्कामा निर्माणको काम पुरा गर्न अन्तिम ताकेता गरेको छ। बुधबार कार्यालयले सूचना जारी गर्दै निर्माण कम्पनीहरुको उक्त ज्वाइन्ट भेन्चरलाई समयमा काम सम्पन्न गर्न अन्तिम पटक एक मौका दिएको हो।

Tata
GBIME

उक्त जेभीले विराटचोक-घिनाघाट सडक निर्माणको कार्य अलपत्र पारेको छ। कम्पनीले २०७६ को असारमा दुई वर्षमा काम सक्नेगरी ठेक्का सम्झौता गरेको थियो।

काम पुरा नगरेपछि ४ पटकसम्म म्याद थपिएको कार्यालयले जनाएको छ। तर पछिल्लो पटक थपिएको म्यादको अन्तिम समय गत असार २१ सम्म मात्र थियो। उक्त समयमा पनि काम पुरा भएको छैन।

यो सडक १० किलोमिटरको मात्र छ। यसको लागत १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गरिएको थियो।

कार्यालयले पटक-पटक म्याद थप्दा पनि काम नसकेपछि कार्यालय निर्माण व्यवसायीलाई ताकेता गर्दै आएको जनाएको छ।

अन्तिम पटकमा पनि निर्माण काम सम्पन्न नगरे ठेक्का तोडिने कार्यालयले जनाएको छ।