नाफा खस्किएको वित्तीय विवरणको प्रभाव सेयर बजारमा, नेप्से ३१.८ अंकले घट्यो

बिजमाण्डू
२०८० साउन ३० गते १५:४१ | Aug 15, 2023
नाफा खस्किएको वित्तीय विवरणको प्रभाव सेयर बजारमा, नेप्से ३१.८ अंकले घट्यो


काठमाडौं। सेयर बजार सूचक मंगलबार ‍३१.८० अंकले घटेको छ। धेरै कम्पनीले गत आर्थिक वर्ष मुनाफा खस्किएको वित्तीय विवरण सार्वजनिक गरेको प्रभावस्वरुप नेप्से सूचक घटेको हो। नेप्से २०४५.४४ अंकमा झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ६.२९ अंकले घटेको छ।

Tata
GBIME

मंगलबार अधिकांश लघुवित्त, बिमा, जलविद्युत तथा उत्पादन कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार कतिपय कम्पनी नोक्सानीमा गएका छन् भने कतिपयको मुनाफा घटेको छ। सेयर बजारमा ब्लूचिप मानिने कम्पनीको मुनाफामा पनि गिरावट आएको छ। त्यसैको प्रभावस्वरुप नेप्से घटेको हो।

आज उत्पादनमूलक उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ। यो उपसमूहमा पर्ने हिमालयन डिस्टिलरी र शिवम् सिमन्टले नाफा तथा प्रतिसेयर आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

यस्तै फाइनान्स, होटल तथा पर्यटन र हाइड्रोपावर उपसमूह करीब २ प्रतिशतले घटेका छन्। लघुवित्त उपसमूह १.०६ प्रतिशतले घटेको छ ।

सूचक घटेपनि बिक्री चापका कारण कारोबार रकममा भने केही सुधार देखिएको छ। आज २ अर्ब १५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम सवमबारको तुलनामा ६ करोड बढी हो।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शिर्ष स्थानमा रह्यो। यो कम्पनीको २० करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर किनब्च भयो। यस्तै शिवम सिमेन्टको १८ करोडको कारोबार भएको छ।