
विराटनगर। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गत बिहीबार संसदमा नेपालबाट गोलभेंडा आयात गर्न लागिएको बताएकी थिइन्। ‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनेकी थिइन्।
अर्थमन्त्री सीतारमणले गोलभेंडाको मूल्य अकासिएपछि नेपालबाट आयात गरेर समस्या समाधान गर्न खोजेकी हुन्। भारतमा भारी वर्षाका कारण गोलभेंडामा क्षति पुगेपछि मूल्य आकासिएको थियो। मूल्य बढेपछि भारतले नेपालबाट साउन २० गते गोलभेंडाको आयात खुला गर्यो। आयात अक्टोबरसम्म खुला रहने भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतबाट निर्वाधरुपमा फलफूल तथा तरकारी नेपाल निकासी भए पनि आयातमा भने अघोषित प्रतिबन्ध लगाउँदै आएको छ। भारतले नेपालमा उत्पादित तरकारी तथा फलफूललाई प्रयोगशाला परीक्षणको बहानामा रोक्दै आएको छ। तर गोलभेंडाले सरकार नै समस्या परेपछि हतारहतार भारतले आयात खोलेको हो।
कसरी भइरहेको छ निर्यात ?
भारत सरकारले गोलभेंडा आयात खुला गरेपछि नेपालको वीरगन्ज र काँकडभिट्टा भन्सारबाट त्यसको आधिकारिक निर्यात हुन थालेको छ।
आयात खोलेको फाइदा उठाउँदै नेपाली व्यवसायीले गोलभेंडाको निकासी बढाएका हुन्। तर गोलभेंडा निर्यात हुने मुख्य सम्भावित नाकामध्ये एक विराटनगरबाट भने निकासी भएको भन्सार कार्यालयको अभिलेखमा देखिँदैन।
विराटनगर भन्सारका सूचना अधिकारी परशुराम दाहालले यस नाकाबाट हालसम्म गोलभेंडा निकासी नभएको बताए। वीरगन्जका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले साउन २२ गतेदेखि गोलभेंडा निर्यात सुरु भएको जानकारी दिए। उनका अनुसार वीरगन्जबाट दिनमा ४० टन हाराहारीमा गोलभेंडा निर्यात भइरहेको छ।
त्यस्तै काँकडभिट्टा भन्सारबाट साउन २७ सम्ममा भारु ३ लाख ९८ हजार ४०० मूल्यको २५ हजार ६२० किलो गोलभेंडा निर्यात भएको सूचना अधिकृत पूर्णकुमार लम्सालले जानकारी दिए ।

विराटनगर नाकाबाट किन भएन निर्यात ?
बर्खा–हिउँद दुवै याममा विराटनगरलाई गोलभेंडाको मुख्य हब मानिन्छ। कात्तिकदेखि वैशाखसम्म मोरङ र सुनसरीमा उत्पादित गोलभेंडा फालाफाल हुन्छ।
त्यस्तै जेठदेखि असोजसम्म धनकुटा र तेह्रथुममा उत्पादित गोलभेंडाको मुख्य कारोबारस्थल विराटनगर नै हो। मुख्य हब भएर पनि विराटनगरबाट आधिकारिक निर्यात भएको छैन।
यसको यथार्थ भने अर्कै छ। विराटनगर भन्सार नाका भएर निर्यात नभए पनि चोर नाकाबाट अनधिकृतरुपमा निकासी भइरहेको छ।
‘बर्खा याममा मोरङ–सुनसरीका ग्रामीण सीमाबाट गोलभेंडा अनधिकृत निकासी धेरै वर्षदेखि भइरहेको छ, भारतका व्यवसायी र ग्राहकले नेपालका पहाडमा फलेका गोलभेंडा धेरै मन पराएर खरिद गर्ने गर्छन्’, एक व्यवसायीले बिजमाण्डूलाई भने, ‘अवैध निकासी गर्न पल्किएकाहरूले भारतले आयात खुला गरे पनि वैधानिक बाटो समाउन मानेका छैनन्। धनकुटा र तेह्रथुममा उत्पादित टमाटर मोरङ र सुनसरीका भित्री र ग्रामीण नाकाबाट अनधिकृतरूपमा भारत गइरहेको छ।’
साउन २० अघि पनि जान्थ्यो
काँकडभिट्टा र विराटनगर नाका भएर साउन २० अघि पनि भारततर्फ गोलभेंडा निकासी हुने गर्थ्यो, जबकि भारत सरकारले साउन २० अघि गोलभेंडा आयातलाई खुला गरेको थिएन। तर व्यवसायीले आयातको अर्कै जाली तरिका अपनाएर निर्यातलाई निरन्तरता दिँदै आएका थिए ।
यो उपाय थियो– बन्दाकोबीको उत्पत्तिको प्रमाणपत्र र प्रज्ञापनपत्र बनाउने अनि निर्यात गर्ने मालवस्तु चाहिँ गोलभेंडा।
एक कारोबारीका अनुसार व्यवसायीले १५–२० वर्षदेखि नै बन्दाकोबीका नाममा बन्दाकोबीसँगसँगै गोलभेंडा पनि पठाइरहेका थिए। यसका लागि उनीहरूले नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसित सेटिङ गर्थे।
मूल्य कति ?
सामान्यतया असार १५ पछि तराईमा गोलभेंडाको मूल्य वृद्धि हुन थाल्थ्यो। विराटनगरको बजारमा साउनको अन्तिममा गत वर्ष गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो ७० देखि १०० रुपैयाँसम्म थियो।
यसपटक भने लगभग दोब्बर भएको छ। विराटनगरको बजारमा अहिले गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो १५० देखि १८० रुपैयाँसम्म छ। छेउकै भारतीय बजार जोगबनीमा भने यसको मूल्य किलोको २८० रुपैयाँ छ। जोगबनीभन्दा दक्षिणका फारबिसगन्ज, पूर्णिया र कटिहार लगायत भारतीय बजारमा मूल्य भारु २ सयभन्दा माथि भएको एक व्यवसायीले बताए।
इतिहासमै बढी मूल्य तर पीडा
धनकुटा र तेह्रथुमका किसानले गोलभेंडाको मूल्य यस वर्ष इतिहासमै पहिलोपटक धेरै पाएको बताएका छन्। किसानले हिजोआज प्रतिकिलो ११० रुपैयाँमा गोलभेंडा विक्री गरिरहेका छन्। गत वर्ष यही बेला उनीहरूले प्रतिकिलो ४० रुपैयाँभन्दा बढी पाएका थिएनन्।
तर गोलभेंडाको बोट बारीमै भटाभट मर्न थालेपछि उनीहरू चिन्तित छन्। धनकुटाका कृषक मातृका राईले १५ रोपनी जमिनमा गोलभेंडा खेती गरेका छन्। तर साउन पहिलो सातादेखि अकस्मात् बोट मर्ने रोग फैलिन थाल्यो। राईले भने, ‘अहिले मुस्किलले १ रोपनीमा टमाटरका सग्ला बोट छन्। अरू सबै जिङ्ग्राइसके।’
तेह्रथुमका हरिश्चन्द्र ढकालका अनुसार गोलभेंडाका बोट मर्न थालेपछि किसानहरू समूह बनाएर जिल्ला सदरमुकामस्थित कृषि ज्ञान केन्द्रमा पुगेका थिए। त्यसपछि केन्द्रका अधिकारीले माटोको परीक्षण गरे। तर माटोमा केही समस्या नभएको बताए। ढकाल भन्छन्, ‘बोटमा कुनै कीटाणु देखिँदैन। ज्ञान केन्द्रले माटो ठिक छ भनिरहेको छ। के कारणले बोट मरेका हुन् ज्ञान केन्द्रले पनि पत्ता लगाउन सकेको छैन।’