
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन दोस्रो कार्यकालमा त्यति आक्रामक देखिंदैनन्। २०७४ को निर्वाचनमा मैदानमा उत्रँदा उनले मोनोरेलदेखि फ्लाइओभरका नारा लगाए। दोस्रोपटक चुनावी मैदानमा उत्रिँदा उनी केही संयम देखिए। पूरा गर्न नसकिने कुरा बोलेर काम रहेनछ भन्ने बुझे, पछाडि हटे।
तैपनि महर्जनलाई मतदाताले रुचाए। दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष नाघेको छ। यो अवधिमा उनले चुपचाप काम गरिरहेका छन्। निकटस्थहरुका अनुसार ललितपुरलाई नमुना महानगर बनाउने महर्जनको धोको छ। त्यसका लागि उनले बलबुताले भ्याएसम्म काम गरिरहेका छन्। यसै सन्दर्भमा मेयर महर्जनसँग बिजमाण्डूका १४ प्रश्न :
ललितपुर दिनानुदिन हरियाली बढ्दैछ यसको कारण के होला?
नगरमा हामीले पहिलो कार्यकालमा वृक्षरोपण गरेका थियौं। अहिले ती बढेका छन्। हामीले ती बिरुवा जोगाउन चाहिने आधारभूत पूर्वाधार राखेका छौं। तीन वटा ब्रुमर छन्। जनशक्ति व्यवस्थापन गरेका छौं।
सडक पखाल्न ट्याङ्कर पनि राखेका छौं। सडकको दायाँबायाँ स्मार्ट स्ट्रिट लाइटको व्यवस्था गरिसकेका छौं। यी पूर्वाधारका कारण अहिले ललितपुर महानगरमा दिउँसो आउनुभयो भने सफा र हरियाली देख्नुहुन्छ। रात्रिकालीन समयमा आउनुभयो भने सफा, हरियाली र स्मार्ट स्ट्रिट लाइटले सहर उज्यालो भएको पाउनुहुन्छ।
सार्वजनिक जग्गाहरुमा धमाधम पार्क र आराम गर्ने थलो बनाउँदै हो ?
हामीले एउटा नीति बनाएका छौं। सार्वजनिक, पर्ती जग्गा सम्भव भएसम्म सरकारी जग्गामा सकेसम्म कुनै पनि स्ट्रक्चर बन्न नदिने। र, त्यो ठाउँमा हरियाली बढाउने। बाटोमा बटुवालाई आराम गर्ने ठाउँ बनाउने भन्ने हाम्रो नीति हो। हामीले लगभग ५० ठाउँमा यस्तो गरेका छौं। अतिक्रमण भएको ठाउँलाई बस्नलायक बनाएका छौं। अहिले ललितपुरको जुनसुकै विन्दुबाट प्रवेश गर्नुस्, हरियाली देख्नुहुन्छ। बस्ने व्यवस्था छ। जेष्ठ नागरिक बस्न सक्नुहुन्छ। बालबालिका खेल्न मिल्ने व्यवस्था छ।
सार्वजनिक ठाउँमा पार्किङ गर्न नदिँदा जति वाहवाही छ, गल्लीगल्लीभित्र पार्किङ पुगे, अस्तव्यस्त देखियो भन्ने जनगुनासो उत्तिकै देखिए नि ?
वडाले शुल्क लिनेगरी हामीले पार्किङ राख्थ्यौं। तर पछि कुनै पनि वडाले सशुल्क पार्किङ राख्न पाइँदैन भनेर बन्द गर्यौं। त्यो गर्दा कतिपय सवारीसाधन गल्लीगल्ली हुँदै जाँदा रहेछन्। त्यसले स्थानीय बासिन्दालाई घरमा पस्न गाह्रो हुने। विपद पर्दा गाह्रो हुने। यो समस्या हालसालै बुलन्दरुपमा आएको छ। यसलाई के गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने अवस्था छ।
ठाउँ सानो भएकोले पार्किङ गर्ने क्षमता भएन। यसलाई व्यवस्थापन गर्न हामीले होमवर्क गरिरहेका छौं।
ललितपुर बाहिर हेर्दा चिटिक्क सफा तर भित्र गल्ली त्यति व्यवस्थित छैन नि, होइन?
गल्लीभित्र पनि सफा छ। एउटै कुरा बाहिरी सेरोफेरोमा छिट्टै फोहोर पिकअप हुन्छ। भित्री क्षेत्रमा अलि ढिला भएको हो कि भन्ने छ। त्यसमा सुधार गर्नुपर्ने छ। भित्र फोहोरको गाडी पुग्न सजिलो नभएर हो। त्यसलाई कसरी सुधार्ने भन्ने प्रयासमा हामी छौं।

सडक र फुटपथ फराकिलो बनाउने कार्यक्रम जारी छ तपाईंको?
८ मिटर बढी फराकिलो सडक नेपाल सरकारकै मापदण्डमा पर्छ। गत वर्ष ७.३ किलोमिटर अपांगतामैत्री सडक बनायौं। हामीले महानगरभित्र ८ मिटरभन्दा कम चौडाइको एस्पातिक कंक्रिटका बाटो प्रशस्त बनाएका छौं। यो बनाउँदा हामीले आफ्नै किसिमको स्पेसिफिकेसनको प्रयोग गरेका छौं। त्यसकारणले हामीले बनाएको बाटो नेपाल सरकारले बनाएको भन्दा राम्रा र उत्कृष्ट छन्। यसले बाटो राम्रो र सफा देखिएको छ।
यसरी सफा र चिटिक्क पार्दा के फाइदा हुने रहेछ महानगरलाई?
महानगरमा युनाइटेड नेसन्सको अफिस पहिलेबाटै थियो। अब अन्य दातृ निकायका अफिस पनि आउन थालेका छन्, प्रशस्तै। इन्टरनेसनल रिनाउन्ड ब्रान्डहरुको पनि यता आगमन भइरहेको छ। डिप्लोम्याट कम्युनिटीहरुले पनि ज्यादै मन पराएका छन्। रेस्टुरेन्टहरु पनि यता आउन थालेका छन्। यसले ललितपुरको इकोनोमीलाई इन्हान्स गर्न टेवा पुर्याउँछ।
हामीले काम गर्दै गर्दा यसलाई राम्रो सिटी बनाउनुपर्छ। यस्तो किसिमको एक्टिभिटीले बिजनेस इन्हान्स हुने रहेछ। त्यसले गर्दा ललितपुरको इकोनोमी बढिरहेको छ। यहाँका जनताको लिभिङ स्ट्यान्डर्ड राम्रो भइरहेको छ। त्यसैले अन्यत्रका मानिसको आकर्षणको केन्द्र बनेको छ ललितपुर।
तर यही सहरको चर्चित ठाउँ पाटन दरबार क्षेत्रमा घुम्न आउने युवा जोडीलाई त यहाँहरुले लखेटिरहनुभएको छ नि!
जोडाजोडीको निमित्त रिक्रिएसनल क्षेत्र हुनुपर्छ। मठ मन्दिर शिवालय देवालयमा त्यस्तो हुनु भएन। पाटन दरबार क्षेत्रमा जोडाजोडीहरु बसेर त्यसको विरोधमा डेलिगेसन आएको छ। मूर्तिहरुमा खुट्टाले टेक्ने, प्रेसर दिएर बस्ने चलन बढेको छ भनेर। फोटो भिडियोसमेत ल्याएर देखाएको छ। ढुंगाकै मूर्तिमा प्रेसर हुँदा बिग्रन्छ। यस्तो विकृति बढी नै देखिएकोले ठाउँको व्याख्या गरिदिएका छौं। त्यहाँ हामीले ‘नो इन्ट्री’ गरिसकेका छौं। त्यो भन्दा तल्लो ठाउँमा बस्न भनेका छौं।

समिट होटल निर्माण वरपर चर्किएको क्षेत्रमा पीडित स्थानीयको समस्या कसरी पार लाग्ला त?
महानगरजस्तो ठाउँमा बसेर नक्सा पास नगरीकन, अनुमति नलिई छरछिमेकलाई यस्तो किसिमको अनैतिक कार्य गरेको छ। त्यस्तो गर्नेलाई दण्डित गरेका छौं। उपमेयरको अध्यक्षतामा अहिले समाधानको लागि काम भइरहेको छ। अधिकतमभन्दा अधिकतम हामीले जरिवाना गरिसकेका छौं। अब नैतिक प्रक्रिया पनि सुरु गर्न लगाएका छौं। छरछिमेक यस्तो अनैतिक काम रोक्ने काममा लागिसक्नुभएको छ।
सेन्ट जेभियर स्कुलमा निकै राम्रो गर्नुभयो। तर निजी विद्यालयलाई ५२ लाख बाँडिएपछि विवादमा पर्नुभयो नि!
ललितपुर महानगर शिक्षाको राजधानी भनिन्छ। गत वर्ष जीपीए ४ ल्याउने ४२ जनामा हाम्रो महानगरबाट ४ जना थिए। ७५३ मा ४ जना, यो त ठूलो उपलब्धि हो नि। त्यहीबेला ललितपुर महानगरका तर्फबाट ४ जीपीए ल्याउने विद्यार्थी र स्कुललाई पुरस्कृत गर्यौं। अर्को वर्ष पनि जीपीए ल्याए दोब्बर पुरस्कार दिन्छौं भनेर हामीले घोषणा गरेका थियौं। पोहोर ४ जीपीए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका पनि थिए। यसवर्ष सामुदायिक विद्यालयले सकेन। उनीहरु केही प्वाइन्टका कारण पछि परे। तर यहाँका अरु विद्यालयका १४ जनाले ४ जीपीए ल्याए। पोहोर सालै घोषणा गरेको पुरस्कार दिँदा के बिग्रियो ? हैन। संस्थागतको सट्टा सामुदायिक आएको भए झन राम्रो हुन्थ्यो। अर्को वर्ष पनि हामी पुरस्कृत गर्छौं। सामुदायिक विद्यालयले पनि शिक्षाको स्तर सुधार त गर्नुपर्यो नि।
सेन्ट जेभियर्सको केसमा हामीले रेकर्ड ब्रेकिङ काम गरेका हौं। वर्षमा १७५ जना नानीहरु भर्ना गर्नेमा यो पटक हामीले हस्तक्षेप गरेर उनीहरुको तर्फबाट २० जना राख्न पाउने र १५५ जना चाहिं गोलाप्रथा गरेर राख्न पाउने भयो।
बागमतीको करिडोर क्षेत्र स्पोर्टस् हब बन्दै रहेछ। अब के के छ तपाईंको योजना?
गुसिङ्गाल क्षेत्रमा पनि सक्दो गरेको छु। म अब अर्कोपटक मेयर हुन पाउँदिनँ। मेरो कार्यकालमा मैले घोषणा गरेका मात्र होइन घोषणै नगरेका काम सक्दो गर्छौं। बाँकी ४ वर्षको समयमा हेर्दै गर्नुस्, धेरै विकास हुनेछ।
सप्तपाताल ताल तपाईंकै कार्यकालमा बन्छ त्यसो भए, चुनावमा घोषणा गर्नुभएको थियो नि!
दोस्रो पटकको चुनावी प्रतिबद्धतामा यो थियो। सप्तपातालमा आर्मीले फिर्ता गरेको ३० रोपनी जग्गा र सप्तपातालको १५ रोपनी, जम्मा गरेर चाहिं ४५ रोपनी हामीले काम सुरु गरिसकेका छौं। पहिलो फेजको काम सकियो। बार लगाइसकेका छौं। ट्रान्सपरेन्ट ग्रिल फेन्स। दोस्रो चरणको काम अब सुरु हुन्छ। त्यो भनेको टीकाभैरवबाट राजकुलो ल्याएर पानी भर्ने काम छ। अध्ययन समाप्त भइसकेको छ। त्यसपछि कमलको फूल फूलाउने हाम्रो योजना छ। अबको दुई वर्षभित्र सप्तापातलभित्र कमलको फूल फूल्छ।

महानगरमा पछि थपिएका चक्रपथबाहिरका क्षेत्रमा पनि विकास देखिन्छ, होइन?
उपमहानगर हुँदै गर्दा महानगरमा गाविसहरु मर्ज भएका थिए। ती गाविसहरु विकासमा अलि तल परिरहेका छन्। मर्ज भएकाहरुलाई पनि हामीले बढीभन्दा बढी बजेट दिएर त्यहाँको विकास यहाँकै हाराहारीमा पुर्याउने नीति लिएका छौं। दातृ निकायबाट आएको बजेट बढीभन्दा बढी उता दिएर त्यसलाई राम्रो बनाउने हाम्रो नीति हो। यसको उदाहरण हालसालै हामीले ५४ करोड रुपैयाँ बाटो बनाउन टेन्डर आह्वान गर्यौं। त्यो टेन्डरमा लगभग ७०/७५ प्रतिशत बाटोहरु थपिएका वडामा परेका छन्। यस्तो नीति अपनाएर राम्रो बनाउने प्रयत्न जारी छ।
वडाध्यक्षहरुलाई तपाईंले मोहनी नै लगाउनुभएको छ कि, प्राय: प्रशंसक मात्र भेटिन्छन्, कारण के हो?
मैले नेपाली कांग्रेसकै तर्फबाट वडाध्यक्ष तीनपटक जितेँ। मेयरमा दुई पटक जितेँ। मैले पार्टी भनेर पक्षपात गरेको छैन। चिरिबाबु नेपाली कांग्रेसको भनेर कुण्ठा कसैले राख्नहुन्न। त्यसैले वडाध्यक्ष साथीहरु खुसी हुनुहुन्छ। वडाध्यक्ष र कर्मचारी मित्रको पनि भरपूर साथ छ।
तपाईं बाहिरी कार्यक्रमतिर त्यति देखिनुहुन्न, सोसल मिडियाहरुमा आफ्नो कामको प्रचारमा देखिनुहुन्न नि!
स्टिङ अपरेसनले केही क्षण वाहवाही हुन्छ। आफैँले पालिराखेको फेसबुकका फलोअरले गरेको तारिफमा रमाएर के गर्नु? भरे भोलि ती विधि विधानसम्मत नहुँदा कानुनले नै रोक्छ। नजिर छन्। ललितपुर महानगरको काममा कुनै रोकावट छैन। स्टिङ अपरेसनमा मेरो विश्वास छैन।