
ललितपुर। पहिलो स्थानीय निर्वाचनमा चिरिबाबु महर्जन ३२६ मतान्तरले मात्र निर्वाचित भएका थिए ललितपुरको मेयरमा। प्रतिद्वन्द्वी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाउँदा चिरिबाबुले २४ हजार ६ सय ४२ मत पाए।
दोस्रो पटकको चुनावी प्रतिद्वन्द्वी चिरपरिचित व्यञ्जनकार नै थिए एमालेबाट। तर झन्डै दोब्बर मत बढी ल्याएर सेकेन्ड राउन्डको मेयरको कूर्सी सुरक्षित पारे। हरिकृष्णले २४ हजार ५६० मत पाउँदा चिरिबाबुको पक्षमा ४२ हजार ७२२ मत पर्यो।
उसो त गठबन्धनको साथ थियो कांग्रेस उम्मेदवार चिरिबाबुलाई। तर उपमेयरमा एमालेकी मञ्जली शाक्य निर्वाचित भइन्।

चुनावमै ढुक्क चिरिबाबु
पहिलोपटक मेयर हुँदा नै चिरिबाबु ललितपुरबासीका प्रिय बनिसकेको पुष्टि उनले पाएको मतबाट हुन्छ। त्यसैले उनलाई दोस्रोपटकको निर्वाचन नजिकिँदा घरदैलो पुग्दा कतिपय मतदाताले समय खर्चेर मत माग्न आउनै नपर्ने सुझाव उनलाई दिन्थे।
‘दुई दिन पुग्दा चाहिँ प्रायजसो मतदाताहरुले चै ‘तपाईं नआए नि हुन्छ नि’ भन्नुभयो। भनेको मतलब जित सुनिश्चित छ भन्ने किसिमले भन्नुभएको। यसको मतलब उहाँहरु मलाई जिताउन तयार भएको देखें,’ निर्वाचनअघि बिजमाण्डूसँगको कुराकानीमा चिरिबाबुले भनेका थिए।

निर्वाचनअघि ‘कन्फिडेन्ड’ पनि बलियो थियो उनको। उनले आफ्ना पुराना प्रतिद्वन्द्वीले जित्नै नसक्ने उम्मेदवारी मनोनयनपछि भनेका थिए।
२०७९ वैशाख १२ गते उम्मेदवार मनोनयन पछि चिरिबाबुले भनेका थिए, ‘यहाँहरुलाई वैशाख ३० गते जितेर देखाउँछु। १५ हजार बढी मतले जित्छु।’ यता प्रतिस्पर्धी हरिकृष्णले आफू ५ हजार मतान्तरले जित्ने दाबी गर्दा चिरिबाबुले दाबी गरेका थिए, ‘उहाँ चाहिँ मसँग जित्नुहुन्न।’

मत परिणामले त्यही देखायो जुन त्यतिबेला चिरिबाबुले भनेका थिए।
जित्ने आधार प्रस्तुत गर्दै गर्दा उनले बिजमाण्डूसँग भनेका थिए, ‘म धेरै मतान्तरले जित्छु। जसको आधार – मैले पाँच वर्ष राम्रो काम गरेँ। नगरबासीको मन जितेँ। मलाई सबैतिर क्लियर इमेज भएको मेयर भन्छन्। अर्को कुरा हिजो मर्ज हुन आएका थप वडामा म परिचित थिइनँ। अहिले चिनिएको छु। यो भनेको भोट बढ्ने नै हो।’
त्यसो त त्यतिबेला माओवादी, एकीकृत समाजवादीको सहयोग पनि थियो चिरिबाबुलाई। उनै चिरिबाबु दोस्रो कार्यकालमा पनि चुपचाप आफ्नो नगर बनाउन लागिरहेको नगरबासी बताउँछन्।
कसरी बनिरहेका छन् चिरिबाबु?
चिरिबाबुले पहिलो कार्यकालमै ललितपुरबासीलाई मोनोरेल र फ्लाइओभर बनाउने वाचा कसेका थिए। पुल्चोकदेखि कुपन्डोलसम्म फ्लाइओभर र मोनोरेल बनाउने उनको घोषणा थियो। यद्यपि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई दोष लगाउँदै यस विषयबाट पन्छिन्छन् चिरिबाबु।
‘मोनोरेल हाम्रो एजेन्डा थिएन। यो काठमाडौंको हो। चक्रपथमा पनि चलाउने भएकोले हामी यसमा सहमतिमा गएका थियौं। किनभने ७.९ किलोमिटर चक्रपथ ललितपुरमा पर्छ। काठमाडौंमा बन्छ भने ललितपुरमा पनि हामीले किन नचलाउने भनेर हामीले छाप लाइिदियौं। तर काठमाडौंबाटै काम भएन त,’ बिजमाण्डूसँग चुनावताका चिरिबाबुले भनेका थिए।

उनले विद्युत्, टेलिफोन र केवल तार भूमिगत गर्ने वचन पनि थियो। ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको सहर ललितपुरलाई अझ चिटिक्क पार्ने उनको योजना थियो। सहरलाई साइकलमैत्री र वातावरणमैत्री बनाउने उनको वाचा पूरा हुँदैछ। ललितपुरका चित्रकला, काष्ठकला, प्रस्तर मूर्तिकला जस्ता विषयमा चर्चित सहर हो। यसमा चिरिबाबुले खासै प्रगतियोग्य काम गर्न सकेनन्।
भूकम्पले क्षति भएका पुरातात्विक सम्पदाको पुनर्निर्माण पनि सहज ढंगले भयो। सांस्कृतिक सम्पदाको संरक्षणमा उस्तै केन्द्रित देखिन्छन्।

‘ब्लु’ परियोजना अन्तर्गत पुराना पोखरी र ढुंगेधाराको पुनर्निर्माण भएको छ भने करिब ७० वटा ढुंगेधारा ब्युँताउने र लगनखेलको सप्तपाताल ताल ब्युँताउने काममा उनी त्यतिकै लागेका देखिन्छन्।
सडकमा स्मार्ट लाइट सिस्टम, मुख्य सडकमा सीसीटीभी, साइकल लेनका कारण उनको प्रशंसा भइरहेको छ।
भूगोलको उस्तै साथ
ललितपुर महानगरलाई एलेभेसनकोसमेत साथ रहेको स्थानीयहरु बताउँछन्। पानी परेपछि नजमी ओरालो लाग्ने वस्तीहरु व्यवस्थित रुपमा रहेकोले पनि मेयरलाई सजिलो भएको हो। ललितपुरको जावलाखेल क्षेत्र समुद्र सतहदेखि १३२१ मिटर एलेभेसन भएको ठाउँ हो।

यसो त काठमाडौंमा भन्दा ललितपुरमा भिड कम हुने भएकोले पनि यो क्षेत्र हराभरा भएको बताउँछन् भनीमण्डल बस्ने कुमार श्रेष्ठ।
‘यता भिडभाड अलि कम छ। ओपन स्पेस धेरै छ। हरियालीले गर्दा पनि सफा लाग्छ। थापाथलीको पुल क्रस गरेर कुपन्डोल पस्ने वित्तिकै बेग्लै लाग्छ यता,’ श्रेष्ठले भने।
भूगोलकै कारण अन्तराष्ट्रियदेखि राष्ट्रिय निकायले ललितपुर रोज्ने गरेको बताउँछन् मेयर महर्जन पनि।
‘महानगरमा युनाइटेड नेसन्सको अफिस पहिलेबाटै थियो। अब अन्य दातृ निकायका अफिस पनि आउन थालेका छन्, प्रशस्तै। इन्टरनेसनल रिनाउन्ड ब्रान्डहरुको पनि यता आगमन भइरहेको छ। डिप्लोम्याट कम्युनिटीहरुले पनि ज्यादै मन पराएका छन्। रेस्टुरेन्टहरु पनि यता आउन थालेका छन्,’ उनले भने।
विकासको पछिल्लो अवस्था के छ?
ललितपुरमा सार्वजनिक जग्गाहरु महानगरले नियन्त्रणमा लिएर धमाधम पार्क बनाउँदैछ। सार्वजनिक, पर्ती जग्गा सम्भव भएसम्म सरकारी जग्गामा सकेसम्म कुनै पनि स्ट्रक्चर बन्न नदिने गरी मेयर चिरिबाबु उत्रेका छन्। ती ठाउँमा हरियाली बढाउने योजना सुनाउँछन् उनी।
‘बाटोमा बटुवालाई आराम गर्ने ठाउँ बनाउने भन्ने हाम्रो नीति हो। हामीले लगभग ५० ठाउँमा यस्तो गरेका छौं,’ चिरिबाबु भन्छन्। अहिले ललितपुरका अधिकांश क्षेत्रमा हरियालीले चिटिक्क देखिन थालेका छन्।

फुटपाथ बढाउने, सडक फराकिलो पार्ने अभियानमा उत्तिकै सक्रिय छन् उनी। ललितपुरलाई निशुल्क पार्किङ जोन बनाउने मेयरको अर्को अभियान हो। ट्राफिक व्यवस्थापनमा चुस्त राख्न र सडक सफा राख्न नियम कडा बनाइदैछ।
मेयरको सचिवालयका अनुसार धुलो र माटो खसाल्ने ट्रिपरहरु कारबाहीको दायरामा ल्याइएको छ। अटो ट्राफिक लाइट ल्याइँदैछ। कुपन्डोलदेखि बुङमती बसपार्कसम्म गरी १२ स्थानमा स्मार्ट लाइट राखिसकिएको महानगरले जनाएको छ।

पछि थपिएका वडाहरु धापाखेल, सुनाकोठी, हरिसिद्धि र बुङमती क्षेत्रमा भने मेयरको चासो त्यति देखिन्न। ती स्थानमा खानेपानीदेखि सडकका समस्या छन्। अबको चार वर्ष आफ्नो ध्यान ती क्षेत्रको विकासमा फोकस हुने बताउँछन् चिरिबाबु।
‘मर्ज भएकाहरुलाई पनि हामीले बढीभन्दा बढी बजेट दिएर त्यहाँको विकास यहाँकै हाराहारीमा पुर्याउने नीति लिएका छौं। यसको उदाहरण हालसालै हामीले ५४ करोड रुपैयाँ बाटो बनाउन टेन्डर आह्वान गर्यौं। त्यो टेन्डरमा लगभग ७०/७५ प्रतिशत बाटोहरु थपिएका वडामा परेका छन्,’ मेयर महर्जनले भने।
दोस्रो चुनावयता मेयर महर्जन मिडियामा त्यति देखिएका छैनन्। आफूलाई स्टिङ अपरेसन मन नपर्ने बताउने चिरिबाबु घोषणापत्रमा नलेखिएका धेरै कुरा गरेर देखाउने दावा गर्छन्।
‘म अब अर्कोपटक मेयर हुन पाउँदिनँ। मेरो कार्यकालमा मैले घोषणा गरेका मात्र होइन घोषणै नगरेका काम सक्दो गर्छौं। बाँकी ४ वर्षको समयमा हेर्दै गर्नुस्, धेरै विकास हुनेछ,’ उनी भन्छन्।
महानगरमा कसरी काम गर्छन् चिरिबाबु?
वडा १३ एकान्तकुनाका संगम केसीको भनाई मान्ने हो भने मेयर चिरिबाबु आफै सक्षम व्यक्ति हुन्। हरेक कुरामा स्थानीयदेखि जनप्रतिनिसँग सक्दो बढी छलफल गरी नयाँ नयाँ कार्यक्रम ल्याउँछन् चिरिबाबु।
‘भिजन भएको नेताजस्तो लाग्छ। वडावडामा आफैँ जानुहुन्छ। साइकल लेनदेखि ग्रिनरी कार्यक्रम ल्याउनुभयो,’ उनले भने, ‘२९ वटा वडा छन्। सबै वडाका वडाध्यक्षसँग रिपोर्ट लिनुहुन्छ।’

मेयर महर्जनको उनलाई मनपर्ने अर्को पक्ष हो खेताला नपठाउनु। ‘कतै कसैले बोलाए आफैँ जानुहुन्छ। खेताला पठाउनुहुन्न। अरुका कुरा सुन्नुहुन्छ,’ उनी भन्छन्, ‘सार्वजनिक ठाउँमा धमाधम सफाइदेखि आराम गर्ने ठाउँ बनाइदिनुभएको छ। टोलबासीको निम्तो मान्न आउनुहुन्छ।’
वडा १२ स्थित लगनखेलमा भेटेका स्थानीय केशव भण्डारीको मेयर रैथाने भएको र स्थानीय विषय थाहा भएकोले पनि काम राम्रो भइरहेको हो।
‘उहाँ स्थानीय हो। धेरै मुद्दाहरु थाहा छ उहाँलाई। स्थानीयको पनि साथ छ। सप्तपाताल ताल बनाउन लाग्नुभएको छ,’ उनले भने, ‘मेयरले आफ्नो चुनावी प्रतिवद्धता पूरा गर्छन् जस्तो छ। महानगरमा केही गर्छु नै भनेर अगाडि बढ्नुभएको हो।’

यसो त स्थानीय सरकारलाई संविधानले नै अधिकारसम्पन्न बनाएकोले निर्धक्क काम गर्न सफल भएको भण्डारी बताउँछन्।
‘एक त उहाँ आफै एक्टिभ देखिनुहुन्छ। मेयर पावरफुल पनि छन्। संविधानले नै यो अधिकार दिएको छ। जनताको साथ पाएर नै उहाँ रिटायर लाइफमा पनि राम्रै जस पाउन हुन सक्छ,’ उनले भने।
वडा ३ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार मेयर चिरिबाबु नयाँ ट्रेन्ड फलो गर्न खप्पिस छन्। स्मार्ट सिटी बनाउन मेयर नेपालमै पहिलो देखिएको दाबी गर्छन्।
‘मेयर नयाँ नयाँ योजना ल्याउन सक्ने खुबी भएको मान्छे हुनुहुन्छ। ज्ञानले पनि भरिपूर्ण हुनुहुन्छ, भिजन छ आफैँमा,’ केसीले भने, ‘उहाँ एस्क्ट्रा नै हो। त्यही भएर सिटीनेटको सदस्यमा चयन हुनुभयो।’
ललितपुर स्मार्ट बनाउन मेयर रातदिन खट्ने उनको दाबी रह्यो। ‘उहाँको पालामा धेरै चेन्ज आइसकेको छ ललितपुरमा। स्मार्ट लाइट यही नै हो पहिले आएको अब टाइम रेन्जमा चल्ने ट्राफिक लाइट ल्याउने योजनामा हुनुहुन्छ।’

वडा १ का स्थानीय युवा विवेक तण्डुकार मेयर सहयोगी भावना भएको व्यक्ति भएको बताउँछन्। गुसिङ्गलको जेष्ठ नागरिक पार्कका लागि बार राख्न मेयरले सहयोग गरेको उनले बताए।
‘यहाँ भित्र साइकल ट्र्याक छ। फुटबल मैदान, बास्केटबल, भलिबल खेल्ने ठाउँ छ। यो विस्तारै स्पोर्ट्स हब बन्दैछ,’ तण्डुकार भन्छन्, ‘वडाध्यक्ष निर्मल तण्डुकारको प्रयासमा यो हुँदैछ। यसमा मेयर चिरिबाबुको पनि साथ छ।’
धोबिघाटकी शान्ति सापकोटा मेयर सहरबासीसँग सहकार्यमा अग्रस्थानमा रहेको बताउँछिन्।
‘भिजन भएको नेता जस्तो लाग्छ। वडावडामा आफैँ जानुहुन्छ। साइकल लेनदेखि ग्रिनरी कार्यक्रम ल्याउनुभयो,’ उनले भनिन्, ‘सार्वजनिक ठाउँमा धमाधम सफाइदेखि आराम गर्ने ठाउँ बनाइदिनुभएको छ।’

ललितपुरमा २९ वटा वडा रहेको छ। २९ वटै वडाको वडाध्यक्षको साथ मेयरलाई रहेको स्थानीय बताउँछन्।
‘२९ वटा वडा छन्। सबै वडाका वडाध्यक्षसँग रिपोर्ट लिनुहुन्छ। सबैलाई २ महिनामा पर्यटकीय क्षेत्रमा लगेर रिट्रिट दिनुहुन्छ। अनि त्यहाँ एजेन्डाका कुरा सेयर गर्नुहुन्छ,’ ती स्थानीयले भने।
सचिवालयले भने यो भनाइ सत्य नभएको दाबी रह्यो। ‘मेयर आफैँ भिजन भएको नेता भएकोले हरेक काम समयबद्ध भइरहेका छन्। उहाँ बिहानै महानगर आइपुग्नुहुन्छ। अबेरमात्र घर पुग्नुहुन्छ,’ सचिवालयले भन्यो।
उनी निकट स्थानीय नेताहरुका अनुसार मेयरले विभिन्न विषयका १२ जना विज्ञसमेत राखेका छन्। जसले गर्दा मेयर निर्धक्कसाथ अघि बढेका हुन्। सचिवालयले भने यस विषयमा थप खुलाउन चाहेन।
के हो चिरिबाबुको लक्ष्य?

चिरिबाबुको अबको लक्ष्य के हो? धेरैको प्रश्न छ अहिले। यसबारे उनको सचिवालयले केही खुलाउन चाहेन। चिरिबाबुले पनि यसबारे आफ्नो प्रतिक्रिया दिएनन्। यद्यपि उनको अबको लक्ष्य सांसद भएको स्थानीय बासी बताउँछन्।
‘उहाँ पक्कै सांसदमा उठ्नुहुन्छ। क्षेत्र नम्बर ३ बाट। उहाँलाई कसैले रोक्न सक्दैन,’ ती स्थानीयले भने।