
काठमाडौं। लगानीकर्तालाई कुनैपनि कम्पनीको सेयर किन्न दुई वटा माध्यम छन्। सूचीकृत सेयर धितोपत्र बजारमार्फत र सूचीकृत नभएका सेयर ओटीसीमार्फत खरिद बिक्री गर्ने सकिन्छ।
त्यस्तै बजारमा म्युचुअल फण्डमा लगानी गर्न खोज्नेका लागि पनि दुई वटै माध्यम छन्। बन्दमुखी म्युचुअल फण्डका इकाइ नेप्सेमा नै सूचीकृत हुने भएकाले दोस्रो बजारमार्फत सहजै खरिद गर्न पाइन्छ। अहिले दोस्रो बजारमा कारोबार हुने बन्दमुखी योजना ३५ वटा छन्।
तर नेप्सेमा सूचीकृत नहुने खुलामुखी सामूहिक लगानी कोष योजनामा भने दोस्रो बजारमार्फत लगानी गर्न सकिँदैन। खुलामुखी योजना सात वटा छन्। ती एनआईबीएल सहभागिता फण्ड, एनआईसी एसिया डायनामिक फण्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबी सरल बचत फण्ड-इ, शुभलक्ष्मी कोष, नबिल फ्लेक्सी क्याप फण्ड र कुमारी सुनौलो लगानी योजना हुन्।
लगानीकर्ताले सेयर किनेजस्तै गरी आफूसँग भएको लगानीले न्याभका आधारमा र सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)मार्फत यस्ता इकाइ खरिद गर्न सक्छन्। यी योजनाका इकाइ साना तथा मझौला लगानीकर्ताको हातमा पुर्याउनका लागि तिनको सञ्चालन गर्ने क्यापिटलहरुले एसआईपी योजना ल्याएका हुन्।
एसआईपीमार्फत इकाइ किन्दा के फाइदा ?
एसआईपी भनेको एउटा निश्चित समयसम्म नियमित रुपमा लगानी गर्ने हो। न्यूनतम १ हजार रुपैयाँबाट नै यस योजनामा आवद्ध हुन सकिन्छ। एसआईपीबापतको रकम मासिक, त्रैमासिक वा वार्षिकरुपमा भुक्तानी गर्न मिल्छ। विद्यार्थीदेखि गृहणीसम्मलाई यी योजना प्रभावकारी हुने व्यवस्थापकहरु बताउँछन्। योजनाले वितरण गर्ने प्रतिफल पनि पाइन्छ।
सामान्यतया स्टक मार्केटमा बन्दमुखी म्युचुअल फण्ड खरिद गर्दा बजारले मूल्य तोक्छ। त्यसकै आधारमा इकाइ खरिद बिक्री हुन्छ। तर खुलामुखी म्युचुअल फण्डका इकाइ खरिद बिक्री न्याभका आधारमा एसआईपीबाट हुन्छ। बजारमा भइरहेको माग र आपूर्तिले न्याभमा खासै असर गर्दैन। खुलामुखी योजनामा दैनिक न्याभ फरक-फरक हुन्छ।
नेप्सेमा सूचीकृत नभएपनि इकाइ खरिद तथा बिक्री गर्न त्यति गाह्रो छैन। यस्ता इकाइ फण्ड म्यानेजरले तोकेको डिष्ट्रिब्युटर एजेन्टमार्फत जुनसुकै समयमा बिक्री गर्न सकिन्छ। न्याभका आधारमा इकाइ तुरुन्तै बिक्री गर्न मिल्छ। उदाहरणका लागि एनआईबीएल सहभागिता फण्डको बिहीबारको न्याभ भ्यालु १०.२३ रुपैयाँ छ। लगानीकर्ताले सोही न्याभका आधारमा डिष्ट्रिब्युटर एजेन्टकहाँ गएर इकाइ बिक्री गर्ने हो।
खरिद गरेका योजना आफूले कति वर्षका लागि एसआईपी गरेको हो त्यही अनुसार बिक्री गर्न सकिन्छ। तर कुनै इकाइधनीलाई बीचमै योजना बन्द गर्नु परेपनि त्यति असहज छैन। न्यूनतम १ वर्षपछि (क्यापिटल अनुसार) यस योजना बन्द गर्न सकिन्छ।
अहिले खुलामुखी योजनामा लगानीकर्ताको झुकाव देखिन थालेको छ। यस्ता योजनाका इकाइको कारोबार सामान्यतया न्याभका आधारमा हुने भएकाले बजारको उतारचढावले असर गर्ने चिन्ता हुँदैन।
साथै दैनिक मार्केट मुमेन्ट हेर्न नभ्याउने तथा नयाँ लगानीकर्ताका लागि पनि लगानीको यो निकै राम्रो थलो भएको एसआईपी तथा खुलामुखी योजना सञ्चालन गरिरहेका क्यापिटलका व्यवस्थापकहरुको भनाइ छ।
यस्तै यस्ता धितोपत्र बोर्डबाट स्वीकृति लिएर कोषको आकार वृद्धि गरेपनि यस्ता योजना निरन्तर चलिरहन्छन्। अर्थात बन्दमुखी योजना जस्तो एउटा निश्चित समयपछि खुलामुखी योजनाको परिपक्व समय आउँदैन।
बन्दमुखी योजनाका इकाइ कम मूल्यमै फालाफाल
बन्दमुखी योजनाका इकाइको मूल्यलाई दैनिक हुने माग र आपूर्तिले तलमाथि पार्छ। न्याभका आधारमा मूल्य तय हुँदैन। उदाहरणका रुपमा हाल एनआईसी एसिया ग्रोथ फण्डको असार महिनाको न्याभ र साप्ताहिक न्याभ ११.९८ रुपैयाँ छ। तर यो योजनाको प्रतिइकाइ मूल्य भने १०.९ रुपैयाँ मात्र छ।
नेप्सेमा सूचीकृत ३५ बन्दमुखी योजनामध्ये सबैजसोको इकाइको बजार मूल्य साप्ताहिक न्याभ भ्यालुभन्दा निकै कम छ। यो सामग्री तयार पार्दासम्म साप्ताहिक न्याभ भ्यालु १० रुपैयाँमाथि रहेका एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, सानीमा ग्रोथ फण्ड, एनआईबीएल ग्रोथ फण्ड, प्रभु स्मार्ट फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड लगायत योजनाका इकाइको कारोबार हाल ८ रुपैयाँ हाराहारीमा भइरहेको छ। म्युचुअल फण्डले धमाधम प्रतिफल घोषणा गर्न थाल्दा पनि माग नभएकाले मूल्य बढ्न सकेको छैन।