सीआइबीले जिम्मा लिन नमानेका रोहन अडुकिया आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा

बिजमाण्डू
२०८० साउन २७ गते ११:४२ | Aug 12, 2023
सीआइबीले जिम्मा लिन नमानेका रोहन अडुकिया आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा


काठमाडौं। सय किलो सुन तस्करी गरेर ल्याएको घटनामा अनुसन्धानका लागि भन्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयद्वारा नियन्त्रणमा लिइएका रोहन अडुकिया छुटेका छन्। उनलाई शुक्रबार दिउँसो अध्यागमनले नियन्त्रणमा लिएको थियो।

Tata
GBIME

प्रहरीले जिम्मा लिन नमानेपछि अध्यागमनले आफूखुसी रोकेर राख्न नसक्दा छाडेको हो। अडुकियालाई आवश्यक परेको अवस्थामा उपस्थित हुने सर्तमा रिहा गरिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले बताए।

भारतबाट शुक्रबार दिउँसो १ बजे इन्डिगो एयरमार्फत काठमाडौं अवतरण भएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।

प्रमुख सुवेदीका अनुसार सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई मौखिक रुपमा अडुकियालाई कालोसूचीमा राख्‍न भनेको थियो। सोही आधारमा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यद्यपि, सुन काण्डको अनुसन्धान भने हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गरिरहेको छ। सीआइबीले आफ्नो अनुसन्धानमा रोहनसँगको कनेक्सन नदेखिएको भन्दै जिम्मा लिन नमानेपछि उनलाई रिहा गरिएको सुवेदीले जानकारी दिए।

‘मुद्दा लैजान पनि आधार नदेखिएको भन्दै सीआइबीले जिम्मा लिन मानेन। त्यसैले उनलाई विमानस्थलमै ल्यायौँ। राति छोड्न मिलेन, त्यसैले आज बिहान आवश्यक परे उपस्थित हुने सर्तमा छोडेका हौँ,’ सुवेदीले भने।

२० वर्षीय रोहन भारतीय मूलका व्यवसायी राकेश अडुकियाका छोरा हुन्।