
काठमाडौं। एनसेलले देशका विभिन्न ठाउँहरुमा सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ। यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन्।
फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्ने एनसेलले जनाएको छ। यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुंगा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाका र इनरुवा नगरपालिकाका नयाँ स्थानहरु लगायतका ठाउँ रहेका छन्।
गत आर्थिक वर्षमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु जडान गरेको थियो। ती मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको एनसेलले जनाएको छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन्।
‘एनसेलका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो। हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं। उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरु र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं।’
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आर्थिक वर्षमा विभिन्न ६० जिल्लाका झण्डै १ हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको थियो। यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावरहरु रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी गाउँपालिकास्तरमा जडित ४४० बढी टावरहरुको स्तरोन्नती गरिएको छ। यसबाहेक एनसेलले देशका विभिन्न महानगरपालिका र उपमहानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको जनाएको छ।
ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ् टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको चार हजार भन्दा बढी फोरजी टावरहरु संचालनमा छन्। फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउने कम्पनीको धारणा छ।