नेपालमा भित्रियो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’, के के छन् फिचर?

रासस
२०८० साउन २६ गते ०८:०४ | Aug 11, 2023
नेपालमा भित्रियो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’, के के छन् फिचर?

काठमाडौं। मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जीपीएस प्रविधि (लोकोमो) को प्रयोग नेपालमा पनि सुरु भएको छ।

Tata
GBIME
Nepal Life

घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुई पाग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्ने देखिएको छ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो। मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित जीपीएस प्रविधि ‘लोकोमो’ले नेपाली बजारमा प्रवेश पाएको हो।

लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार सार्वजनिक स्थानमा सवारी छाड्न परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गरेमा मोटरसाइकल स्टार्ट हुँदैन र चोरी गर्न सक्दैन।

उनले कथंकदाचित चोरी भएमा मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने र अनि मोबाइलमै लोकेसन पहिचान गरी सवारीसाधन पत्ता लगाउन सकिने बताइन्। रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन, तार काट्न अथवा चोरीको प्रयास गरेमा सेन्सर सक्रिय भई सवारीधनीलाई सूचना पठाउने उपकरण जडित हुनेछ।

कुनै कारणबाट सवारीसाधन चोरी भएको खण्डमा सवारीधनीले प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्ने बताइएको छ।

नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको भनी हेर्ने र प्रहरी परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत बताउँछन्।

सवारीधनीले चोरी भएको सवारीको लोकेसन प्रहरीलाई नदिँदासम्म लोकेसन हेर्न भने नसक्ने लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेतले बताए।

उनले भने, ‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्‍याउनु प्रमुख उद्देश्य हो।’

महिला स्कुटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ। रातिको समय यात्रा गर्नेले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ।

यस प्रविधिले अभिभावकलाई आफ्ना सन्तानले प्रयोग गन्तव्य, रुट र गतिबारे घरमै बसेर जानकारी लिन सहज हुनेछ। अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कुटर, चारपांग्रे सवारीमा जडान गर्न सकिने प्रवर्द्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ।