एएफसी कपमा पारोमाथि मछिन्द्रको पुनरागमन जित, एक सातापछि भारतको मोहन बगानसँग खेल्ने



बिजमाण्डू
२०८० साउन २३ गते १९:४५ | Aug 8, 2023
एएफसी कपमा पारोमाथि मछिन्द्रको पुनरागमन जित, एक सातापछि भारतको मोहन बगानसँग खेल्ने

काठमाडौ। मछिन्द्र क्लबले भुटानी क्लब पारो एफसीलाई हराएको छ। एएफसी कपको प्रारम्भिक चरणको खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मछिन्द्रले भुटानी च्याम्पियन पारोलाई ३-२ गोलले हराएको हो।

Tata
GBIME
Zonsen

मंगलबार दशरथ रंगशालामा भएको खेलमा अग्रता भने पारो एफसीले लिएको थियो। उसका लागि खेलको सातौँ मिनेटमै काजोउ हुम्माको प्रहार गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो। घरेलु मैदानमा सुरुमै दबाबमा आएको मछिन्द्रले १२ औं मिनेटमा बराबरी गोल फर्कायो। विमल घर्तीमगरले एरिक विष्टको सर्ट कर्नरमा आयुष घलानको राम्रो क्रसलाई गोलमा परिणत गरेका हुन्।

खेलको १५ औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो। यसपटक विमलको पासमा आयुषले गोल गरे। त्यसयता पहिलो हाफमा मछिन्द्र नै हाबी रह्यो।

खेलको ३९ औँ मिनेटमा ओलावाले अफिजले गोल गरेपछि मछिन्द्र ३-१ ले अघि रह्यो। उनले ओमालाजा करिमको उत्कृष्ट पासमा गोल गर्दा भुटानी गोलकिपर ग्याल्चेन जाङपोले भेउ पाउनै सकेनन्।

पहिलो हाफमा ३-१ को अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा केही गल्ती गर्‍यो। खेलको ७१ औँ मिनेटमा पारोका इभान्स एसन्टेले नेपाली डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै एकल प्रयासमा गोल गरे। त्यसपछि मछिन्द्र हतास बन्दा पारोले आक्रमण थप शशक्त बनायो।

निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा काजोउको बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए। इन्ज्युरी समयमा राम्रो कम्बिनेसनका बाबजुद विमल गोल गर्न असफल भए।

जितसँगै मछिन्द्रले प्रारम्भिक छनोटको अर्को खेलमा भारतीय ‘जायन्ट’ मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ। खेल एक सातापछि अर्थात अगस्ट १६ मा भारतको कोलकत्तास्थित साल्ट लेक रंगशालामा हुनेछ।