काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन्।
अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनःनिर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिएका हुन्।
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ। देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको छ। अन्य प्रदेशमा समेत सडकहरु अवरुद्ध भएका छन्।
ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो संचालन गर्न सडक विभागलाई निर्देशन दिएका छन्।
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध बनेको छ।
मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङ्तानको निधन भएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले चारवटा राष्ट्रिय राजमार्ग ठप्प रहेका सडक विभागले जनाएको छ।