ईभीमा महिन्द्राले ठूलो फड्को मार्दै, ३ वर्षभित्र ५ नयाँ मोडल बजारमा ल्याउने तयारी

बिजमाण्डू
२०८० साउन २२ गते ११:४३ | Aug 7, 2023
ईभीमा महिन्द्राले ठूलो फड्को मार्दै, ३ वर्षभित्र ५ नयाँ मोडल बजारमा ल्याउने तयारी


काठमाडौं। महिन्द्रा ग्रुपले ३ वर्षभित्र ५ वटा मोडलका विद्युतीय गाडी (ईभी) ल्याउने भएको छ। कम्पनीले ५ वटा मोडलका ईभी सन् २०२६ को अक्टोबरसम्म बजारमा ल्याउने योजनामा काम गरिरहेको जनाएको छ।

Tata
GBIME

कम्पनीले यसका लागि १० हजार करोड भारु लगानी गर्ने बताएको छ। यी सबै मोडलका ईभी महिन्द्राको आईएनजीएलओ स्टेकबोर्ड प्लाटफर्ममा निर्माण गरिंदै छ। पहिलो गाडी सन् २०२४ को डिसेम्बरसम्म सार्वजनिक गरिने कम्पनीले जनाएको छ। यो प्लेटफर्मले ६०-८० किलोवाट आवर(युनिट) सम्मको ब्याट्री क्षमताका साथ ब्लेड र प्रिज्म्याटिक सेल संरचना प्रयोग गर्नेछ।

यो आर्किटेक्चर १७५ किलोवाटसम्मको द्रुत चार्जिङसँग उपयुक्त हुनेछ। ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार गाडी टु ह्वील र फोर ह्वील ड्राइभ मोडेलमा हुने छन्।

एक्सयुभी-ई र बीई गरी २ ब्रान्डमा गाडी बिक्री गरिने कम्पनीले जनाएको छ। सुरुमा एक्सयुभी-ई का दुई मोडल एक्सयुभी ई-८ र एक्सयुभी ई-९ बजारमा आउनेछन्। एक्सयुभी ई-८ सन् २०२४ को डिसेम्बरदेखि बिक्री गर्ने लक्ष्य छ।

बीईका तीन वटा मोडल छन्। बीई-०५, बीई-०७ र बीई-०९ मोडल सार्वजनिक भएका हुन। बीईको पहिलो मोडल २०२५ को अक्टोबरदेखि बिक्रीमा ल्याउने कम्पनीको योजना छ।

बीई-०५ कुप-एसयुभीलाई स्पोर्टस् इलेक्ट्रिक भेइकल (एसईभी) को रूपमा निर्माण गरिनेछ। यसको हेडलाइटमा एंगुलर सी आकारको आक्रामक फ्रन्ट-एन्ड समावेश गरिने र अगाडिको बाँकी डिजाइनमा बोनेटमा प्रख्यात एयर डक्टको साथ धेरै सार्प कट र क्रिज समावेश हुने कम्पनीले जनाएको छ।

बीई-०५ मा ठूला पाङ्ग्रा र स्क्वायर-अफ ह्वील आर्कलाई कालो रंगको प्रयोग गरिने छ। लण्डनमा सार्वजनिक गरिएको शो केस अनुसार यसमा स्लोपिङ रुफमा जस्तै रेखा छ। यस्तै पछाडिको भागमा अपराइट, सी-आकारको टेल-ल्याम्प र ह्याबी स्टाइल भएको बम्पर छ। यसमा गियर लिभर र ठूलो गियर चयनकर्ताका लागि रोटरी नियन्त्रणको सुविधा पनि छ।

महिन्द्राले बीई-०७ एसयुभी २०२६ अक्टोबरमा लन्च गर्नेछ। यो गाडी बीई-०५ भन्दा विल्कुल फरक हुनेछ। पुरानो एसयुभीमा भएको डिजाइनका साथै सी-आकारको हेडलाइट र टेल-लाइट हुनेछन्।

महिन्द्राले यसलाई ४५६५ एमएम लम्बाइ, १९०० एमएम चौडाइ र १६६० एमएम उचाइको बनाउने छ। बीई-०५ मोडलभन्दा थोरै ठूलो यो मोडलमा उही २७७५ एमएमको ह्‍वील-बेस हुनेछ। यो हालको हुन्डाई क्रेटा र महिन्द्रा एक्सयुभी ७०० जस्तै हुनेछ।

बीई-०९ मोडल कहिलेबाट बजारमा आउँछ भन्ने महिन्द्राले खुलाएको छैन। यो चार सिटरको हुने छ।

यी गाडीहरुमा ६०-८० किलोवाट क्षमताको ब्याट्री उपलब्ध हुनेछ। १७५ किलोवाटको फास्ट चार्जिङ सुविधा हुने भएकाले ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिनेछ।

यस्तै १७० देखि २९० किलोवाटसम्मको मोटरको व्यवस्थाका कारण प्रतिघण्टा १०० किलोमिटर दौडाउन मिल्नेछ। एक पटकको फुल चार्जमा ४५० किलोमिटरसम्म लान मिल्ने कम्पनीले जनाएको छ।