सुन प्रकरणले अवरुद्ध संसद् खुलाउने पहलमा सभामुख घिमिरे, शीर्ष नेतासँग छलफल गर्दै

बिजमाण्डू
२०८० साउन २२ गते ०८:१८ | Aug 7, 2023
सुन प्रकरणले अवरुद्ध संसद् खुलाउने पहलमा सभामुख घिमिरे, शीर्ष नेतासँग छलफल गर्दै
फाइल फोटो।


काठमाडौं। सुन प्रकरणका कारण अवरुद्ध संसद् खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्। सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजेका लागि उक्त बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

Tata
GBIME

बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्ने बताइएको छ।

सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आग्रह गरेका छन्।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएका छन्।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई-दुईपटक टेलिफोन संवाद गरेका थिए। सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग समेत विभिन्‍न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्‍नुपर्ने सुझाव नेताहरुले दिएका थिए।