शिवशिखर सहकारी विरूद्ध डडेल्धुरामा उजुरीको चाङ, एक हजार पाँच सय बढीले दर्ता गराए निवेदन

बिजमाण्डू
२०८० साउन २१ गते ०६:४८ | Aug 6, 2023
शिवशिखर सहकारी विरूद्ध डडेल्धुरामा उजुरीको चाङ, एक हजार पाँच सय बढीले दर्ता गराए निवेदन


डडेल्धुरा । शिवशिखर सहकारी विरूद्ध एक हजार ५४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका छन्।

Tata
GBIME

सो सहकारीमा लामो समयदेखि रकम जम्मा गर्दै आएका बचतकर्ताले सहकारीले रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारीमा रकम जम्मा गरेका तर फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न सूचना जारी गरेपछि एक हजार पाँच सय ४३ जनाको निवेदन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

सबै निवेदकको दाबी रकमअनुसार ३१ करोड १६ लाख ७१ हजार ३०० रुपैयाँ रहेको खुल्न आएको छ।

पीडित बचतकर्ताहरूले रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएका हुन् तर सहकारी भने केही समयदेखि बन्द रहेको छ।

प्रहरी नायब उपरीक्षक भट्टले सबै बचतकर्ताले प्रमाणसहित निवेदन दिएको बताउँदै निवेदन दर्ताको काम सकिएसँगै जाहेरी दर्ताको प्रक्रिया अगाडि बढेको जानकारी दिए।

‘पचास-पचास जनाका दरले जिल्ला प्रहरी कार्यालयमा बोलाएर हामी जाहेरी दर्ता गरिरहेका छौं। त्यसपछि अनुसन्धान अगाडि बढ्छ’, भट्टले भने।

सो सहकारीले डडेल्धुरामा मात्रै ४१ करोडभन्दा बढी रकम निक्षेप संकलन गरेको खुल्न आएको छ। सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालयसमेत बन्द गरेको छ। सहकारीमा लगानी वा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम हुने भन्दै स्थानीयवासीबाट निक्षेप संकलन गरिएको थियो। कतिपय बचतकर्ताले अन्यबाट कर्जा लिएर शिवशिखरमा बचत गरेका थिए।