
काठमाडौं। सहकारी ठगी प्रकरणमा तानिएका उपकार ब्रान्ड खाद्यवस्तु उत्पादक कम्पनी तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन्। उनी केही समयदेखि फरार रहँदै आएका थिए। गत शुक्रवारदेखि उनको टेलिभिजन पनि बन्द भएको थियो। शर्माकी पत्नी गीता शर्मा यसअघि नै पक्राउ परिसकेकी छन्।
केदारनाथ शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारी सस्थाका पूर्व अध्यक्ष हुन्। उनीविरुद्ध सहकारी निक्षेपकर्ताबाट १४ अर्ब रुपैयाँ घोटाला भएको ठगीको उजुरी परेको छ। सबै निक्षेपकर्ताले प्रहरीमा उजुरी दिइसकेका छैनन्। त्यसैले रकम अझै माथि पुग्ने देखिन्छ।
भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। जिल्लाका केही शाखाबाट पनि बचतकर्ताको रकम हिनामिना भएको देखिएको हो।
शर्माको सहकारीसहित ४३ वटा विभिन्न कम्पनीमा आबद्धता देखिएको छ। उपकार ब्रान्डमा उनको कम्पनीले खाद्यवस्तु उत्पादन र बिक्री गर्दै आएको छ। अर्थ टेलिभिजनमा पनि उनकै लगानी छ, जहाँ कार्यरत कर्मचारीले ४ महिनादेखि तलब पाउन सकेका छैनन्। त्यस्तै, सहकारीबाट मात्र होइन बैंकबाट पनि उनले उल्लेख्य रुपमा कारोबार गरेको देखिएको छ। सहकारी र बैंकबाट गरेर २२ अर्ब बराबरको रकम लिएको देखिन्छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले शर्मालाई भारतबाट पक्राउ गरेर ल्याएको दाबी गरेको छ। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। गीता शिखर अर्गनाइजेसनको निर्देशक पनि हुन्।
प्रहरीमा जब उजुरी पर्न थाल्यो, उनी फरार भए। ‘उजुरी पर्न थालेपछि भारतमा आएर इन्भेस्टर खोज्दै थिएँ,’ शर्मालाई उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।
ब्यूरोले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो। पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनीहरुसँग १ अर्ब ७१ करोड बिगो मागदाबी गरिएको थियो। त्यस्तै अन्य ७ जना फरार थिए।
केदारनाथ शर्मा भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेर ल्याएको दाबी गरेको छ। उनलाई मुम्बईबाट लखनउ हुँदै काठमाडौं ल्याइएको हो। प्रहरीको प्रारम्भिक बयानमा उनले ८०/९० दिनदेखि भारतमा बसेको बताएका छन्।
सीआईबीको प्रारम्भिक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। त्यसमा ५/६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। ब्यूरोले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ। काठमाडौं र ललितपुरका सेवाग्राहीलाई उजुरी दिन समेत ब्यूरोले सूचना जारी गरिसकेको छ।
उनको सहकारीमा देशभर १ लाख ६८ हजार ७ सय २५ जना बचतकर्ता रहेको देखिएको छ।