
काठमाडौं। पछिल्लो समय प्रहरीमा सहकारी ठगीको उजुरी बढेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआइबी)ले करौडौं रुपैयाँ घोटाला भएका सहकारीको फाइलबारे अनुसन्धान गरिरहेको छ। यसक्रममा प्रहरीले केही सहकारी संचालकलाई पक्राउ गरी कारबाही समेत अघि बढाइसकेको छ। ब्युरोमा मात्र होइन जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि सहकारी ठगीका उजुरी पर्ने गरेका छन्।
गएको आर्थिक वर्षमा सहकारी ठगी सम्बन्धी ५० वटा उजुरी दर्ता भएका थिए। जसमा प्रहरीले एउटा मात्र उजुरीको फर्छौट गरेको छ। बाँकी उजुरीको फर्छौट बाँकी रहेको छ। प्रहरीमा जनशक्ति अभावले पनि मुद्दा फर्छौटको संख्या कम भएको प्रहरीको दाबी छ।
त्यस्तै, फेसबुक तथा अन्य सामाजिक संजालको प्रयोग गरेर गिफ्ट वा डलर पठाइदिने भन्दै ठगिनेहरुको संख्या पनि धेरै देखिएको छ। काठमाडौं प्रहरीमा मात्र एक वर्षमा १ सय २६ जनाले आफू ठगिएको भन्दै उजुरी दिएका छन्। फेसबुक मार्फत साथी भएर गिफ्ट पठाएको भन्दै भारतमा सामान अड्किएकाले केही कर तिर्नुपर्ने भनेर झुकाएर रकम ठगी गर्ने गरेको पाइएको छ।
‘चिन्दै नचिनेको मानिसले लाखौंको गिफ्ट पठाएको छु भन्दा पत्याएर रकम दिने गरेको देखियो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।
यसप्रकारको घटनामा एक वर्षमा विभिन्न व्यक्तिले यसरी अरुको खातामा ३ करोड ४६ लाख ५० हजार ४१० रुपैयाँ जम्मा गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।