दीपक-आयशा मन्त्र : बाँच्न व्यवसाय, रमाउन खेल, स्वर्णधारी खेलाडीको व्यावसायिक यात्रा कथा

मुकुन्द घिमिरे
२०८० साउन २० गते १४:२७ | Aug 5, 2023
दीपक-आयशा मन्त्र : बाँच्न व्यवसाय, रमाउन खेल, स्वर्णधारी खेलाडीको व्यावसायिक यात्रा कथा


काठमाडौं। नेपाली खेलकुद क्षेत्रमा प्रभावशाली जोडीको सन्दर्भ आउँदा सबैभन्दा अगाडि नाम आउँछ दीपक विष्ट र आयशा शाक्य। औसत नेपाली खेलाडीको ठूलो सपना के हुन्छ? दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने। यसखाले सपना पूरा कतिको हुन्छ? ज्यादै थोरैको। तर, यो जोडी अपवाद हो स्वर्णको सन्दर्भमा।

Tata
GBIME
NLIC

आयशाले पछिल्लो पटक नेपालमै सम्पन्न १९ औँ दक्षिण एसियाली खेलुकदको स्वर्ण पदक जितेकी थिइन्। सागमा उनको पहिलो स्वर्ण भने होइन त्यो। त्यस्तै, सागमा ४ स्वर्ण जितिसकेका दीपक एसियाली खेलकुद र ओलम्पिकमा पनि नेपालको तर्फबाट अब्बल चुनौती प्रस्तुत गर्ने थोरै खेलाडी मध्येका एक हुन्। एसियन गेम्समा कास्य पदक जितेका उनी ओलम्पिकमा छनोट चरण पार गरेरै सहभागिता जनाउने दुई मध्ये एक हुन्। आयशाले पनि एसियाली खेलकुदमा कास्य जितिसकेकी छन्।

प्रतिस्पर्धामा भाग लिनु र देशका लागि पदक दिलाउनुबाहेक पनि ‘केही’ छन् उनीहरुको खातामा। दीपक खेलाडीबाहेक तेक्वान्दोको संघको पदाधिकारीदेखि प्रशिक्षकसम्म रहे। अहिले ओलम्पियन संघ नेतृत्वमा छन् उनी। संघ ओलम्पिकमा प्रतिस्पर्धा गरेका खेलाडीहरुको संगठन हो जसको अध्यक्ष हुन् दीपक।

यसबाहेक विष्ट दम्पतीको आफ्नै व्यवसाय पनि छ।

‘मैले बिजनेस गर्छु भनेर सुरुमा सोचेको थिइन। अहिले मानिसले मलाई “बिजनेस गर्छ, बिजनेसम्यान भयौ कि क्या हो?” भनेर प्रश्न गर्छन्,’ विष्टले भने, ‘म खेलाडी नै हो। खेलकुद क्षेत्रको मान्छे नै हो। तर, जीविकोपार्जन गर्न केही न केही काम गर्नुपर्छ।’

हस्पिटालिटीबाट सुरु गरेको व्यवसाय

खेलाडी जीवनको उत्तरार्धतिर आएर विष्टले व्यवसाय पनि सुरु गर्ने निर्णय गरे। सुरुमा उनले रेस्टुरेन्टमा हात हाले। रेस्टरेन्टमा उनको मन टिकेन। मन नटिके झै व्यवसाय पनि जमेन।

‘खेलाडी मान्छे। रेस्टुरेन्टमा रातिसम्म बस्नुपर्ने। भोलिपल्ट ट्रेनिङमा त्यसले डिस्टर्ब हुने। म पछि हटेँ,’ व्यवसायिक इनिङ्सको सुरुवाती चरणबारे उनले सुनाए।

उनको दोस्रो भेन्चर रह्यो स्पोर्टस युनिभर्स। खेलकुदसँग सम्बन्धित सामग्रीको कारोबार यसको लक्ष्य। चार जना मिलेर सुरु गरेको व्यवसायले एक दशकको यात्रा तय गरिसकेको छ। यसबाहेक उनको व्यवसायिक खातामा छ – केल्मी आउटलेट। केल्मी ब्रान्डको गार्मेन्टसको आउटेल भने कुमारीपाटीमा छ।

‘हामी चार जना भएर स्पोर्टस युनिभर्स इन्भेस्टमेन्ट गरेका हौँ। यहाँ सुरुमा हामीले ३०/३० लाख रुपैयाँ लगानी गरेका थियौँ,’ विष्टले भने, ‘उता (केल्मीमा) पनि त्यही हिसाबको लगानी छ। हामीले बैंकबाट ऋण निकालेर लगानी गरेका थियौं।’

खेल जीवनमा एकपछि अर्को पदकले दीपकको कोठा साँघुरो बनाइरहँदा कसरी व्यवसायिक क्षेत्रमा हात हाल्न पुगे त उनी?

पदकको संख्या र ‘वाहवाही’ जतिसुकै भए पनि खेलकुदको जागिरले परिवार धान्न नसकिने निष्कर्षमा पुगे दीपक। त्यसैले उनलाई नयाँ बाटोतिर लाग्न प्रेरित गर्‍यो।  

‘मैले पार्ट टाइमका आधारमा व्यवसाय सुरु गरेँ। त्यसका लागि धेरै कुराको व्यवस्थापन गर्नुपर्‍यो,’ विष्टले भने, ‘सबै मिलाएर अघि बढिरहेको छु। मेहनत धेरै छ। ठूलो ‘टर्न ओभर’ र ठूलो बिजनेस त होइन। तर, राम्ररी सर्भाइभ गर्नलाई लगानी भएको छ भनौं।’   

बानेश्वरमा स्पोर्टस् युनिभर्स, केल्मीमा आयशा

बानेश्वरबाट शंखमुलतिर करिब ५० मिटरकै दुरीमा स्पोर्टस युनिभर्स छ। यहाँ विभिन्न खेलका सामाग्री छन्। तेक्वान्दो, कराँते, फुटबल, भलिबल लगायतका सामाग्री बाटैबाट देखिन्छ। यहाँ खासै नदेखिने चाहिँ दीपक हुन्। उनी आफू बस्न भ्याउँदैनन्। साथीहरुको साथ छ उनलाई। तर, दीपकको ‘वाइडर पीआर’ युनिभर्सका लागि बलियो आधार बन्दै आएको छ।

केल्मी चाहिँ जावलाखेलबाट कुमारीपाटीतर्फ मुल बाटोमै पर्छ। आयशाले यहाँ नेतृत्व लिन्छिन्। स्टाफहरु पनि छन् उनलाई साथ दिन।

‘यहाँको आउटलेट चाहिँ आयशाको नाममा छ। उसले डबल गोल्ड ल्याएर कमाएको पैसाबाट आएको २५ लाख र त्यसबाहेकको अरु पैसालाई सदुपयोग गरेका हौँ,’ दीपकले सुनाए, ‘पसल हेर्ने नै आयशाले हो। राम्रो चलिरहेको छ।’

हामी उनीहरुको स्टोर पुग्दा आयशा चाहिँ थिइनन्। उनी बाहिर रहिछिन्। उनले सागमा गोल्ड मेडल जित्दा एउटा तस्वीर भाइरल बनेको थियो। गोल्ड जितेसँगै उनी र दीपकले अंकमाल गर्दा सानो छोरा उनीहरुसँग देखिएका थिए। परिवार र खेलसँगै व्यवसायमा सक्रिय आयशा स्पोर्ट्स साइन्समा मास्टर्स पनि गर्दैछिन्।

बाँच्न व्यवसाय, रमाउन खेल

विष्णु पौडेल अर्थमन्त्री हुँदा सरकारले खेलाडीलाई सहुलियत दरमा कर्जा दिने कार्यक्रम ल्यायो। खेलाडीका लागि खेल जति महत्त्वको विषय हो, कर्जाको विषय ‘सर्टिफिकेट धितो राखेर ऋण लिने’ भनेजस्तै बन्न पुग्यो। खेलाडीले यसअबाट अलिकति पनि लाभ लिन नसकेको बताउँछन् दीपक।

‘यसरी ऋण दिएकै छैन। हाम्रो चाहना देओस् भन्ने नै हो। अहिले खेलाडी विदेशिने क्रम बढेको छ। लगानी मिल्ने हो भने नेपालमै केही गर्न खेलाडीका लागि अवसर मिल्छ,’ उनले भने, ‘मलाई लाग्छ यसले धेरै खेलाडीको बाहिर जाने प्रवृत्तिलाई रोक्छ।’

भर्खरै अमेरिकाबाट फर्किएर आएका हुन् दीपक। उनले विदेश गएकाहरुको दु:ख पनि उत्तिकै देखेको सुनाए। उनको निष्कर्ष हो – विदेशमा जति मेहेनत गर्ने हो भने यहीँ पनि गर्न सकिने धेरै कुरा छन्।

‘मान्छेलाई व्यवसाय जति भए पनि पुग्दैन। म करोडपति, अरबपति बन्ने सपना चाहिँ देख्दिन। म जे छ त्यसमै रमाउन चाहन्छु। व्यवसाय थप्ने हो भने धेरै ठाउँहरु छन्,’ विष्टले व्यावसायिक महत्त्वाकांक्षामाथि प्रश्न उठाउँदै सुनाए, ‘तर, म्यानेज गर्न सकिँदैन, समय दिन सकिँदैन भने भोलिपल्ट पुर्पुरोमा हात राखेर पछुताउन चाहन्न। हदै भयो भने अब अर्को एउटा आउटलेट खोल्ने हो। नत्र पुग्यो। यसैलाई राम्रोसँग चलाएर लैजाने।’

दीपक खेलाडीहरुलाई स्मार्ट बन्न सुझाउँछन्। खेलमा लामो समय बिताएर बाहिरिँदा खाली हात भएका धेरै खेलाडी उनले देखेका छन्।

‘बिसौं वर्षसम्म खेलमा मात्र ध्यान दिएर लागेको हुन्छन्। त्यसपछि बाहिर हेर्दा केही देखिँदैन। झ्याप्प अँध्यारोमात्र,’ उनले सुझावसहित सुनाए, ‘खेल्दाखेल्दै राम्रा साथीभाइ बनाउन सक्यो भने पछि केही गर्न सहज हुन्छ। खेल्ने तर अरु केही नसोच्ने भन्दा पनि अलि स्मार्ट खेलाडी चाहिँ बन्नुपर्छ।’

संसारका ठूलठूला खेलाडी पनि व्यवसायमा छन्। तिनैबाट सिक्न पनि सुझाउँछन् उनी।

‘म जागिर खाएर कोच भएर बसिरहेको थिएँ। माया पाइरहेको थिएँ। त्यतिबेला मैले बिजनेसका केही साथी भेटेँ। राजु अवस्थी, आत्माराम दाइ लगायत,’ उनले खेल जीवनको इनिङ्स सम्झिए, ‘उहाँहरुसँग व्यवसाय गर्ने सल्लाह भयो। “तपाईँको नाम छ। केही गरौँ” भन्नु भयो। मलाई पनि आँट आयो।’

खेलसँगै व्यवसायप्रति उनको लगाव र दृष्टिकोण देखेपछि मलाई प्रश्न गर्न मन लाग्यो – खेलकुद कि व्यवसाय?

उनको जवाफ थियो – खेलकुद।

‘खेलकुदले गरेर म यो व्यवसायमा आएको हो। मेरो पहिलो प्राथमिकता नै खेलकुद हो,’ उनले मुस्काउँदै भने।