
काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।