
काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र पिक आवरमा कर्मचारीका लागि द्रुत बस सेवा सञ्चालनमा ल्याउने भएको छ। बस सञ्चाचालनका लागि प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेको संयोजकत्वमा काम सुरु भइसकेको छ।
साउन १५ गते काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८० को विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित छलफल भएको थियो।
सोमबारको छलफलमा सम्बन्धित क्षेत्रलाई कार्य विभाजन समेत गरिएको छ। सडक विभागलाई सडकसम्बन्धी काम, यातायात व्यवस्था विभागलाई सवारी साधनको व्यवस्था र ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी कार्य विभाजन गरिएको छ। भदौभित्रै बस सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।
तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक सहसचिव नारायण भट्टराईले सोमबार कार्य योजनाबारे प्रस्तुतीकरण गरेका थिए। सामान्यतया: अफिस आवरमा सूर्यविनायकबाट रत्नपार्क आउन डेढ घण्टा लाग्ने र बस सेवा सञ्चालन भएपछि घटेर ४५ मिनेटमा आउने अनुमान गरिएको छ।
अध्ययन प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाभित्र हुने सवारी जाम र कर्मचारीलाई कार्यालय पुग्न असहज भएको कुरालाई ध्यानमा राखेर बस सञ्चालनमा ल्याउने तयारी भएको छ। दैनिक दुई समयलाई टार्गेट गरेर बस सञ्चालन गर्न लगाएको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्मको लागि बसले सेवा दिने छ।
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म बस सञ्चालन गरिने तयारी भइरहेको समितिका एक सदस्यले जानकारी दिए। यसरी सञ्चालन गरिएको बसले पिक एन्ड ड्रप मात्र गर्ने छन्। ट्राफिक नियम अनुसार तोकिएका बिसौनीमा मात्र यात्रु ओराल्ने र चढाउने मात्र गरिनेछ।
सेवाको लागि दैनिक २०/२५ वटा बस चलाउने तयारी भइरहेको छ। सूर्यविनायकबाट ९ बजे १० वटा र रत्नपार्कबाट सूर्यविनायकसम्म १० वटा बस छुट्ने छन्। जसको लागि ४० भन्दा बढी सिट भएका सवारी साधनले मात्र सेवा दिने छन्।
यसरी सञ्चालन हुने बस भने यातायात व्यवसायीसँगको सम्झौतामा ल्याइने छ। सोही अनुसार चालकलाई समेत तालिम दिइने समितिका एक सदस्यले जानकारी दिए। सार्वजनिक सेवा दिने र लिने दुवैलाई लक्षित गरेर सेवा प्रदान गर्ने छ। कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेर भएको छ।